प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को मतदान कार्य सम्पन्न भएको छ । फागुन २१ गते बिहान ७:०० बजेदेखि साँझ ५:०० बजेसम्म शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको निर्वाचन आयोगले वताएको छ ।
विशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचन तोकिएकै मितिमा उत्साहजनक रुपमा सम्पन्न गराउने कार्य आफैमा चुनौतीपूर्ण भएपनि यस कार्यमा सहयोग, सहकार्य र समन्वयका लागि नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय, मुख्य निर्वाचन अधिकृत, निर्वाचनमा संलग्न कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दल, उम्मेद्वार, पर्यवेक्षक संस्थाहरु, सञ्चार माध्यम तथा सम्पूर्ण सरोकारवालाहरुमा निर्वाचन आयोगले धन्यवाद ज्ञापन गरेको छ ।
निर्वाचन आयोगले देशभरबाट करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको छ । केहि मतदान केन्द्रहरुमा मतदानको कार्य जारी रहेकोले जम्मा खसेको मतको विवरण आउन बाँकी रहेको बताइएको छ ।
छिटपुट अवरोधका घटना बाहेक निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको वताइएको छ ।



