सम्पादकीय २०७४ असाेज

सम्पादकीय
467 views

Share:

बडादशैं

बडादशैं २०७४ सालको बडा दशैं नेपालीहरुको घर आँगनमा छिरिसकेको छ । खास गरेर कृषक समुदाय र विपन्न वर्गका परिवारमा यस पर्वले मीठो खाने र राम्रो लाउने अवसरको रुपमा विशेष महत्व राख्ने गर्छ । वर्ष भरी हिलो धुलोमा मुछिएर काममा धसिनु पर्ने अनि मनतिन्ते खान पनि नजुर्ने वर्गका लागि सुकिलो मुकिलो चएर मीठो चोखो खाँदै आराम गर्न पाउनु विशेष अवसर नै हो । यद्यपि दैनन्दिन चुलिँदै रहने महंगीको मेहेरोलाई छिचोलेर व्यवस्थापन मिलाउन न्यून आय भएका परिवारका लागि निकै कठिन छ । तथापि दशैंका लागि जोहो गर्नु पर्छ भन्ने मानसिकता पहिला देखि नै तय हुने हुँदा जसरी पनि दशैं फस्र्याउन सहज हुने परिपाटी छ । यो वर्गका मानिस दुईतीन महिना अगाडिदेखि नै आवश्यक सामाग्रीको जञ्चिति र जतन गर्न थाल्छन् । त्यसले गर्दा पहिला पहिला जस्तो दशैंको ऋणले मानिसहरुको घर खेत बन्धकी बस्ने अवस्था आएको देखिदैन । यो सकारात्मक पक्ष हो । दशैंमा परदेश गएकाहरु घर फर्किनेगर्दछन् । पारिवारिक पुनर्मिलन हुन्छ । परिवारका सदस्य बीच सम्बन्ध प्रगाढ तुल्याउने यो चाड सद्भाव–पर्व पनि हो । ठूलाले सानालाई टीका र जमरा लाईदिएर आशीर्वाद दिने अनि सानाले मान्यजनप्रति आदर गर्ने विशेषताको यो पर्वले पारिवारिक एवं सामाजिक मर्यादा उच्च तुल्याउन अब्बल भूमिका निर्वाह गर्छ । मर्यादित समाज नै सभ्यताको मूल कडी हो । यो चाडमा परिवार भित्र मात्र होइन, टोल छिमेकका मान्य गन्ने नातागोता र आफन्तहरुबीच समेत टीका आशीर्वाद आदान प्रदान गर्ने चलन रहेको हुँदा व्यापक रुपमा सद्भावको अभिवृद्धि हुनजान्छ । वषर्् भरि मनमुटाव भएका व्यक्ति बीच पनि टीका लगाईआशीर्वाद दिए पछि द्वेष खलास हुन्छ । पुर्पक्षको आवश्कतै रहँदैन । यस्तो सद्भावपूर्ण चाडलाई उत्ताउलो भड्किलो नबनाई संयमित ढंगले मनाउने हो भने परिवार र समाजमा सदा सद्भाव कायम रहन मद्धत नै पुग्छ । जहाँसम्म फजुल खर्चको कुरा छ, त्यसलाई नियन्त्रण गर्नै पर्छ । वली दिएर मात्रै दशैं मनाउनु पर्छ भन्नेपनि छैन । सादा दशैं पनि हुन्छ । केही समय यता दशैं किन मान्ने भन्ने सवाल पनि उठ्तै आएको छ । यसको एउटै मात्र निदान के हो भने, मान्नेलाई बाधा दिन पाइन्न । नमान्नेले नमान्न पनि पाउनु पर्छ । किन? भनेर कसैले पनि सवाल तेस्र्याउनु वाञ्छनीय हुँदैन । मान्नेले मानोस्, नमान्नेले नमानोस्, ज्यामन्तै होस् । हामी दशैं मान्छौँ अनि हाम्रो समस्त ग्राहक, पाठक, शुभचिन्तक, बिक्रेता, विज्ञापनदाता एवं समस्त देशवासी दाजुभाइ, दिदीबहिनीहरुमा २०७४ सालको बडा दशैंको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना टक््रयाउँछौँ । शुभ विजया ।

यो पनि पढ्नुहोस्:

Read also: