विहेको प्रस्ताव लिएर केटीको घर पुगेका डोरेस खतिवडा, केटीकै घरमा वेहोस (नाटक)

Share:

ओजोन बाबु उर्फ आलोक शर्मा ।

साँझको ५ बजिसकेको थियो । काठमंडुलाई चारतिरबाट बर्षातले घेरेको साँझ थियो यो। पानी पर्नसाथ काठमंडुका सडक देखिनै छोड्छन, पानीमाथी गाडी गुडाएर हामी विहेको प्रस्ताव शिर्षकमा थापागाउँतिर लाग्यौँ ।  मुलसडक छोडेर भित्र पट्टीबाट बाँसै बाँसले सजाएर बनेको छुट्टै संसारमा विराजमान कुञ्जमा लुसुक्क पस्यौँ र सबभन्दा सिर्हानको महलतर्फ उक्लियौँ ।

सिँढी चढ्नसाथ सानो बाकसजत्रो कोठामा टुसुक्क बसेकी भद्रमहिलाले टिलिक्कै टल्किएका दाँतले कोठै उज्यालो हुनेगरि मुसुक्क हाँसेर ठ्याक्कै विहेको निम्तो पत्रजस्तै चिर्कटो थमाईन । विहेको प्रस्तावको संकेत थियो त्यो । टिनिनिनि………घण्टी लागेपछि लामबद्ध भएर गुफाजस्तो मधुर मात्र उज्यालो भएको ठूलो खुल्ला कोठमा पस्यौँ हामी ।

कोठमा पस्नसाथ मधुरो प्रकासको मुनी हसिँलो मान्छे उभिएर खाने, पिउने, हाँस्ने, रुने, फोटो, भिडियो खिच्ने वा नखिच्ने लगायतका व्यवस्थाको जानकारी दिनासाथ झपक्कै वत्ति निभ्यो ।

नाटकले मान्छे भित्रको घमण्ड, मानवियता र सहअस्तित्वको भावनालाई कसरी खोक्रो बनाइदिएको छ भन्ने कुरालाई सशक्त ढङ्गले देखाएको छ । नाटकमा सामाजिक, आर्थिक, राजनैतीक चेतनाको स्तर, अपन्त्वको लागि गरिने संघर्ष र त्यसका असर भेटिन्छ ।

र नेपथ्यमा “ए कान्छा ठट्टैमा यो वैंस जान लाग्यो” भन्दै नारायण गोपाल र तारा देवी अलाप विलाप गर्न लागे । म त कि गित बोकेर गायक गायिकै आउन लागेका हुन त भन्ने पनि लाग्यो । तर, मधुरो प्रकास त्यसमाथी धिपिक धिपिक मात्र उज्यलो छरेको लालटिन बोकेर धपक्कै बलेकी तोपजंग ठकुरीकी छोरी पो, उदास अनुहार लिएर आईन् । उनले आफुलाई र बा लाई छोडेर गएकी आफ्नी आमाको पत्र पढेर सुनाईन । अलि अलि मेलो सर्दै गएपछि थाहा भयो कि यहाँ आज विहेको कुरो हुनेवाला छ ।

चे शंकरको छायानुदवामा प्रसिद्ध रसियन लेखक आन्तोन चेखभले सन् १८२० मा सिर्जना गरेको A Marriage Proposal लाई संगित सापकोटा र आशिष घिमिरेले नाटकको रुपमा तयार पारेपछि हामीले कुञ्ज थिएटरको बाटो मोडिनलाई बहाना पाएका हौँ ।

आकर्षक र सुहाउँदो मञ्च, त्यसमाथी खारिएका कलकार र नाटकको मर्म अनुसारको अभिनयले नाटक अब्बल बनेको रहेछ ।

नाटक सकिएपछि पनि दर्शक उठ्नै नमानेको दृश्य, अझै भए हुन्थ्यो जस्तो भईरहनु पनि नाटकले दर्शक बाँधेको अनुमान सहजै लगाउन सकिन्थ्यो ।

विवाहको लागि दुलाहाको खोजीमा रहेका बुवा, छोरी र विवाहको प्रस्ताव लिएर गएका युवा बिचको वार्तालाप नाटकमा देखाईएको छ । युवा मनोभाव र त्यसको आवश्यक वा अनावश्यक प्रस्तुतिले ल्याउने उतारचढाव बडो रोमाञ्चक ढङ्गले नाटकमा सरर बग्छन् ।

नाटकले मान्छे भित्रको घमण्ड, मानवियता र सहअस्तित्वको भावनालाई कसरी खोक्रो बनाइदिएको छ भन्ने कुरालाई सशक्त ढङ्गले देखाएको छ । नाटकमा सामाजिक, आर्थिक, राजनैतीक चेतनाको स्तर, अपन्त्वको लागि गरिने संघर्ष र त्यसका असर भेटिन्छ ।

ठ्याक्कै नाटक सुरु हुनसाथ वत्ति जाँदा कलाकार, निर्माता,  निर्देश र व्यवस्थापकको मनोदशा कस्तो हुन्छ होला अनुमान गर्न सकिन्छ तर पनि मञ्चमा भएकी रुक्मिणी देवी ( विजया कार्की ) कति पनि हतास देखिएकि थिइनन् । नाटक हेर्दा हेर्दै वत्ती गएको यो मेरो दोस्रो अनुभव हो । यो भन्दा अगाडी त दर्शक सबैले मोबाइलको वत्ती बालेर व्यवस्थाको सांकेतिक विरोध स्वरुप नाटक नरोकी हेरेको अनुभव पनि छ । वास्तवमा कलाकारहरु आत्तिदैनन् भन्ने मेरो बुझाई छ ।

हाँस्यरसले भरिएको परिस्थितिजन्य नाटकभित्र विजया कार्कीको सुन्दर र वास्तविक लाग्ने अभिनय, तोपजंग ठकुरीको बुवाको भुमिकामा शाहि ठाँट,  सुन्दर धितालको शाहि घरानाको शाहि नोकरवाला अनुभुती र ट्वाक्क हसाउँने खालको अभिनय, नाटकमा डेब्यु गरेका डोरेस खतिवडाको परिपक्व अभिनयले करिब १ घण्टाको नाटक सकिएको पत्तै पाइँदैन ।

विचमा सुहाउने गरि टुप्लुक टुप्लुक आउने पुराना गितले नाटकमा झन स्वाद थपेका छन् ।

एकदमै औपचारिक किसिमका संवाद, एउटै समय र अवस्थको मात्र परिस्थितिले मञ्च डिजाईन र कलाकारहरुको पोसाक लागयतमा  एकोहोरोपना जस्ता कुराहरु नाटकलाई अझै सुन्दर बनाउन सक्ने ठाउँहरु थिए भन्ने अनुभुति नाटक हेरिसकेपछि भयो ।

थिएटरको आर्थिक बाध्यता वा अरु केहि कारण होलान तर एकोहोरो ग्वाँ…………… गरेर बजिरहेको पंखाको आवाजले थिएटर भित्रको सन्नाटा विथोल्न मद्दत गरेको छ ।

विच विचमा बज्ने पुराना सुमधुर गितहरु कलाकार स्वयंले बजाएरै, गाएरै प्रस्तुती गरेका भए सुगन्ध थपिन्थ्यो कि जस्तो भइरह्यो । यस्तो बानी थिएटर कलाकारहरुले नै पारेका हुन नि खासमा ।

थापागाउँमा अवस्थित कुञ्ज थिएटरमा जेष्ठ १० देखि २७ गतेसम्म नाटक चल्ने बताइएको छ ।

के छ त Marriage Proposal भित्र  ?  के डोरेस खतिवडाको विवाह हुन्छ त  ?  यो सब हेर्न त थिएटर जानै पर्छ ।

 

Tags: थिएटर, नाटक
यो पनि पढ्नुहोस्:

Read also: