अधिकार पगितो भएपछि !

बिबिधविचार
461 views

Share:

कृष्ण आचार्य

शक्ति र अधिकारलाई पर्गेल्न नसक्ने पाखण्डीले न्याय र इन्साफलाई अज्माउन सक्दैन र आफ्नो विकृत मनोदशालाई विवेकहीन ढंगबाट प्रदर्शन गर्ने गर्छ

पिलन्धरेलाई चौरासी व्यञ्जनले कदापि फलिफाप गर्दैन । खान त खुबमीठो गरी खाँदोहो । तर पचे पो ! पाचन यन्त्रले पेल्न नसकेर अपच भएपछि कसो गरोस् बरा ! पाध्छ, डकार्छ, छेर्छ, छाद्छ । वातावरण नै दुर्गन्धित तुल्याउँछ र आफै पनि थङ्थिलो बन्छ । त्यस्तालाई जानी जानी गरिष्ट भोजन पस्किदिने पनि उलाहा हो । खानेकुरा मात्र होइन, अधिकार र शक्ति पनि कसै कसैले पचाउन सक्दैन । अपच भएपछि दुर्गन्ध त उत्सर्जन हुन्छ नै ।
यतिबेला इटहरी नगरपालिकाका मेयर द्ववारिकालाल चौधरीले आफूलाई प्राप्त भएको अधिकार र शक्तिलाई पचाउन नसकेर डकारेको दुर्गन्ध नेपालमा मात्र होइन, विश्वभरि फैलिएको छ । शक्तिको मातले निस्लोठ भएर उनी यसरी बर्बराउँदैछन् कि, उनका शब्दहरु यहाँ उच्चारण गर्न वाञ्छनीय हुँदैन । तथापि, उनले आफ्नो विरोध गर्नेका नाक भाँच्ने, हातखुट्टा भाँच्न र ताक परे सुइँक्याइदिने शीर्षकमा एक करोड बजेट छुट्याएको ठाडो ऐलान् गरेका छन् । मेयरका विरोधी ठेगान लगाउने कथित शीर्षकमा सरक्क बजेट अनुमोदन गरिदिने नगर कार्यपालिकाका मान्छे पनि कस्ता ! गरेकै हुन भने ती सबै धतुङ्गाएका हुन्, उपचार गर्नुपर्छ । होइन र मेयर मात्रै औताएका हुन् भने उनलाई कानूनको करेलीले ऐच्याउनै पर्छ । छाडा हुन कसैलाई छुट छैन । यो नियम उनका विरोधी र मिडियालाई पनि लागू हुन्छ । नियतवस उनका क्रियाकलापलाई अतिरञ्जित तुल्याउन पनि पाइँदैन ।
उहिले उहिलेका शासकहरु विरोधीलाई गद्दार करार गरेर आँखा झिक्ने, छाला काढ्ने, हात्तीलाई कुल्चाँउने, बग्गीमा घिस्याउने जस्ता अमानवीय यातना दिएर आनन्द लिने गर्थे भन्ने इतिहास पाइन्छ । शक्ति र अधिकारलाई पर्गेल्न नसक्ने पाखण्डीले न्याय र इन्साफलाई अज्माउन सक्दैन र आफ्नो विकृत मनोदशालाई विवेकहीन ढंगबाट प्रदर्शन गर्ने गर्छ । अधिकार पाएका मान्छेले आफ्नो औकातलाई बिर्सेर जथाभावी गर्दा प्रचलित मान्यता त खल्बलिन्छ नै, कालान्तरमा ऊ स्वयम् मात्रै होइन, उसको खलक समेत मटियामेट हुन सक्छ ।
आफूमा निहित राजकीय शक्तिको पहिचान गर्न नसक्ता त्यो शक्तिको आड्मा पारस शाहले कस्ता कस्ता बबन्डर मच्चाए ? त्यो शक्ति र अधिकारलाई मुलुक र जनताको हितरक्षामा सदुपयोग गर्न सकेको भए वीरेन्द्रको्र वंशनाश पश्चात स्थापित ज्ञानेन्द्र शाहको सत्ताले निरन्तरता पाउन सक्ने गुञ्जायस तुरिएको थिएन । उनी युवराज घोषित भएकै थिए । यो कडीलाई द्वारिकालालको पार्टी पंक्तिले पनि मनन र मन्थन गर्नु पर्ला । होइन र ‘द्वारिकालाल’”हरुलाई उक्साएर विरोधी र सिङ्गो मिडियालाई थर्काउने औख्याइँ गरेको हो भने त्यो प्रपञ्च प्रत्युत्पादक हुनेछ, फरकै पर्दैन ।
मातृका यादवले पहिलो चोटि मन्त्री हुँदा कम थर्कमान तुल्याए, बाफरे ! आफनै अंगरक्षकसँग समेत भीडन्त गर्न पछि परेनन् । खै किन हो, यतिबेला निकै मत्थर छन् पर्शुराम बस्नेत, शालीकराम जमकट्टेलहरुको पनि उस्तो चालचोल छैन । जनकपुरतिर मन्त्रीले सचिव पिटेकोे हल्ला फेरि चलेको छैन । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डीत मालपोत कार्यालयका फाँटतिर विचरण गर्न छोडेको निकै भो । राम्रै पो हुँदै थियो । सञ्चारमन्त्री गोकुल बास्कोटाले सञ्चारमाध्यम माथि फौजदारी कानून खन्याउन खोजेको लगत्तै इटहरीका मेयरले ढुँडी ओकले । खै यसमा के तालमेल छ, मेसो पाइएन । मेयर त अन्त पनि छन् । काठमाडौं जस्तो ठूलो ठाउँमा मेयर छन् । विराटनगर, पोखरा, वीरगञ्जमा पनि मेयर होलान् । त्यत्रा ठूला ठूला मेयरले पनि मान्छे कुटने, मार्ने बजेट तर्जुमा गर्न सकेका छैनन् क्यारे ! त्यसो हुदाँ, इटहरीका मेयर सबैभन्दा ठूला र शक्तिशाली मेयर भए त ? अझ यति हुँदासम्म उनलाई उनको पार्टी र नेपाल सरकारले दप्काएन भने, साँच्चै महान मेयर हुन् । हाम्रा अरु कुनै मेयरले नखोके हुन्छ ।


Share This Post

यो पनि पढ्नुहोस्:

Read also: