ऐंजेरु हो बाह्रमासे ट्युसन

बिबिधविचार
458 views

Share:

हरेक बावु आमाको मनसाय आफ्ना छोराछोरीले अरुहरुलाई टपुन् भन्ने नै हुँदोहो । तपाई सचेत हुनुहुन्छ, त्यस मानेमा पनि यो भावना तपाईमा प्रवल हुनु स्वाभाविक हुन जाला । स्कुलको शुल्क बुझाउनै धौ धौ हुनेहरुका लागि सम्भव नहोला, तर तपाई सक्षम हुनुहुन्छ भने पक्का पनि नाम चलेका स्कुलमा तपाईका छोराछोरी पढ्दै होलान् । तपाईको धेय बढी अंक ल्याएर कक्षा छिचोलुन् भन्ने छ । सक्षम अभिभावकमा आफ्नो बालबच्चाप्रति यस्तो भावना हुन अस्वभाविक होइन । तपाईका बालबच्चा अरुहरुलाई जित्नका लागि विहान र बेलुकाको समयमा पनि खाली बस्तैनन् । विज्ञ शिक्षककहाँ ट्यूसन पढ्न जान्छन् । तपाइलाई लागेको होला, जति धेरै समय पढ्यो त्यति नै बढी अंक हाँसिल गर्न सकिन्छ । त्यसैका लागि तपाई ट्यूसनमा मोटो रकम खर्च गरिरहनु भएको छ । उसै पनि नाम चलेका स्कुलमा छोराछोरी पढाउन सक्दाको शान फरक छ । ट्यूसन पनि खेपेको देखाउँदा काइदै होला ।
तर दिनभरिको पढाइ अनि साँझ विहानको ट्यूसनको रटान तपाइका बच्चाले धान्न सकिरहेको छ कि छैन भनेर ध्यान दिनु भएको छ त ? म ट्यूसन प्रथाको विरोधी होइन । पढाइलाई नियमन गर्न थोर बहुत यसको पनि भूमिका रहन्छ नै, खानामा अचारको बाना मिलाए जस्तो । तर मिठो, स्वादिलो छ भनेर भातको मात्रा जति नै अचार पनि खान थालियो भने त्यसको परिणाम कस्तो होला ! अचारले पेट भर्नुको अवस्था कति पीडादायी हुँदो हो । तपाईले अहिले यति मात्रै अनुभूत गर्नुभयो भने काफी हुन्छ ।
हाम्रो जमानामा ट्यूसन पढ्ने भनेको लद्दुले मात्रै हो भन्ने बुझिन्थ्यो । कालान्तरमा अंक बढी ल्याउने होडबाजी र सम्पन्नताको प्रदर्शन, यी दुवै कडीका कारण धुधमुखे बालवालिकाहरु अहिले सजाय खेप्तैछन् । बिहान उठेदेखि सुतेसम्म पाठ्यक्रमको दलदलमा जाकिन वाध्य छन् । एकभारी पुस्कत बोकेर ठस्ठस् कन्दै स्कुल जान्छन् । दिनभर तिनलाई विषयगत शिक्षकले पालैपालो कँज्याउँछन् । छुट्टी हुन्छ । खाजा ख्वाएर तपाई फेरि तिनै शिक्षकसँग ट्यूसन पढाउन पठाउनुहुन्छ । मरितरी साँझ घर आइपुग्दा तपाई लौरो लिएर तम्तयार भइसक्नुभएको हुनुहोला । उसको होमवर्क बाँकी छ । त्यो कडाइका साथ तपाई गराउनुहुन्छ । कतै बत्ती आइहाल्यो भने उसलाई कार्टुन हेर्न पनि मन लाग्ला । उसले विहान आँखा मिच्तै ट्यूसन जानै छ ।
उस जमनाको कुरा फेरि फर्काउनु पर्छ भन्ने होइन । बालबच्चाको आफ्नो समय चाहिं खोइ त ? सवाल यो हो ।
ट्यूसनको सन्दर्भमा म एउटा पुरानो घटना कोट्याउँछु है त–
त्यो बखत, बजारका ठूला व्यापारी र हाकिम कर्मचारीका छोरी मात्र स्कुल आउँथे । गाउँका केटी पढ्न पठाउने मल्टन चलेकै थिएन । कपडा व्यापारीका छोरी राम्रा लुगामा चिटिक्क पर्थे नै, हाकिमका छोरी पनि छरिछ्ँयाट्ट भएर आउँथे । हामी गाउँले गवारहरु ती बाट टाढै रहनुपथ्र्यो ।
एउटी हाकिमकी छोरी थिई परी जस्ती । लुगा पनि हरेक दिन फरक फरक लाउने । हाम्रो त दशैंमा हालेको लुगा अर्को दशैंमा फेर्ने हो । त्यसकारण पनि कक्षामा उसको रवाफ भिन्न हुन्थ्यो नै । त्यो केटी वास्तवमा वेहद बान्की परेकी राम्री पनि थिई । पढाइ पनि राम्रै थियो क्यारे, शिक्षकले उस्तो पिटेको देखिएन ।
पम्फाको बिहे हुने भो अरे भनेर एकाएक हल्ला चल्यो । त्यो स्कुल आउन पनि छोडी । केही दिनपछि फेरि अर्को हल्ला आयो –त्यसको त बिहा बातेल भयो अरे । बुझ्दै जाँदा केटाले मानेनछ । अहिले सम्झँदा त्यो बेला मलाई निकै सकस् भएछ –थुइक्या ! मोरा हन्मत् त्यस्ती फूलजस्ती सुन्दर केटी मन नपराउने तेरो मन कस्तो ! किन बिहा गर्न मानेन ? खुल्दुली त हुन्छ नै । पछि थाहा भो –ट्यूसन पढेर पास गरेकी केटी भनेर बिहा गर्न नमानेको रहेछ ।
अहिले यो सन्दर्भ उठाइरहँदा सम्भ्रान्त अभिभावकले ओठ लेप्य्राउलान्, तर बाह्रमासे ट्यूसनले विद्यार्थीको बरियता उकास्न कदापि मद्दत पुग्दैन । 

यो पनि पढ्नुहोस्:

Read also: