हाम्रो समाजमा प्रचलित एउटा कथा होइन, कुथुङ्ग्री छ –सूचीकार र मुखियाबीच बाजी परेको । धेरैले सुनेको हुनुपर्छ । सुनेको कथा सुन्न उस्तो मन पर्दैन । तर पनि अहिले चल्दै गरेको राष्ट्रिय राजनीतिको मेहेरोमा त्यस खालको तिकडम् चल्दै गरेको देखेपछि मलाई त्यसको कैरन ल्याउन छुद्दे जाग्यो ।
आजकाल लुगा सिउने पेशाधारीलाई दमाई भन्न पाइँदैन । भलाद्मीले उस्तो चासो लिदैनन् । तर पितुक रिसाउन पनि सक्छन् । मुखियाको दर्बन्दी गाउँमा छैन । सरकारले पनि हटायो । मुखियाको पद खारेज गरेपछि तिनै मुखियाहरु सिधै खर्दार भए । त्यो पछि मुखिया भनिमाग्न पनि खासै कसैले खोजन । यसरी मुखियाको औकात दुवैतिर गि¥यो ।
अँ, सन्दर्भ थियो सूचीकार र मुखिया बीचको बाजीको । मुखियाले भनेछ –तिमीलाई भनेजति बाली दिएको छ । पुउन्कीमा ठग्ने गरेको छैन । बेला बखत दर्माहा पनि दिने गरेकै छ । अनि किन फेरि कपडा चोर्छौ र साँगुरो तुल्याउँछौ हँ ? बरु बाली बढाउँला, कपडा नबिगार ।
सूचीकारले ठाँटसँग भनेछ –त्यो त मेरो कला हो मुखिया । सकिन्छ भने पक्रेर देखाऊ । चोरी फेला पा¥यौ भने म अर्मल तिर्छु ।
अर्को पटक लुगा सिउन बोलाउँदा मुखिया चोरी पक्रिन चनाखो बस्यो । लुगा छेकेर काट्ता सम्म ख्याल गर्दै रह्यो । सूचीकार लुगा सिउँदैछ । ऊ बसेर हेर्दोछ । मुखयिाले मन मनमा गम्यो –आज भने यसको बातो बस्यो ।
खाजा खाने बेलामा सूचीकारकी श्रीमती भाँड गर्दै आइपुगी –हेर न आफू भने मुखियाका घरमा मीठोमीठो हसुर्दै थर्पु जमाएर बस्ने । उता घरमा क्यै छैन । केटाकेटीलाई ख्वाउने कुरा देऊ नत्र तिम्रै थालै बोकेर हिंड्छु ।
सूचीकार झ्वाँकियो –लौ यो राँडले मलाई बिष्टका घरमा आएर सम्म बेइज्जत गरी । किन आइस् हँ यहाँ ? तँलाई नमारी छोड्दिन भन्दै जुत्ता उज्याएर बजायो । ऐया मा¥यो नि खैराँतेले भन्दै श्रीमती जुत्तै लिएर चम्तत कसी । लोग्नेले परसम्म खेदायो र आएर भुत्भुताउँदै आफ्नो काममा लाग्यो । साँझ सम्म काम गरेर सूचीकार अगिल्लो शर्त याद नभएझैं गर्दै विदा भयो ।
मुखियाले सोच्यो –घर झगडा मच्चेका बखत बाजीको कुरा निकालेर किन झिज्याउनु । बाली लिन आउँदा यसको झ्याँको झार्नु पर्ला । मुखियाले मन बुझायो –अर्मल तिर्ला नतिर्ला ज्यामन्तै होस् । तर अब कपडा घट्तैन । तर सूचीकार फर्केर नआउला कि भन्ने धरसा चैं उसको मनमा प¥यो ।
सूचीकार किन आउँदैनथ्यो । बिहानखेर टुप्लुक्कै आइपुग्यो ।
लौ यो सिरानेको खोल राख्नुहोस, मैले चढाएँ । मुखियाको हातैमा हालिदिएर सूचीकारले भन्यो । यसरी लुगा चढाएपछि बक्सिस दिनु पथ्र्यो ।
मुखियाले यसो हे¥यो –कपडा त आफ्नै पो छ । यो त हाम्रै कपडा हो, कतिखेर जिप्ट्यायौ हँ ?
सूचीकार मुसुमुसु हाँसिरह्यो । कपडाको टुक्रा खाँदेको जुत्ताले श्रीमतीलाई हिर्काएको कडी मुखियाले बुझ्नै सकेको थिएन बरा । अब बक्सिस दिनुको विकल्प थिएन ।
भर्खरै चल्दै गरेको सत्ताको खेलमा मैले ठ्याक्कै यही दृश्य देखें । संविधानलाई अक्षरशः कार्यान्वयन गराउने शर्तमा कमल थापा दलवल सहित सरकारमा छिर्नुभो । शक्तिशाली उप–प्रधानमन्त्री मात्र होइन, परराष्ट्र समेत चप्काउनु भो । देश विदेशमा आफ्नो छवि प्रदर्शन गर्नु भो । पार्टी चलाउन र आफूलाई पुग्नेजति आर्जन पनि भयो नै होला । घडा भरिएको आवाज सुन्नासाथ उहाँको पार्टीका उपाध्यक्ष केशरबहादुर विष्टले –सरकार छोड नत्र पार्टी फोड्छु भनेर डङ्का पिट्नुभो, ठिक्क समयमा सूचीकारकी श्रीमती आईपुगे जस्तै । उत्तिनै खेर थापाजी एक भव्य समारोहमा पड्किनु भो –पृथ्वी जयन्ती मनाउन किन दिइएन ? पद्यं सुन्दर लावती जस्तो हस्तिले पार्टी फोड्ने उद्योग चलाइरहँदा डेग नचल्ने कमल थापाले केशर बहादुर कड्किना साथ पृथ्वी जयन्तीको उखुर्ची निकाल्नु भनेको निर्धारित समयमा अभिनय साथ आईपुगे की श्रीमतीलाई सूचीकारले जुत्ताले हिर्काए जस्तै भएन र ? अब बक्सिस् दिनू र पठाइदिनू क्या, सकिईगो नि !
अब हेर्दै जानेस् है । चित्र बहादुर केसीको पनि आफ्नो गरिवी निवारण भैसक्यो सादय । पार्टी चलाउने बेजो पनि बसिसकेको हुनुपर्छ । संविधान कार्यान्वयन गराउने शर्तमा सपथ लिएर सरकारमा पस्नु भएका कार्की सरकारी समारोहमै संघीयता हुँदैन भन्दै हुनुहुन्छ । अब कुन दिन उहाँको उपाध्यक्ष कुर्लिने हो, ठेगान छैन । उहाँलाई पनि बक्सिस दिएरै विदा गर्नुपर्छ होला ।
उता विजय कुमार गच्छादार आफूले भने जति जमिन आफ्नो क्षेत्रमा परे मात्र संविधान कार्यान्वयनमा जुट्नु होला । यो पनि बक्सिस दिनुपर्ला । नदिए उहाँका पनि उपाध्यक्ष कमजोर छैनन् ।
अब रह्यो, सीपी ज्यू को कुरा । यद्यपि उहाँ जमिन्दारकै छोरा हो । आफू र पार्टीलाई चलायमान तुल्याइरहन साह्रै सकस थिएन पनि होला । तर पनि जमिन्दारहरुलाई निमासाङ्ली लाएर हरुवा चरुवाको शासन कायम गर्ने अभियानबाट उहाँ विचलित हुनु भएको छैन । पार्टी चलाउने खर्चको टन्टा पनि अब रहेन । अब सरकारबाट बाहिरिंदा उहाँलाई पनि ठाँगेले छुँदैन ।
अझ यसो पो भनूँ कि कसो –
संविधान कार्यान्वयन गर्ने त वहाना हो,
ढुकुटी चुल्याउने चाहना हो ।
अर्थात्
लुगा सिलाउने त वहाना हो,
कपडा जिप्ट्याउने चाहना हो ।
आफ्नै प्रतिनिधिले लेखेको र पारित गरेको संविधान जनताको तहमा मान्दिन भन्ने कसको पिताम् ? बाउँठिदा डन्डा भेटिएला । माथि तिर चाहिं संविधान कार्यान्वयनको खेलोफड्को यसरी भइरहेको छ ।

