कृष्ण धाराबासीको “बालक हराएको सूचना”

बिबिधवाङ्गमयविचार
780 views

Share:

 

घनश्याम खतिवडा, सूर्यविनायक-८ , भक्तपुर

 

मलाई साहित्यका अन्य विधा भन्दा निरस जस्तो लाग्ने निबन्ध पढ्न त्यति जाँगर चल्दैन थियो । मैले बिद्यार्थी जीवनमा देवकोटा, भैरव अर्यालका चर्चित आत्मपरक निबन्धहरु लगायत अन्य निबन्धकारका निबन्धहरू पनि पाठ्यक्रममा भएकाले बाध्य भएर मात्रै पढें । झापालाई कर्मथलो बनाएर नेपाली साहित्यिक पंक्तिमा आफूलाई दर्ज गर्न सफल हुनुभएका साहित्यकार कृष्ण धराबासीको “बालक हराएको सूचना” भन्ने शीर्षकले यो कृतिको बारेमा थाहै नपाई मलाई पढ्न आकर्षित गर्यो । बाह्रवटा निबन्धहरुको  संग्रहको नाम नै “बालक हराएको सूचना” भन्ने प्रतिनिधि निबन्ध पढेपछि मलाई अरु सबै निबन्धहरु एकै बसाईमा सिध्याउने सुर चल्यो र सिध्याएँ पनि ।  कथा र निबन्ध दुबैको स्वाद पाईने अझ झापाको शनिश्चरे र त्यसको सेरोफेरोलाई केन्द्रबिन्दू बनाएर लेखिएको यो निबन्ध संग्रह पढ्दै जाँदा आफ्नो किसोरावस्थामा पहिलोपल्ट देखेको शनिश्चरे बजार अनि अहिलेसम्म बेला बेलामा पुग्ने गरेको तर अन्य कतिपय सहर जस्तो खासै परिबर्तन हुन बाँकी रहेको शनिश्चरेको सम्झना गरायो । यस निबन्ध संग्रहका कतिपय शीर्षक (पात्र) जस्तै मोहन क्षेत्री र पोकेबूढीलाई हामीले पनि शनिश्चरे लगायत देश भरिकै हाटबजार र सहरहरुमा अहिलेसम्म पनि भेटिरहेकै छौं । त्यस्तै ‘पापी पेटका सवाल’ लगायत अन्य धेरै घतलाग्ने अनि कतिपय हाँस उठ्दा उद्धरण लेखिएका खचाखच भरिएका बसहरुमा कोचिनु पनि हामी सामान्य मानिसहरुका दैनिकी बन्दै आएका कुराहुन् । सजिलै पाठकहरुको चित्त आकर्षण गर्ने खालका अधिकांश निबन्धहरू निबन्धकारले चालीसको दशक मै लेखेको देखिन्छ ।  तीस बर्षे उमेरमै कृष्ण धराबासीको साहित्यिक कलम कत्तिको परिपक्क भैसकेको रहेछ भन्ने कुरा उनका निबन्धहरु पढ्दै जाँदा सहजै अनुभव गर्न सकिन्छ । अब प्रस्तुत निबन्ध र तिनीहरुबारे एउटा पाठकको नाताले मेरो बुझाई सार संक्षेपमा निम्नानुसार प्रस्तुत गर्दछु ।

प्रकृतिमा दृश्यहरु यत्रतत्र छरिएर रहेकाछन । हामी प्रकृतिमा भएका नौला नौला मानवीय तथा प्राकृतिक गतिबिधि पनि दिनै आखाँ तेर्स्याएको तिर जे जे छ त्यो हेर्न सक्छौं ।  तर हामीले देखेका सबै कुराहरुले भने हाम्रो ध्यान खिच्दैनन् । देखेका सबै कुरा संम्झनामा पनि रहँदैन ।  तर कतिपय बस्तु बा घटनाहरुले भने हाम्रो हृदयमा गहिरो छाप पार्छन् र ती लामो समयसम्म हाम्रो स्मृतिमा बस्छन् । त्यस्तै पहिलो निबन्ध ‘दृश्य’ मा निबन्धकारले घरदेखि अलिपर सुकेको अग्लो रुखमा बसेको बूढो गिद्धलाई नियाल्छन् ।  अनि त्यो रुख र गिद्धको अतीत तिर फर्किएर उनले अझ रुखको फेदमै गएर गहिरिएर दृश्य हेर्छन् । एउटा अग्लो रुख जसले सबैलाई सितलता दिएर अनि हज्जारौं चराचुरुंगीहरुलाई बासस्थान दिई बर्षौंसम्म आफ्नो अग्लो पहिचान बनाएर ठिङ्ग उभिएको थियो । हजार बर्षसम्म बाँच्ने सालको रुख जो सय बर्ष पनि पुग्न नपाई मानिसका स्वार्थले त्यो सुक्न बाध्य बनाईएको थियो । त्यो रुख सुके पछि चराहरुले आफ्नो बासस्थान अन्यत्रै सारे । त्यसका फेदमा खेलेर नघाउने केटाकेटी त्यहाँ जान छोडे । सुकेको रुखको फेदमा फालिएको सिनो खान एकदिन गाउँका भूस्याहा कुकुरहरु जम्मा भए ।  थुप्रै गिद्धहरु पनि सुकेको रुखमा आए र फालिएको सिनो लुछाचुंडी गरेर खाए ।  सिनो सकिएपछि सबै आफना बाटा लागे तर एउटा बूढो गिद्ध भने धपाउने अनेक कोसिस गर्दा पनि रुखको हांगामा धेरै दिनसम्म हलचल नगरी बसिरह्यो । मानिसहरुले त्यसलाई अशुभको संकेत माने । धेरैदिन पछि अर्को एउटा सिनो रुखको फेदमा फालियो तर पनि बूढो गिद्ध तल ओर्लिएन । अर्को दिन बिहानै निबन्धकारले घरबाट उक्त रुखको टुप्पो तिर हेरे तर त्यहाँ गिद्ध थिएन । कौतुहल बोकेर बिहानै रुख तिर दौडिए ।  रुखको फेद भन्दा अलि परबाट सिनोको दुर्गन्ध आउदै थियो । त्यतै पुगेर नाक छोपेर हेर्दा सिनो भएकै ठाउँमा बूढो गिद्ध पनि मृत अवस्थामा थियो । अर्को दिन मानिसहरुले सिनोलाई गादिदिए र त्यो सुकेको रुख पनि ढाले । घटना यत्ति नै हो तर निबन्धकारलाई यस दृश्यले ज्यादै मर्माहत बनायो ।  बूढो गिद्धलाई आफ्ना सन्तान र साथीसंगीले एक्लै छाडेर हिंडेजस्तो अनि छाहारी दिने रुखलाई सबैले छाडे जस्तो के सबैका सन्तानले एकदिन बूढाबुढी भएका बाबुआमालाई त्यसरी नै छोडेर हिड्दैनन् र ! भन्ने बुद्धत्वले उनलाई नराम्ररी चिमोट्यो । सबैले हेरेका एकै दृष्यहरु भित्र पनि दृष्यलाई हेर्ने गरिराई र त्यसलाई अन्य परिस्थितिसंग सामान्यीकरण गरेर हेर्ने हैसियत ज्यादै कम मानिसले मात्र राखिन्छ । सायद “जहाँ नपहुंचे रवि, वहाँ पहुँचे कवि” भन्ने हिन्दीको यो उक्ति श्रष्टासंग भएको त्यहि अद्भूत क्षमतालाई बुझेर नै बनाईको होला । अहिले हाम्रो देशमा पनि अधिकांश युवाहरु कामको खोजीमा शहर र विदेश जाने अनि गाउँमा अशक्त र रोगी बूढाबूढीहरुमात्र रहने अवस्था देखिएको छ ।  आधुनिकताका नाममा बिकशित मुलुकहरुबाट प्रबेश गरेको एकल परिबार (Nuclear Family) ले संयुक्त परिवार (Joint Family) लाई तीब्रतर विस्थापन गरिरहेको छ । मानव समाजमा हुँदै आएको प्रत्येक ब्यक्ति बूढो हुनुपर्ने, बुढेसकालमा आफ्नै जीवनसंगी र सन्तानहरुबाट समेत बिछोडिनु पर्ने । कहाली लाग्दो एक्लोपन अनि बृद्धबृद्धाहरुले शारीरिक एवं मानसिक असक्तताका बीच मृत्युसंगको पौंठेजरी अनि बूढो गिद्ध जस्तै एकदिन एक्लै यस संसारबाट गुमनाम मृत्यु हुनु पर्ने कटुसत्यको संदेश यस निबन्ध मार्फत दिएकाछन् । यस समस्याको दीर्घकालीन समाधानका लागि बैकल्पिक उपायहरु लगायत बिदेशी बिकसित मुलुकहरुले जेष्ठ नागरिकहरुका लागि लागु गरेका असल अभ्यासहरु (Best Practices) हाम्रो देशको सरकारले पनि जिम्वेवार ढंगले आफ्नो श्रोत साधनले भ्याएसम्म अति आवश्यक भएका लक्षित बर्गलाई सेवा अनुभूत हुनेगरी अनुशरण गर्नु पर्ने आजको प्रमुख आवश्यकता भएकोछ ।

दोश्रो निबन्ध ‘माटोको मायाँ’ मा बनस्पति, किट, पतंग, चराचुरुंगी, जनावर लगायत सम्पूर्ण मानव जातीको यो साझा घर ‘धर्ती’ जसले संसारका सबै प्राणीहरुलाई सदियौंदेखि जीवन दिने, आश्रय दिने र पाल्ने कार्य गर्दै आएकोछ, त्यहि माटोको महिमा प्रस्तुत गरिएको छ । संसारमा मानव जातिले हालसम्म गरेका उन्नति, प्रगति, आभिष्कार आदि सबै स्वर्ग जस्तो यही माटोमा (धर्तीमा) भएकाछन् । प्रकृतिले हामीलाई साझा रुपमा दिएको यस्तो अमूल्य निधिलाई मानिसले आफ्नो स्वार्थका लागि भाग लगाएर यो तेरो यो मेरो, भनेर बिबाद सिर्जना सुरु गर्यो । हर तरहले आफ्नो भागमा धेरै पार्ने र अतिसंचय गर्ने परिपाटी सुरु गर्यो । मानिसले व्यक्तिगत रुपमा पनि आफूले उपभोग गर्न सक्ने भन्दा धेरै भूमी ओगटेर निर्धा र निमुखाहरुको भाग हरण गर्दै आएको छ । परापूर्व कालदेखि नै माटो कै निहूँमा संधियार, दाजुभाई बीच पनि काटमार र झैझगडा हुँदै आएकाछन् । ईतिहासदेखि नै माटोको निहूँमा राज्य राज्य बीच ठूल्ठूला युद्धहरु भए । ती युद्धहरुले मानब सभ्यतालाई नै रगतको रंगले पोतेर कलंकित बनाएर गएका छन् । शासकहरुले अर्को राज्यको भूमिमा ॠयाल चुहाउंदा शान्तिसंग जीवन यापन गरिरहेका लाखौँ मानिसहरु माटोप्रतिको अपनत्व र अधिकारबाट बन्चित हुनुपरेकोछ । उनीहरु सुकुम्बासी भएकाछन् र कतिपय बिस्थापित भएकाछन् । लाखौंको संख्यामा शरणार्थी भै बिदेशी माटोमा पहिचान बिहिन भएर कष्टपूर्ण जीवन बिताईरहेका पनि छन्  । घर परिबार र समुदायमा माटोलाई अतिसय माया र संचय गर्ने शक्तिशाली संचयकर्ताहरुका कारणबाट आफ्नै दाजुभाई, नातासम्बन्धित, छिमेकीहरु आदि माटोलाई मायागर्न पाउने नैसर्गिक अधिकारबाट बंचित भएकाछन् । यस तीतो सत्यलाई स्वीकारेर निबन्धकारले माटो प्रतिको नीजत्व भावनालाई सबैले त्याग्ने हो भने यहि धर्ती सबैको साझा स्वर्ग हुने थियो भन्ने सुन्दर कल्पना गरेकाछन् । हुनपनि निबन्धकारको यस मार्मिक शान्ति कामना प्रति हामी कसैको पनि बिमति नरहला ।

‘मोहन क्षेत्री’ निबन्धमा शासक/नेतृत्वको उच्च महत्वकांक्षा र सनकको कारण भएका बिश्व भरका गृह युद्ध/युद्धहरुले कसरी र कति छिट्टै मानिसको सुन्दर संसारलाई उजाड, बिक्लांग र स्मसान बनाई दिएका छन् भन्ने सजीव चित्रण गरेकाछन् । युद्धबाट मारिएका, अपांग बनाईएका, बिस्थापित गरिएका, लुटिएका, बलत्कार गरिएका, अनि तिनीहरुका आश्रितहरुको पीडा, दुख र आर्तनादलाई मिहिन र मार्मिक ढंगले प्रस्तुत गरिएकोछ । शान्तिपूर्ण बाँच्न पाउने जन्मसिद्ध अधिकारका लागि “मानवताको एउटा सिंगो पृथ्बी देऊ, एकटुक्रा नेपाल मात्र भएर म बाँच्न सक्तिन” भनी निबन्धकारले बिश्वभरका शासक, नेताहरुसंग “बिश्वशान्ति” को माग राखेकाछन् ।  बास्तबमा विश्वले बिज्ञान, प्रबिधि, संचार, आदि क्षेत्रमा कल्पनातीत फड्को मारिरहेकोछ । तर पनि बिकाससंगै विश्वका प्राय सबै महादेशहरुमा हुँदै आएका द्वन्द्व, गृहयुद्ध र युद्धहरु घट्नसकेका छैनन् । युद्ध भएका र छिमेकी मुलुकहरुका निर्दोष नागरिकहरुले समेत त्यसको प्रत्यक्ष मार खप्नु परिरहेकोछ । यसको जीम्वेबार तीनै उच्च महत्वकांक्षा बोकेका शासकहरु भएकोले तिनीहरु समक्ष शान्तिकामी जनहरुले शान्तिको याचना गर्नु अत्यन्त सान्दर्भिक र बान्छनीय देखिन्छ ।

निबन्धकारले ‘छोराको नङ फुले’ निबन्धमा आफ्नो छोराको नङ फुलेको प्रसंग मार्फत प्रकृतिको स्वभाबिक प्रक्रियालाई हामीले स्वभाबिक रुपबाट चल्न दिनु पर्छ भन्ने संदेश दिन खोजेकाछन् । बालबालिकाहरुका उमेर अनुसारका शारीरिक, मानसिक, सम्वेगात्म्क र मनोसामाजिक वृद्धि र बिकासलाई स्वभाबिक ढंगले चल्न दिनुपर्छ अर्थात बालकलाई बालक नै भएर बाँच्न र सिक्न दिनुपर्छ भन्ने बिचार राखेकाछन् । बालकलाई क्रमश किसोराबस्था, युवावस्था, प्रौढावस्था तिर जान सहजीकरण गर्नुपर्छ ।  धेरै मानिसहरु जीवन संघर्षको संग्राममा होमिन डराउछन् र आफूलाई सधैं सुरक्षित क्षेत्र (Safe Zone) मा राखेर आफ्नो पहिचान बनाउन खोज्छन् । तर निबन्धकार भने मानिसको जीवनलाई बल्दै गरेको अगरबत्तीसंग तुलना गर्छन् र भन्छन् जीवन बल्दै गरेको अगरबत्ती हो । यसलाई बल्न दिनु पर्छ र यसले बलेर मात्र सुगन्ध दिन सक्छ । जल्नु हाम्रो जीवनको बिशेषता हो र जल्दै जल्दै सकिनु अर्थात जलनमा मानब जीवनको बिशेषता प्रमाणित हुन्छ । निबन्धकारले भने जस्तै जल्नु भनेको जीवन संघर्षका हरेक चुनौतिहरुलाई स्वीकार्नु हो । जीवनको सिकाई ‘पढेर भन्दा परेर सिक्नु’ बढी प्रयोगात्मक र जीवन उपयोगी हुन्छ भन्ने पनि हो । चुनौतिहरुदेखि डराउने ब्यक्तिको जीवन यात्राको संघर्ष बिचैमा टुंगिन्छ । उस्ले कर्म गर्न सक्तैन र कर्म नगरी उपलब्धि हासिल हुदैन । यसर्थ यस निबन्धबाट मानिसलाई कर्म गर्न तर्फ प्रेरित गरेको पाईन्छ ।

यस संग्रहको अर्को निबन्धह ‘चंगा’ हो । एकदिन कुनै ठाउँबाट कुनै बालकले उडाएको चंगा चुडिएर निबन्धकारको घर अगाडि खस्छ । त्यहि चुडिएको चंगालाई उनले मानव जीवनसँग तुलना गर्दै बिश्वबन्धुत्व र सहअस्थित्वको संदेश दिन खोजेकाछन् ।  चङ्गा उडाउने बालकले उडाउनु अघि आफ्नो चंगाको धागोको कत्तिको बलियो छ, लट्टाईमा बेरिएको धागो कति लामो छ, हावा कत्तिको जोडले चलेको छ, कति धागो छोड्ने र कतिखेर धागो बेर्दै चंगालाई आफूतिर खिच्ने, चंगा उडाउने स्थानमा अरु केहि बिग्नबाधा छन् कि छैनन्, सोहि स्थानबाट अरुले पनि चंगा उडाउदै छन् भने उनीहरुको धागो मेरो भन्दा बलियो त छैन ? आदि कुराहरुको ख्याल राखेर सावधानी अपनाएको भए सायद उसको चङ्गा चुडिने थिएन भनेर गहिरो संदेश दिनएका छन् । उनले जीवनरुपी चङ्गालाई मनको  डोरीले अंकुस लगाएको, रहरका कागजलाई परिश्रमका सिन्का र उत्साहका गमले निर्माण गरिएको हुन्छ र हामी सबैले आ आफ्ना चङ्गा उडाईरहेका हुन्छौं भनेर कलात्मक ढंगले जीवनको बर्णन गरेकाछन् । उनले निष्कर्षमा भनेकाछन्, चङ्गा उडाउंदा कागजको होस् या जीवनको दुईटा कुरामा बिचार पुर्याउनु पर्छ । पहिलो धागोलाई जति पायो त्यति छोड्नु हुँदैन । किनकि आकास घरको सिलिंग जस्तो छुन सकिने बस्तु होईन यो अनन्त छ । दोश्रो, चंगा सबैले उडाएका हुन्छन् र सबैलाई उडाउने रहर हुन्छ । त्यसैले चङ्गा उडाउदा अर्काको चङ्गासंग जुधाउन खोज्नु र अरुको धागो काट्न खोज्नु हुदैन । आ-आफ्नो आकाशको सीमा राखेर, आफ्नो भागको आकाशमा चङ्गा उडायौं भने हाम्रा चङ्गाहरु उडिरहन सक्छन् । यी दुई नियम पालन गरे जतिखेर रहर लाग्छ चङ्गा उडाई रहन पाउँछौं र जतिखेर मनलाग्छ उतार्न सक्छौं ।  सबै समाज, देश, महादेश र सम्पूर्ण मानबजातीले सदभाब र सहअस्थित्वलाई स्वीकार गर्ने हो भने हामी सबै यस धर्तीमा हाँसीखुसी बाँच्न पाउछौं । नत्र चङ्गा चुडिए जस्तै जीवन यात्राको उडान पनि बिचैमा दुर्घटनामा पर्छ भन्ने निबन्धकारले सर्वस्वीकार्य संदेश दिएकाछन् । समग्रमा भन्नु पर्दा निबन्धकारले यस निबन्ध मार्फत ‘आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकार हनन हुन दिनुहुन्न’ भन्ने मानब अधिकारको चोटिलो सन्देश दिएकाछन् ।

‘बालक हराएको सूचना’ यस निबन्ध संग्रहको प्रतिनिधि निबन्ध हो । रेडियोमा प्रसारण भएको ‘बालक हराएको सूचना’ मा आफ्नी आमाले आफूसंग राखेको जिज्ञासा “के यी हराएका बालक कहिल्यै फेला पर्दैनन् ? नत्र भने फेला परेको सूचना किन कहिल्यै सुनिदैन?” बाट निबन्धकारले बिषयको उठान गरेकाछन् । आमालाई सहजरुपले ” सम्बन्धित अभिभावकले हराएका बालक भेटे पछि भेटेको सूचना प्रसारण गर्न आवश्यक हुदैन ।  त्यसैले रेडियोले बालक फेला परेको सूचना प्रसारण गर्दैन” भन्ने उत्तर दिन्छन् तर उनी आमालाई दिएको उत्तरबाट आफैं सन्तुष्ट हुन् सक्तैनन् । उनी बाल्यकालको आफू र बर्तमानको आफूलाई तुलना गर्छन् । त्यो बाल्यकालको सात बर्षे कलिलो सुन्दर केटो, जतासुकै विश्वासै बिश्वास देख्न सक्ने, निस्कलंक, स्वछन्द, सदैब मुस्कुराई रहने ओठ,  चंचल गोला नयन, प्रकृतिसंग रमाउने, सिर्जनशील सुन्दर साना हातहरु भएको आफू (कृष्णप्रसाद भट्टराई) अहिले हराएको सत्यता उनी पाउँछन्  ।  त्यसको ठाउँमा उनी अहिले ओठ माथि टम्म जुँगा, गालाभरी दाह्री भएको, सामान्य कदको, टाउकाभरी जिम्बेवारीको गह्रौं भारी बोकेको एउटा युवक उभिएको पाउँछन्  ।  जससँग ती बालपनका कुनै उद्वेग छैनन् । बाल्यकालमा असिना पर्दा रमाउने उसको मन, अहिले असिना पर्दा छिया छिया हुन्छ ।  सामाजिक, आर्थिक, पारिबारिक जिम्वेवारीको भारीले थिचिएको उसका हात, खस्रा र ठेला उठेर नराम्रा भएकाछन् । उनकी आमाले पनि आफैंले जन्माएको त्यो उनको सानो र मायालु बालक र अरु थुप्रै बालकहरु हराई सकेकी छन् । तर आमा अझै पनि उनका ती बालक कृष्ण र अरु सन्तानहरु अझै आफैंसँग रहेको भ्रममा छिन भन्ने बिचार ब्यक्त गरेकाछन् । निबन्धकारका बिचारमा उनकी आमाले जस्तै सबै आमाहरुले आफ्ना बालकहरु हराई सकेका छन् र अझै आफैंसंग रहेको भन्ने भ्रममा बाँचिरहेका छन् ।  यस निबन्ध मार्फत निबन्धकारले मानब जीवनको सबैभन्दा सुनौलो भाग बाल्यावस्था हो र त्यो एकपल्ट गएपछि फर्किएर कहिल्यै आउँदैन । त्यस्तै जीवनको घडी निरन्तर घुमिरहन्छ तर मानिस भ्रमित भएर त्यसको मेसो नै पाउंदैन् भन्ने सत्यताको उजागर गरिदिएकाछन् ।

‘पोकेबूढी’ निबन्ध ‘एउटी अन्दाजी ७०-७५ बर्षकी माग्ने बूढी जो निबन्धकारको गाउँमा बर्षौ अघि आएर घर घरमा माग्दै, बेलुकी कसैको घर बाहिर पेटी तिर बास बसेर गुजरा गर्थिन् । तिनी बिरामले निकै दिन थला परेर आज एउटा घरको पेटीमा मरिछन् । यसै घटनालाई बिषयबस्तु बनाईएर निबन्धकारले महिला हिंसाको सबाललाई सबल रुपले प्रस्तुत गरेकाछन् । कसैले उसको बिगत नजानेको र जान्न पनि नचाहेको एउटी बेवारिसे लास बनिसकेकी ‘पोकेबूढी’ को बिगतलाई लिएर निबन्धकारले हाम्रा गाउँ, समाजदेखि बिश्वभरमा लाखौँ मात्री शक्तिहरु (आमाहरु)लाई पोकेबूढी बनाउन बाध्य समाजलाई कडा व्यग व्यंग प्रहार गरेकाछन् । उनले समाजमा रहेको सभ्यताका नाममा संस्थागत हुदै आएका बेश्यावृत्तिहरुले पोकेबूढीहरुको संख्या आगामी ७० बर्षमा पनि घटाउन नसक्ने ठोकुवा गरेकाछन् । बाबु, दाजु, काका, मामा, र अन्य आफन्तबाट नै बेचिदै आएका कुमारीहरु आफ्नो रुप, यौवन र उमेरमा सुरक्षित छैनन् भने तिनीहरुको बृद्ध अवस्था झनै कसरी सुरक्षित रहन सक्छ ? भन्ने अनुत्तरित प्रश्न तेर्स्याएकाछन् । सभ्यताको शीर्षकमुनि उनी दासता सम्मानित भएको र त्यसै भित्र मानिसहरु डलरमा बिक्री भएको देख्छन् । न्याय, समानताहरू जस्ता शब्दहरु वकिलका फर्म र न्यायधिशहरुका किताबमा पंजीकृत भएको दाबी गर्छन् । मानिसहरु दिउसै सभ्यताका नाममा शिष्टतापूर्वक लिलामी हुदैछन् भनेर निबन्धह मार्फत दुख ब्यक्त गर्छन् । यो निबन्ध पढेपछि हामी हाम्रो समाजको यथार्त तिर फर्किन बाध्य हुन्छौं । अनि चिच्यार सोध्न मनलाग्छ, “अनन्तकालसम्म पोकेबूढीहरु सिर्जना गर्ने कथित सभ्य समाज, आफ्ना अबोध बालिका र युवतीहरुको निर्लज्ज ब्यापार गर्ने आफन्तका नामका ए नरपिसाचहरु हो ! पैसामा बिकेर न्यायको किन बेच गर्ने ए लाईसेन्स प्राप्त अपराधी धनपिसाच वकिल र न्यायधिसहरु हो ! आधा आकास ओगटेका तर लाचार बनाईएका मातृशक्तिले र पीडितका परिबार र आफन्तले कहिलेसम्म यो मानवता प्रतिको अत्याचार खप्नु पर्ने?” बर्तमानमा अझै डरलाग्दो कुरा ‘दूधे बालिकादेखि ७० बर्षका बृद्धालाई समेत यौन प्यासको तारो बनाउने पागल अपराधीहरुको जत्था देखिएको छ । अनि तिनीहरुको पक्षपोषण गर्न लाज नमान्ने परिबार, समाज, फित्तलो कानूनी प्रबन्ध, पैसामा बिकेका कानूनको परिपालन गराउने भनिएका न्यायकर्मीहरू, दण्ड ब्यबस्था र उदासिन राज्य प्रणाली’ हेर्दा सचेत बर्गले परिबार, समाज, देश र विश्वका मातृशक्ति सामुहरुसंग क्षमा मागेर समाधानको दीर्घकालीन योजनाका लागि राज्य उपर बिद्रोह गर्नु पर्ने समय ढिलो भैसकेको छ ।

‘जहाँबाट जीवनलाई पढ्छु’ निबन्धमा निबन्धकारले भाषालाई दार्शनिक रुपमा प्रस्तुत गरेकाछन् । उनले भाषाशास्त्र भन्दा पर पुगेर मानिसको जीवनमा ब्यक्त हुने सुखको भाषा र दुखको भाषा भनेर दुई भागमा परिभाषित गरेकाछन् । उनका अनुसार ‘जिब्रोले बोलेको भाषा, भाषाशास्त्रीहरुको बर्गीकरण अनुसार विश्वको कुनै पनि भाषामा बोलिने हुनसक्छ । तर त्यो शब्द ब्यक्त गर्नेको आँखामा पढ्न सकिने अभिव्यक्ति नै जीवनको अर्थपूर्ण भाषा हो’ भन्ने उनको ठम्याई छ । युद्ध, गृहयुद्ध र आन्तरिक द्वन्द्वबाट आहत भएका, बिस्थापित भएका र दैनिक पेटको आगो शान्त पार्न संघर्षरत समुदायका बालबालिका, यूवायुवती, बृद्धबृद्धाहरुको भाषालाई नै उनले दुखको भाषा भनेर संकेत गरेकाछन् । अहिले बिज्ञान र प्रविधिले हाम्रा घरघरमै बसेर पनि विश्वलाई चिहाउन सक्ने साधन ‘टेलिभिजन’ लगायत अन्य साधनहरु दिएकोछ । बास्तवमा निबन्धकारले महसूस गरे जस्तै बोलिएको भाषा नबुझे पनि हामीले पनि प्रसारित भिडियो र तस्बीरहरु मार्फत संसार भरका प्रमुख घटनाहरु आखाँले पढ्न सक्छौं । अनि त्यो सुखको भाषा हो कि दुखको भाषा सहज अनुमान गर्न सक्छौं ।

‘पापी पेटको सबाल’ निबन्धमा मिनिबसको एकापट्टी भित्तामा लेखिएको उक्त भनाईलाई बिषय केन्द्रित बनाईएको छ । निबन्धकारका अनुसार “विश्वको कूल जनसंख्याको केहि मानिसहरुलाई बाहेक बाँकी सबै पेशा, ब्यबसायका मानिसहरुको सधैंको दौडधूप र हतार केवल भोलिको सुनौलो भविष्य अर्थात पापी पेटको जोहोको लागि भैरहेको छ ।  विश्वमा भैरहेको विज्ञानको चरम उन्नत्ति, जनसंख्या वृद्धि र नियोजनमा सफलता, गरीब मुलुकहरुलाई धनी राष्ट्रहरुले गर्दै आएको सहयोगमा वृद्धि आदिका सूचकाँक बढ्दै गएता पनि प्रत्येक गरीब देशबाट रोजीरोटीका लागि कामको खोजीमा विदेशिनेको लर्को दिन प्रतिदिन बढ्दो छ । बिकशित राष्ट्रहरुले मौज्दातबाट बर्षेनी सडेको अन्न समुन्द्रमा फाल्नु परेकोछ भने अर्कोतिर बिप्पन्न राष्ट्रका लाखौँ मानिसहरु दिनरात कामगर्दा पनि भोक भोकै मर्नु परेकोछ । ईतिहासदेखि नै महायुद्ध, बिश्वयुद्धका नायकहरुको निर्देशनमा सिपाहीहरु आफ्ना परिबार र आफ्नो पेटकै निम्ति युद्ध लडे । किन भने उनीहरुलाई युद्ध जित्नु र हार्नु भन्दा पनि पापी पेटको सबाल थियो त्यसैले उनीहरु लडे । आजसम्म कुनै युद्ध लडेको कुनै बीर सिपाहीले युद्ध जितेको कुरा ईतिहासमा दर्ज भएकोछैन ।  युद्ध जित्दा पनि शासकले जित्छ र हार्दा पनि अर्को पक्षको शासकले हार्छ । विश्वमा हुने मानवताको चित्कार भनेको पेटको चित्कार हो । मानवताको कमजोरी पेटको कमजोरी हो । यहि पेटको कमजोरीको फाईदा उठाउँदै बलियाले निर्धालाई सधैं शासन गर्दै आएको छ । पापी पेटका लागि उपस्थित जनसमुदायहरु दर्शक दीर्घाबाट नेताहरुका निरन्तर झूटा आश्वासन र खोक्रा आदर्शका लागि रित्ता पेट लिएर तालि पिटीरहेछन् र हरेक जनमतहरुमा मत खसाली रहेछन् । मानिसले पेट भन्दा अगाडि उसको सभ्यतालाई पुर्याउन नसकेता पनि सत्ताको सुरक्षा युग युगान्तरसम्म गर्नेछ ।” निबन्धकारले यस निबन्ध मार्फत दिन खोजेका मूलभूत संदेशलाई निम्नानुसार संक्षेपीकरण गर्न सकिन्छ । विश्वमा शासक र शासित दुई बर्गका मानिस छन् । पेटको संघर्ष गर्नु पर्ने अधिकांश जनसंख्याले सीमित संख्याका शासकहरुको सत्तालाई युगौं युगदेखि टिकाइदिई रहेकाछन् । शासकहरुले शासित बर्गको भोलिको सुनौलो भविष्यको सपना र झूटो आश्वासन बाँडेर उनीहरुको सत्ता अझै युगौं युगसम्म टिकाई रहन्छन् । हाम्रो देशको सन्दर्भमा पनि यो कुरा अहिले झनै टड्कारो रुपमा देखिदै आईरहेको छ ।

‘नलेखिएको कुरा’ निबन्ध मार्फत आधुनिकताको नाममा मानिसले प्रकृति माथि गर्दै आएको अतिक्रमण, यातायात, उद्योग र कलकारखानाका लागि बनजंगलको बिनास, गाउँबाट शहर तिरको तीब्र बसाई सराई, अत्यधिक बढ्दो जनघनत्व, परम्परागत ढुवानी र सवारीका साधनहरुलाई यन्त्रहरुले विस्थापन गरेको आदि बिषयलाई चिन्ताको बिषयमा चित्रित गरिएको छ । बढ्दो शहरीकरण र ब्यक्तिबादी चिन्तनले मानिसहरुको भीडमा रहेर पनि एक्लो हुनु पर्ने भएको छ । भविष्यप्रति आशाबादी र महत्वाकांक्षी सपना देखाउने पुराना आदरणीय ब्यक्तित्वहरु सकिंदै गएका, पुराना धरोहरहरु र परम्परागत असल अभ्यासहरू (Endigenous Best Practices) मासिदै गएका आदि जस्ता परिबर्तनहरु देखाएकाछन् । मानिसले बिगतलाई पुरै भुलेकोछ र भविष्य प्रतिको कुनै चिन्ता छैन । केबल बर्तमानमा रमाउन पाए उसलाई पुगेकोछ र आफू पनि सोही तालमा हिंड्न बिबस भएको कुरा ब्यक्त गरेकाछन् । निबन्धकारको चिन्ता जस्तै आधुनिकताको नाममा विश्वमा कलकारखाना र सवारीसाधनहरुबाट उत्सर्जन हुने कार्बनडाई अक्साईडको मात्रा अत्यधिक हुनु, जसको कारण पृथ्बीको तापक्रम बढेर जलबायु परिबर्तनमा आएको असामान्य अवस्थाले निम्त्याएका प्राकृतिक प्रकोप र तिनीहरुले निम्त्याएको विपत्ति, बेला बेलामा अप्रत्यासितरुपले बिश्व नै हल्लाउन सक्ने कोभिड जस्ता महामारी आदि साँच्चै नै चिन्ताका बिषय हुन ।  यसर्थ प्रकृति माथिको अतिक्रमणबाट उत्पन्न नयाँ नयाँ समस्याहरु प्रति सचेत भई अहिलेदेखि नै हामी सबैले प्रकृति संरक्षण र बिकास बीच सन्तुलन कायम गरेर अघि बढ्नु अहिलेको आवश्यकता भएकोछ ।

‘एकान्त’ निबन्ध मार्फत निबन्धकारले संसारमा भएका कुनै पनि मानबीय परिबर्तनहरु, बिज्ञान र प्रविधिका आभिष्कारहरु, महाकाव्यहरुको सिर्जना, ठूला ठूला युद्धहरु, आदि राम्रा र नराम्रा कार्यहरु एकान्त चिन्तन कै उपलब्धि भनेकाछन्  । एकान्तको चिन्तनको प्रतिफल सबै सकारात्मक हुन्छन भन्ने  छैन् । त्यसैले उनी एकान्तदेखि डर लाग्छ भनेर एकान्त प्रति ब्यंगात्मक चिन्ता ब्यक्त गर्छन् । जब मानिसहरु समूहबाट एकान्त तिर लाग्न थाल्छन् त्यहाँ केहि हुनलागेको संकेत भनेकाछन् । जुन देशका शासकहरुले आफ्नो देशको नीति नियम आदि बिरुद्ध जनताले आवाज नउठाउन् भन्ने चाहन्छन् त्यस देशका जनताहरुलाई जति सक्दो एकान्त गर्ने मौका दिनुहुँदैन भनेर निबन्धकार त्यस बेलाका पंचायती तानाशाही शासकहरुलाई चोटिलो प्रहार गरेका छन् । त्यस्तै उनलाई एउटा स्वतन्त्र देशको सामान्य नागरिक भएर शान्तिपूर्ण जीवन बाच्ने आम नेपालीको जस्तै चाहाना रहेको बताएका छन् । निबन्धकारले देखेको सपना जस्तै देशमा परिबर्तन आएको पनि दुई दशक पुरा भयो तर आम नेपाली र उनको चाहना के कति पुरा भयो ? वा हामी कहाँ कहाँ चुक्यौं र अब के गर्ने भन्ने बिषयमा पुनराबलोकन गर्ने बेला आईसकेको छ ।

‘अस्थित्वको खोजी’ मार्फत निबन्धकारले देश दिन प्रतिदिन परनिर्भर हुँदै गएको तीतो यथार्थ प्रति चिन्ता व्यक्त गरेकाछन् । हामीले आफ्ना लागि देश भित्र उत्पादन बढाएर बिजुली जस्तो आधारभूत आवश्यकता समेत आत्म निर्भर हुन नसकेको कुरा प्रति चिन्ता ब्यक्त गरेकाछन् ।  मानिसहरुले पैसाका लागि कुन बैद्य र कुन अबैद्य काम भनेर छुटयाउन छाडेको, पैसामा किनिए पछि (जागिरमा नियुक्ति भएपछि) पेशागत धर्म भन्दै सत्य कुरा थाहा भएर पनि बोल्न नमिल्ने अर्थात आफ्नो अस्थित्व नै नभएको जस्तो हुनु पर्ने विवसता निबन्धकारले ब्यक्त गरेकाछन् । अर्थात बाँच्नु नै अस्थित्व रक्षाको पहिलो सर्त हो । बाँच्न मानिसलाई पैसा चाहिन्छ । पैसा कमाउन मानिसले कुनै पनि पेशा अपनाउँछ । पेशागत धर्ममा त्यस पेशा वा काम भित्र हुने कतिपय मन नपर्ने र चित्त नबुझेका कुराहरुलाई ब्यक्त गर्न मिल्दैन वा गोप्य राख्नुपर्छ । जव मानिस कुनै पेशामा अनुबन्धित हुन्छ, उस्ले त्यहाँ आफ्नो अस्थित्वलाई बन्धकी राखेको हुन्छ । उनले थाहा नहुनुलाई थाहाहुनु भन्दा राम्रो भनेर अर्थ्याएकाछन् । अहिले हरेक पेशा र ब्यबसायमा देखिएका भ्रष्टाचार, अनियमितता, कालो बजारी, ठगी, हत्या, हिँसा, आदि जस्ता अपराधहरुको कारणले संगठन/संस्था भित्र रहेका असल मानिसहरुको ‘अस्थित्व’ नै संकटमा परेको देखिन्छ ।

मेरो बिचारमा, निबन्धकारले धरातल तह (Grassroot Level) बाट ससाना बिषयबस्तुहरुलाई टिपेर तिनीहरुकै आधारमा जीवन, जगत, मानब सभ्यता, वातावरणीय बिनास, कहालीलाग्दो एक्लो बुढ्यौली, राजनीति, युद्ध र युद्धका घाउहरु, राष्ट्रियता, महिला बेचबिखन र लैंगिक हिँसा, आदि जस्ता बिषयहरुमा मिहिनरुपले आफ्नो दृष्टिकोण समेत राखेर कथा जस्तो शैली प्रयोग गरेर निबन्ध खिपेकाछन् । उनका खिपिएका निबन्ध पढ्दा कथा पढे झैं भान हुन्छ ।  ती प्रत्येक निबन्धले बर्तमान अवस्थाको यथार्थलाई टेकेर कुनै न कुनै गहिरो संदेश समेत दिएको पाईन्छ ।  निबन्ध पढ्न अल्छी मान्नेहरु म जस्ताका लागि पनि “बालक हराएको सूचना” निबन्ध संग्रह स्वादिलो मुखसिद्धि (Dessert) हुनसक्छ ।

यो पनि पढ्नुहोस्:

Read also: