सम्पती नै सत्तरी अर्ब छ अरे, अब सबै नेपालीलाई खेद्छ अरे नि त । मेरो कान्छो नाती पनि अम्रिकामै छ ।
मलाई लाग्यो कान्छो नातीले यो सब गर्न आँटेछ, बरु आमैले अमेरिकी राष्ट्रपति ट्रम्पको कुरा पो गरेकी रैछ्रीन । ट्रम्प विजयी हुनसाथ यि हल्लाले मजैले बजार पिटे । तै मैले वास्तै नगरेको बेला आमैको यो ब्रेकिङ न्युज खासै बोरिङ थिएन ।
दुई हजार सालमा चार बर्षकी थिएँ, ताप्लेजुङबाट भुटान गयौँ, त्यहाँबाट बर्मा र बर्माबाट नेपाल आएर सर्लाहिमा बसेका हामी , धेरै घुमियो सर्लाहीमै बसेको ५५÷५६ बर्ष भयो ।
“ए भाई प्लाष्टिक छैन ?” गाडिमा कोही करायो पछाडीबाट ।
उफ गाडिमा छाद आयो भने त छ्या , म त कहिले छाद्दिन । कति गाडी चढियो कति घुमियो , खै पिलेनमा रिङ्गटा लाग्छ भन्थे, कति चढेँ । झ्यालबाट रमिता हेर्दै मख्ख, मलाइ त कहिल्यैै त्यस्तो लागेन ।
बाबु के थरी ?
“म शर्मा बाहुन ।”
ए घर कता नी ?
“हजुर अहिले त यतै तराईमै हो । पहिला पहाड पुर्वतिर ।”
ए ! ए ! के गर्नुहुन्छ ?
“पढ्दैछु, यस्सो सानोतिनो जागीर नि छ ।”
त्यै त बाबु , पढ्नु्ु पर्छ, हाम्ले त पढ्न पाएनम् । मेरो पनि माइला चैँ को छोरो पनि इन्जिनियर पढ्दै छ, काठमाडुंमा , उ आफु चैँ प्रोजेक्टमा काम गर्छ । नेत्रज्योती सुन्नु भको होला नी ?
“अँ अँ”
भयो १५÷२० बर्ष, पचास हजार त तलबै छ । साइकल दिराछ, ट्यूब फेर्न, कहिले काहीँ बनाउन सबै छुट्टै पैशा दिन्छ । पैला पैला त बुहारी पनि तिँ काम गर्थी अहिले छोडी ।
अहिले घरमा त त्यै छोरो, नातीनी , बुहारी अनि म त हो , त्यै पनि माइलालाई त काम काम काम छ, एकछिन घर बस्न भ्याउँदैन । बिचरा सब यसैले जोड्यो बाउ गैहाले ।
अनि बाबुको को को छन त घरमा ?
“म, भाइ, बहिनी, अनी बुवा, आमा त्यै ५ जना ।”
अनि श्रीमती, छोरा, छोरी ?
“हे ! हे ! बिहे नै गरेको छैन , भरखर पढाइ छ, अब जागीर नि भरखर भरखर छ । अब विस्तारै ।”
! ! ! ए ! !
मेरी नातीनी पनि भरखर पढ्दै छे । खै बि ए पास गरिसकि अरे । अब लोकसेवा पास गरेर मात्र डिग्री पढ्छु भन्छे । उतै त थी दाजुचैँ सँगै काठमडुंमा । बाबु कति पढ्दै हुनुहुन्छ ?
“म पनि डिग्री नै हो । ”
ए ! ए ! राम्री छे उन्चास सालकी हो । तर सानी देखिन्छे कलिलि । सानी त के भन्नु म भन्दा अग्ली छे, उसकि आमा भन्दा पनि अग्लै छे । चार अमल अग्ली छे हौ बाबु । बाउ पट्टी गई नै । बिचरा तगडा छे पढ्नमा । बाउको खर्च खेर जान देकी छैन । दशैँ तिहाराँ घर आउँदा पनि पढाई छुट्छ भनेर गैहाल्थी । अब लोकसेवा चैँ यतै बसेर पढ्छु भन्छे ।
राम्रा छन छोरा छोरी, बिचरा कसै संग नराम्रो बोल्दैनन् । आजसम्म कसैलाइ मुख फर्काको याद छैन ।
बाबु कहाँसम्म जाने हो र ?
“हजुर ! म विरगंज सम्म , अफिसकै कामले । हजुर कहाँ गएर आउनु भकोे ?”
ए बाबु जेठो चैँ, सर्लाहीमा खासै रमाएन उता पथरीमा ग’र बसेको छ । बिरामी परेछ, बोलाउन ग’की । चार दिन भो बाबु , अँस्ती शन्सारबार त ग’की । घरमा पनि कामै हुन्छ के गर्नु बाबु फर्किहालेँ । राम्रै छ जेठाको पनि बोर्डिङमा काम गर्छ, सियर पनि छ अर,े तीन तले घर छ बजारमै बुहारी ले राम्रो भरथेग गरी बिचरालाई । बुहारी यतैकी हो नि त । नाती पनि अम्रिका ग’को अढाइ नाघ्यो । राम्रो छ बाबु राम्रो छ ।
माइलो घरमा छ, मसँग । उसको पनि कमाइ राम्रो छ । साँईलो त झन सेठ छ सेठ । काठमडुंमा घर छ । याँ पनि टन्न जग्गा छ , दुईटै छोरा कमाउने छन ।
अलि कमजोर भनेको कान्छो हो, दुइ चोटी विदेश ग’र आइसक्यो कमाउन सकेन । तै पनि सम्पती छँदै छ , खान लाउन खाँचो छैन ।
बाबुको ब्वा चैँ के गर्नुहुन्छ ?
“सरकारी जागिरे हो, काठमडुंमै बस्नुहुन्छ, भाई, बहिनी पढ्दै छन ।”
ए ल राऽऽऽऽम्रो र’छ ।
हामी पनि बाहुनै हो, घिमिरे बाहुन । कुटुम्बै हुनुहुँदो र’छ , गाडिमा भेट भो । यसो बसेर गफ गर्न हेर्न पाए हुन्थ्यो नी ! राम्रो कुटुम्ब भेटे नातिनीको बिहे गर्दिम भनेको ।
बाबुको बिहे गर्ने के सोचेका छन ब्वा आमाले , आफैँ हेर्नुभ’को होला नै ?
ए छैन ! सोचेकै छैन,
अब सोच्नु पर्ला ।

