नेपाल पत्रकार महासंघका नाममा खुलापत्र नेपाल पत्रकार महासंघले यस पाला प्रेस स्वतन्त्रता सेनानी जस्तो अब्बल राष्ट्रिय उपाधि प्रदान गरेर मलाई अनुगृहित मात्र होइन, ऋणि पनि तुल्याएको छ । ऋण पाउँदाको क्षण निश्चय पनि सुखद त हुन्छ, तर तिर्ने बखत उति नै कष्टप्रद पनि हुने गर्छ । मलाई यतिबेला यही समस्याले गाँजेको छ । खैर केही छैन, साँवा नसके पनि ब्याज चुक्त्याउँदै जानु पर्ला । कम्जोर ऋणिले अज्माउनु पर्ने जुक्ति पनि यही नै हो । चार दशक लामो मेरो जिकज्याक पत्रकारिता यात्रामा कसैसँग अनुग्रहको याचना गरिन । आफ्नो श्रमबाट जे उपार्जन भयो, त्यसैबाट काछेपन् गर्दै आएँ । कसैसँग पद मागिन, प्रतिष्ठाको जिरह गरिन र धनार्जनको तेस्रो बाटो पहिल्याने प्रयत्न पनि गरिन । प्रोफेसर यदुनाथ खनालले मलाई टिठ्याएर मलाई एकचोटी भन्नुभएको थियो,–कर्मठ व्यक्तिले कहिल्यै पनि प्राप्तीको लालच राख्नु हुँदैन है । गुरुको यो उपदेश त्यति बैले मेरो मुटुमा बिझेको थियो र अहिले पनि चस्किरहने गर्छ ।कर्मण्यवाधिकारस्ते मा फंलेषुः कदाचनः । श्रीमदभागवत गीताको यो महामन्त्रद्वारा अभिप्रेरित र अनुप्रेरित मेरो मन र तन दुवैले यो सम्मानको पनि आशा गरेको किमार्थ होइन । तर पाएँ । मैले आशै नगरेको पगरी पाएँछु । तर यो पगरीलाई मेरो माथामा सदा शोभित गराइरहन सक्छु, या सक्दिन, मेरो छिप्पिँदो उमेर खस्कँदै गएको स्वास्थ्य स्थितिले थोरै सन्देह उत्पन्न गर्दैछ । तर म चिताइरहन्छु, तँ पु¥याउँछस्, या पु¥याउँदैनस्, आगे तेरो मर्जी । हो, तेरो निगाहप्रति भने म आशावादी छु । म पूर्णरुपेण आस्तिक होइन । तर यो मानेमा नाष्तिक पनि होइन । हाललाई मेरो जिजीविषा यसैमा अल्झेको छ । नेपाल पत्रकार महासंघको स्थापन कालका ती दिनहरु सम्झन्छु– गोल्छा अर्गनाइजेसन, दुग्गड ब्रदर्श, कोडिया ग्रुप लगायतका केही घरानीया व्यापारीको सहयोग र दरवारको कुनै शक्तिकेन्द्रको स्पेसमा मञ्जुरत्न शाक्यले नेपाल पत्रकार संघ नामको संस्था चलाउँदै आएका थिए । नेपालमा पत्रकारहरुको संगठन् छ भनेर देखाउन त्यतिले काफी हुन्थ्यो । त्यसमा उसका मतियार बाहेक अरुले छिर्न सक्ने गुञ्जायस नै थिएन । पूरै भेरिफाई गरेर मात्र सदस्यता प्रदान गरिन्थ्यो । यसबाट आजीत भएका राजधानीका संगठीत हुन चाहने क्रियाशीत पत्रकारले स्व. गोविन्द वियोगीलाई नेगियर बनाएर सडकमा आन्दोलनको बिगुल फुके । उ टसको मस नभए पछि गोविन्द दाईकै संयोजकत्वमा समानान्तर संगठनको स्थापना भयो, नेपाल पत्रकार संघ(वियोगी) । संघको पहिलो महाधिवेशनले पुरानै समितिलाई निरन्तरता दिँदै आफ्नै विधान पनि पारित ग¥यो । विधान मस्यौदा समितिमा वरिष्ठ अधिवक्ता विश्वकान्त मैनाली, प्रोफेसर एवं पत्रकार गोपाल शिवाकोटी हुनुहुन्थ्यो भने त्यस समिति भित्र म बबुरो लेखनदास पनि परेको थिएँ । हामी तीन जनाले खिपेर तयार पारेको विधानको मस्यौदा अक्षरशः पारित पनि भयो । हो त्यही विधानको परिमार्जित सँस्करण हो हालको महासंघको विधान । संघ सबै खाले क्रियाशील पत्रकारलाई समेट्तै महासंघमा रुपान्तरित भयो र सोही अनुसार विधान संशोधित र परिमार्जित हुँदै यहाँसम्म आइपुगेको हो । सामान्यतया हुनै पनि संगठनको विधान मस्योदाकारलाई संगठनको प्रवर्तकको कोटीमा उभ्याउने प्रचलित मान्यता छ । यो कडी थाहा पाएर हो वा अरु नै सन्दर्भहरुलाई संगेलेर हो, राजधानी बाहिर मोफसलको बिकट जिल्ला खोटाङमा रहेर आफ्नो कर्तब्यपथमा धीमा गतिले हिडिरहेको म जस्तो पथिकलाई जुन सम्मान दिइयो, यसले केही पाउन राजधानी नै कुर्नु पर्छ भन्ने मान्यतालाई थोरै भए पनि चिरेको छ । हुनत खाटाङ आएपछि महासंघको शाखा स्थापनाको सिलसिलामा खेपेको भुक्तमान पनि कम पेचिलो छैन । तर ती सबै माथापचिसीको बेलीबिस्तार यहाँ लाइरहनु परोइन । किनभने यो आलै छ । यो परिदृष्यका चस्मदिद गवाहहरु अहिले प्रचुर छन् । तिनले नै कैरन ल्याउन सक्छन् । कहिलेकाहीँ त लाग्छ, संगठनको स्थापना गर्नु भनेको लिङ्गे पीङ हाल्नु जस्तै रहेछ । कल्पान गर्नोस्, – चारवटा छवटा छिप्पट बाँसलाई गाडेर ती सबैको फुर्कालाई एक ठाउँ जोल्ठ्याएर बाँध्ने अनि छाँद्ने काम कति कठिन हुन्छ ? जब लठारो झुन्ड्याइन्छ, बनाउनेहरु ओर्लीनसक्तै खेलाडीहरु जम्जमाई सकेका हुन्छन् । हुइ……….सरररररर । पालो बाँडिइसकेको हुन्छ । आफू मच्चिसकेपछि बलियाले भाइलाई खोलाइदिन्छ, सालीको पालो लाउँछ । त्यस पछि फूपुको छोरालाई चढाइदेला । मामाको छोरा आइपुग्ला । उसको धीत नमरुञ्जेल ऊ त घ्याँक पसार्छ नै । लु भैगो, खेल्नै हालेको पिङ खेलुन् । ज्यामन्तै होस् । अब मच्चाउँदा कदाचित लड्यो भने फेरि पनि बनाउनेको थाप्लोमा अपजस आइलाग्छ । बाउ आमा च्याँठिएलान् – फलानाले पीङ हालेर मेरो छोरो लडाइदियो । सके उपचारै गराइदिनु पर्ला । मोज जागीर खाएर पैसा कमाउने छोरो संगठन् खोलेर अल्मल्याइदियो भनेको पनि त यस्तै यस्तै हो नि । जे होस्, पीङ हाल्नेको इच्छा चाहिँ नलडीकन खेलिदिए हुन्थ्यो भन्ने नै हुने रहेछ । म सम्झन्छु – पत्रकारहरुको न्युनतम पारिश्रमिक निर्धारण आयोगको प्रमुख पोषण केसी र महासंघका पूर्व केन्द्रिय अध्यक्ष धर्मेन्द्र झाले खोटाङ आएका बखत एकसाथ भन्नुभएको थिया– दाई, तपाईँ नेपथ्य पत्रकार । अगाडि नै बस्नु भएका हाल नवनिर्वाचित महासंघका केन्द्रिय उपाध्यक्ष विपुल पोखरेलले अथ्र्याइमाग्दा धर्मेन्द्रजीले मेरो बारेमा जसरी सुध्याउनुभो, त्यतिबेलै मलाई लागेको थियो कि यी साथीभाइले माथि गएर केही न केही उपद्रो अवश्य गर्छन् । मेरो अड्कल पनि हो । उहाँहरुलाई धन्यवाद । त्यति नै धन्यवाद महासंघका निवर्तमान् । अध्यक्ष डा. महेन्द्र विष्ट, महासचिव उजीर मगर, लेखा समिति अध्यक्ष दीपक पाण्डे लगायत सम्पूर्ण पदाधिकारीलाई । र धन्यवाद, मेरा सम्बन्धमा बेला बेलामा उकेरा लाइरहन नचुक्ने महासंघका पूर्व अध्यक्ष डा. सुरेश आचार्यलाई । अँ धन्यवाद मात्र दिएर नपुग्दो हो, इन्द्र आचार्य, सइन्द्र राई र प्रकाश परियार, जसले महासंघमा मेरो नालीबेली दुरुस्त तुल्याउन अहंभूमिका निर्वाह गरे, म विकल्प सोच्दै छु । हाललाई धन्यवाद । प्रशंसा मात्रै होइन, मेरो गुनासो पनि छ महासंघप्रति । जन्मदाता र कर्मदाताको उचित सम्मान नगर्नेलाई सहजै मोक्ष प्राप्ति हुँदैन भन्ने हाम्रो पुरातन मान्यतालाई दृष्टिगत गर्दै महासंघका जन्मदाता स्व. गोविन्द वियोगीलाई मरणोपरान्त सम्मान गरिनु पर्छ भन्ने मेरो जिरह छ । त्यसैगरी आफू कानून व्यवसायी भएर पनि हाम्रो संगठनलाई वलशाली र प्रभावकारी तुल्याउन भुमिका निर्वाह गर्ने वरिष्ठ अधिवक्ता विश्वकान्त मैनाली र गोपाल शिवाकोटी पनि सम्मानित हुनु पर्छ जस्तो मलाई लाग्छ । त्यो पछि मात्र मेरो पालो आएको भए अझ सुल्टो हुन्थ्यो होला । स्वास्थ्यको कारणले आइन मौका अर्थात निर्धारित दीक्षान्त समारोहमा आइपुग्न नसकेकोमा मलाई कुनै बिस्मात छैन, बरु माथि उल्लेखित तीन व्यक्तित्वहरुलाई पनि यथोचित सम्मान गर्ने मेरो मिलाइदिए हुन्थ्यो भन्ने महासंघको नेतृत्वसमक्ष मेरो नम्र निवेदन हो । सम्मान थाप्न म हतारिएको छैन ।
कासा बिएन्का कृष्ण आचार्य

