ए ओट हाल, ओट हाल, ओट हाल……… चालक अत्तालिएपछि गाडिमा रहेका दुइ सहचालक उत्रिए तर गाडी सुलुलुलुलुलुलु पछाडी पो गुड्न थाल्यो । र हेर्दा हेर्दै, हेर्दा हेर्दै आँखै अगाडी डिलबाट मुनी मुनी मुनी मुनी मुनी मु ऽऽऽऽऽऽऽ …..नी पल्टियो र पल्टिरह्यो ।
ओजोन बाबु ( आलोक शर्मा )
डढेको रबरजस्तो, डढेको प्लास्टीक, सिसा, मेटल, खरानी जस्तो केही जलेको गन्ध, धुलो, धुवाँ जस्तो, ठ्याक्कै यहि स्वाद भनेर नाकले छुट्याउनै नसक्ने अनौठो गन्धले नाकै थुनिने अवस्थामा म अचानक व्यूझिएँ । नाक एकदम पोलिरहेछ, पुरै सन्नटा छ, कान थुनिए जस्तो एकोहोरो टुँऽऽऽऽऽऽ आइरहेको भान भइरहेछ । टाउको सुन्निएर बडेमानको भएजस्तो आभास छ । यस्सो हल्लिन खोजेको शरिर हलचल केहि हुँदैन । आँखा चिम्म नै रहेछ भन्ठानेर खोल्न खोजेको, आँखा त खुल्लै छ । तर चारैतिर अन्धकार छ ।
छ्यहत्तर सालको दोस्रो दिन यानेकी बैसाख २ गते, विहान ५ बजे झापाको दमकबाट काँकडभिट्टा टु ओखलढुङ्गा वाला गाडी चढेको म साँझ साँझतिर हिलेपानी उत्रिएँ । मलाइ खोटाङको दिक्तेल पुग्नु जो थियो । काँकडभिट्टाबाट दमक, ईटहरी, लाहान हुँदे मिर्चैयाबाट पूर्व पश्चिम लोकमार्ग छोडेर उकालो लागेको गाडी चुरे पहाडै पहाड उदयपुरको कटारी पुगेर रोकियो लोकप्रिय स्टाफ भोजनालयमा । खानापछि करिब १२ बजेतिर गाडि पूनः हानियो उकालो । करिब तीन, साँढे तीन घण्टाको अक्करे पच्याङ बाटो छिचोलेर सुनकोसी नदीको किनारमा रहेको जब्बरजस्त बजार घुर्मी पुगीयो । ओखलढुङ्गा र सिन्धुलीलाइ दायाँ बायाँ साक्षि राखेर हाँसिरहेको भान हुन्छ उदयपुरको घुर्मी । सुनकोशी नदी तरेपछी ओखलढुङ्गा सुरु हुन्छ ।
हिलेपानी , ओखलढुङ्गा बजार हुँदै सोलु सल्लेरी पुग्ने बाटो र हलेसी हुँदै दिक्तेल बजार पुग्ने बाटोको साक्षि हो । म ओखलढुङ्गाको गाडीलाइ उकालो पठाएर हिलेपानी उत्रिएँ । यहाँबाट दिक्तेल जानको लागी काठमाडुंबाट आउने गाडी पाउने सम्भावना हुन्छ । करिब ४ बजे उत्रिएको म रातको ९ बजेसम्म हिलेपानीमै बस्नुप¥यो । ओखलढुङ्गा जिल्लाको मानेभञ्ज्यङ गाउँपालिकाको वडा नं छ ६ हिलेपानी, राष्ट्रिय गानका रचनाकार व्याकुल माइलाको जन्मथलो पनि हो । दुइतिरबाट सुनकोसी र दुधकोसी नदीले घेरेको हिलेपानी नजिकै रहेको सिद्धथुम्काले पनि प्रसिद्ध छ । यहाँबाट ओखलढुङ्गा बजार करिब ३० कि.मीको दुरीमा पर्छ ।
रातको ९ बजेतिर मात्र काठमाडुंबाट १÷२ बजेतिर दिक्तेलको लागी हिडेंको गाडी हान्निएर आइपुग्यो । करिब करिब गुडिरहेकै गाडीमा दौडिएर चढेपछि मेरो दिक्तेलतर्फको दोस्रो चरणको यात्रा सुरु भयो । माथिल्लो सगरमाथा कम्पनिको यो तुफानी यातायात सडक छेउछाउका घरहरुलाइ भुकम्पको महसुस गराउने गरी दौडियो । भिरैभिरको घुम्ती बाटोमा समेत गाडी उडिरहेको भान हुन्थ्यो । पछाडी पछाडी आइरहेको अर्को कम्पनीको गाडीलाइ उछिन्न नदिने गुरुजिको प्रयासमा हामी यात्रु घरिघरि त सिटमै उचालिँदै पछारिँदै पनि थियौँ । निदाएकाहरु झसङ्ग झसङ्ग ब्यूँझिदै फेरि निदाउँदे गर्थे । ओखलढुङ्गा र खोटाङको सिमानाको जयरामबाट दुधकोसी नदी तरेपछि गाडी खोटाङको भुमिमा उकालो लागेको याद छ । त्यसपछी ठाउँठाउँमा यात्रु ओराल्दा झसङ्ग झसङ्ग ब्यूझिएको म, एकैचोटी हलेशी मन्दिरको पछिल्लो गेटमा गाडी रोकिएपछि ब्यूझिएँ । यात्रु ओर्लिने,उनिहरुका सामान ओराल्ने काम सकिएपछि गाडी फेरी तुफान दौडियो । अगाडिको सिट खाली भएछ सरेँ । रोकेको ठाउँमा दिक्तेल जाने दुई यात्रु पनि चढेका थिए । हलेसी मन्दिरको अगाडिको गेट भन्दा करिब २०÷३० मिटर अगाडीको कराले कराले उकालोमा अगाडी अगाडी एउटा मोटरसाइकलमा ३ यूवक सडकको ठिक बिचबाट सुस्त सुस्त गतिमा अगाडी बढिरहेछन । अचानक मोटरसाइकल रोकिएर उल्टो ओरालो बग्न थाल्यो । पछाडि बसेको युवक हत्तपत्त ओर्लिएर एकदम लापर्वाही तरिकाले थाम्न या धकेल्न थाल्यो । साडकै छेकेर बिचमा यस्तो हर्कत अचानक आइलागेपछि उड्न मात्र बाँकी राखेको हाम्रो गाडी अचानक ब्र्रेक लाउन बाध्य भयो र लायो पनि । नत्र ती तीनै जना गडीको चक्कामुनी नपर्नलाइ कुनै विकल्पै थिएन । झ्याप्पै गाडी रोकियो । यो सब दृश्य म देखिरहेछु ।
ए ओट हाल, ओट हाल, ओट हाल……… चालक अत्तालिएपछि गाडिमा रहेका दुइ सहचालक उत्रिए तर गाडी सुलुलुलुलुलुलु पछाडी पो गुड्न थाल्यो । र हेर्दा हेर्दै, हेर्दा हेर्दै आँखै अगाडी डिलबाट मुनी मुनी मुनी मुनी मुनी मु ऽऽऽऽऽऽऽ …..नी पल्टियो र पल्टिरह्यो । यो सब एकै छिनमा भयो , एकै पलमा । भएछ के भने तिव्र गतीमा लाएको ब्रेक थाम्न नसकेर ब्रेकफेल भएछ र रोकिइसकेको गाडी ओराले बग्न थालेछ । ड्राइभर अत्तालिएर घरी दायाँ, घरी बायाँ स्टेरिङ काट्दा काट्दै गाडीको टायरले डिल नाघेपछी, एक बल्ड्याङ पल्टियो म उछिट्टिएँ सामान राख्ने सिलिङको डिकीमा ठोक्किएँ, एकै सासमा गाडी अर्को बल्ड्याङ खायो म प्यसेजमा पछारिएँ , तुरुन्तै अर्को, अर्को, अर्को बल्ड्याङ, बल्ड्याङ, बल्ड्याङ । मलाइ मान्छे यसरि मर्दो रहेछ भन्ने लागीरह्यो । मैले मर्दै गरेको थाहा पाइरहेँ । अन्तीम यादमा टाउकोको दाहिने पट्टिको कन्चट छेउमा नराम्ररी ठोक्कीएको थाहा पाएपछी चैँ मैले केही थाहा पाइन । सायद म मरेँ ।
लामो थकान पछि आनन्दको निन्द्रमा मस्त भइरहेको जस्तो लागीरहेछ । सपनाझैँ भइरहेको मिठो टाइप्सको पलमा कता कताबाट बचाउ बचाउ, मरेँ , पानी पानी जस्तो जस्तो, धमिलो धमिलो आवाज पनि आइरहेछ । खुल्दुली भएछ मलाइ के रहेछ भनेर यस्सो चल्मलाएको केहि धारीलो हतियारले बायाँ हातको कुहिनामा चरररर् काट्यो । झल्यास्स ब्युझिएँ । रिल घुमेझैँ ओट हाल ओट हाल देखि सबै छर्लङ्गै आयो । खासमा म मरेको होइन रहेछ, मान्छे यसरि व्यहोस हुँदो रहेछ, ओहो !
सुरुमै भनेँ त्यसपछि के के भयो ।
बाँचियो भनेपछि मनमा एक किसिमको हिम्मत हिम्मत खालको केही आयो । रगत खुट्टा देखी माथीसम्मै सररर दौडिएजस्तै भयो । जब्बरजस्ती चलमलाएँ । केही भार छ शरिरमाथी । पन्साउँने बल त छैन अली अली आँटले काम ग¥यो क्यारे पन्साउँदै गर्दा थाहा भयो केही झोला र गाडीका सिटहरु उछिट्टिएर थिचेका रहेछन । गोजिमा छामें सायद टाइट पाइन्ट भएर होला मोबाइल फुत्केको रहेनछ । फ्ल्यास लाइट खोलेर ढोका खोजेँ । ढोका ता भुइँपट्टि घोप्टिरहेछ । गाडीको पुछारपट्टी सब थुप्रिएको छ, सिधा माथीपट्टीको झ्यालको सिसा फुटेर खुल्लै देखेपछि आशा त पलायो । तर बायाँ पाटै चल्दैन आफ्नो । तैपनि घस्रिँदै घस्रिँदै झ्यालको डिल समात्न पुगेँ । तल खुट्टाले मान्छे नै टेकेको महशुस भइरहेछ तर , बाँच्ने जिजिविशाले माथी नै धकेल्यो । बाहिर त निस्केँ गडी लमतन्न सुतिरहेछ खोल्सामा । गाडिबाट भुइँमा हामफाल्ने आँट आएन । त्यहीँ अडिएर बसेँ । गाडीको भुईँबाट झ्याल बाहिर निस्किदा कती कठिन पल मैले भोगेँ हुँला शब्दमा व्यक्त गर्न सक्दिन म । धन्न दिमाग शुन्य छ, नत्र के के सोच्थ्यो होला ।
के गर्ने के गर्ने भएर टोल्हाइरहेँ । भित्रबाट आमा आमा आमा भनेजस्तो एकोहोरो धुनजस्तो स्वरले पो झसङ्ग भएँ फेरी । १०० नम्बर याद आयो झट्ट, डायल गरेँ । धेरैबेर रेकर्डेड आवाज आएपछि काटेँ । फटाफट त्यहाँको नगरपालिकाको मेयरलाई फोन लगाएँ । ( घर खोटाङ भएको र यस नगरपालिकामा कामको सिलसिलामा साथै व्यक्तिगत रुपमा पनि मेयर उपमेयर लगायत स्थानियसंग राम्रो चिनजान छ मेरो ) उहाँको फोन अफ रहेछ, तुरुन्तै उपमेयरलाइ गरेँ उहाँ काठमाडुं हुनुहुदोरहेछ, उहाँले म तुरुन्तै त्यता खबर गरेर उद्धारको लागी भन्छु भनेपछि थोरै राहत मिल्यो । तर मन अत्तालिरहेछ । मोबाइलमा डिएसपी खोटाङको नम्बर त सेभ छ, तर यो पहिलाको डिएसपीको हो । आ जे होला उहाँबाट पनि खबर पुग्ला भनेर डायल गरेँ धन्न अफिसियल रहेछ । खोटाङ प्रहरिकैमा पुग्यो । मैले एकै सासमा डिएसपी साप यस्तो यस्तो भयो भनेर उद्धारको लागी भनें । उहाँले ठाउँको ठाउँ कती तल खसेको गाडी, कती यात्रु थिए, अवस्था कस्तो छ , … यस्तै यस्तै । तर मैले केहि रिपोर्टिङ गर्न सकिन उहाँलाइ । किनभने मलाइ केहि थाहा थिएन थाहा भएपनि अहिले उद्धारको खाँचो थियो । सर यात्रु गडिभित्र कराइरहेछन उद्धारको लागी पठाइदिनुप¥यो भनरे फोन काटेँ ।
गाडीबाट माथी डिलतिरै आँखा छ, कोही आउँछ की भन्दै । माथी वारपारै भिड छ । लाइट झल्यक झुलुक बलिरहेछन, कल्यङमल्याङ छ ,फ्ल्यस आउँछ घरी घरी तर कोहि पनि गाडी भएको ठाउँमा आएन । त्यो ५ देखी १० मिनेटको विचमा थप दुइपटक मैले प्रहरी कार्यालयमा फोन गरेँ । आउँदैछन मैले सब खबर गरिसकेको छु त भन्नुभयो उहाँले, तर खै अझै आएको थिएन कोही । मैले उहाँले पटकै पिच्छे सोधेको प्रश्नको जवाफ पनि दिइरहेको थिइन । किनभने मलाइ केहि थाहा थिएन थाहा भएपनि अहिले उद्धारको खाँचो थियो । अन्ततः प्रहरीको टोली आइपुग्यो । तर त्यसबेला गाडीभित्रका सबै यात्रु कमसेकम पाखामा उतारि सकिएका थिए । पाखामा सास फेर्दै गरेका सहयात्रीहरु देखेर त , बेलैमा उद्धार नहुने हो भने चैँ दुर्घट्नामा परेको मान्छे आशा हराएरै मर्ने रहेछ जस्तै लाग्यो । दुइ भाइ थिए, हामी ससस्त्र हौँ भन्थे पछि । पछि भिडले को ? के ? गर्न थालेपछि सर आउनुभाथ्यो उहाँलाइ पु¥याएर फर्केर आज हलेशी बसेका हौँ भन्दै थिए ति दुइ भाइ । उनिहरु त्यो भिड छिचोलेर हुरुरुरुरु तल आए, मलाइ भित्र मान्छे छ भनेर सोधे । मैले छन धेरै जना छन भनेपछि भित्र छिरेर फटाफट यात्रु निकालेका थिए । पछी म हिड्न नसकेको देखेर छक्क पर्दै भने तपाइँ पनि यै बसमा हुनुहुन्थ्यो ? मेरो नि उद्धार गरे । प्रहरी पनि आएपछि घाइते यात्रु लगाएत सामान माथी बाटोमा निकाल्ने काम भयो ।
हलेशि प्रहरी चौकीका इनिस्पेक्टर लगाएतको टोली घाईतेलाइ एक ठाउँमा थुपारी डिटेल्स लिइरहेको थियो । यहि बेला थाहा भयो गाडिमा १७÷१८ जना रहेछन । तिमध्य भरखरै हलेसीबाटै चडेका एक जनाको ठाउँको ठाउँ ज्यान गइसकेछ , भने ५÷६ जना त एकदमै गम्भिर घाइते भएछन जसमा ड्राइभर पनि निकै नै गम्भिर घाइते अवस्थामा भेटिए । स्थानिय चक्र राईको सकृयतामा घाइतेलाइ दुर्छिम स्वास्थ्य चौकीमा लाने काम त भयो । स्वास्थ्य चौकीमा प्राथमिक उपचार मात्र सम्भाव थियो, रातको करिब १ बजिसकेको थियो । चौकी पुगेपछि बल्ल थाहा भयो मेरो बायाँ खुट्टा फ्र्यक्चर छ, बायाँ हात अलि अलि चल्न थाल्यो, मुखमा तल्लो दाँत लहर र माथिल्लो दाँत लहर भेटै हुँदैन, जिउभरि रगतै रगत छ्याप्पै छ, खुट्टाको जुत्ता, टाउकाको क्याप, चस्मा केहि छैन । पछाडी ढाडमा हावाको सानो झोँकाले पनि चहर्याइरहेछ ,जहाँ छोयो त्यहीँ दुख्छ । स्वास त फेर्नै हुन्न चसक्क दुख्छ, मिलाएर कोल्टिएर विस्तारै विस्तारै स्वस लिँदै छोड्दै गरिरहेछु । यत्तिकैमा चक्र अंकलले ( स्थनिय चक्र राइ उहाँलाइ म व्यक्तिगत रुपमा चिन्छु र अंकल सम्बोधन गर्छु ) गम्भिर घाइतेलाइ तुरुन्त काठमाडुं लाने व्यवस्था गर्न लाग्नुभयो र मलाइ भन्नुभयो “भतिज तिमी पनि जाउ, तिमीलाइ भित्र चोट लागेजस्तो छ” । सायद आराम पाएपछि ठिक हुन्छ होला, फेरी भोली विहानै जिल्ला अस्पताल पुगिहालिन्छ भन्ने भयो । अर्कोतिर फेरी गाडी चढीहाल्न होसमै चैँ डर नै छ । त्यसैले हेरम भोली , यहाँ भएन भने जान्छु भनेँ । गम्भिर घइते जो न बोल्थे न चलमलाउँथे ति एक गाडी काठमाडुंका लागी हिँडे । हामी अय्या आथ्था गर्दै सहन गरिरहेका रह्यौँ दुर्छिम स्वस्थ्य चौकिमा ।
कोहि खुट्टा भाचिँएका, कोहि हात भाचिँएका, कोहि टाउको फुटेका, कम्मर मर्काएका, रगतै रगतले पुरिएका दुखाइ, थकान सहँदै स्वस्थ्य चौकीमा छौँ हामी । भुइँमा, बेडमा, कुर्सिमा, पेटिमा जता जता सहज महसूस हुन्छ त्यतै त्यतै लडिरहेका हामीलाइ एकजना अनमी दिदीले पालै पालो घाउ सफा सम्मको प्राथमिक उपचार गर्नुभयो । मेरो चैँ ढाड पुरै ताछिएर आएको रगतले टिसर्ट लपक्कै टासिँएछ, खोल्दा रोइदिएँ दुखाइ सहन नसकेर । दिदीले सम्झाउनु भयो धन्न बाँच्नु भयो, अब नरुनु । घाउ सफा भयो । तर बायाँ खुट्टा सुन्निएर हात्तिको जत्रै भइरहेछ खै के गर्नेहोला । प्राथमिक उपचार सकियो, त्यतिन्जेल अंकल मैसँग हुनुहुन्छ । बेला बेलामा नडराओ भाइ हो अब बाँच्यौ तिमेरु, अब भोली उज्याले हुनसाथ जिल्ला अस्पताल पु¥याउने व्यवस्था मिलाउँछु भन्दै हौसला पनि दिइरहनु भयो । अब आराम गरौँ भनेर यसो ओछ्याउने, ओड्ने भाग लगाएर म अंकल संगै उहाँको घरै गएँ । उहाँको घर स्वास्थ्य चौकी छेउमै छ । खुट्टमा भ्यासलिनले मालिस गरेर रुमाल बाधेँ । बिहानै जिल्ला अस्पताल पुग्यौँ , उपचार सुरु भयो ।
एक महिनाको बेड रेष्टपछि म यही दैनिकीमा फर्किएँ । काललाइ टक्क छोएर, फुत्त फर्किएको त्यो पल सम्झिन्छु – कमसेकम मर्ने र बाँच्ने त पहिल्यै तय छ । ज्यमराजको मुखमा पुगेर, फर्केर आको भन्ने हल्ला चलिरह्यो अलि पछिसम्म टोलमा चैँ ।



