तपाईलाई कुनै कार्यक्रमको निम्ता छ । निम्तै भैसकेपछि जानु त पर्छ नै । विषय तोकेर बोलाइएको छ । छलफल गर्नु पर्ला । निर्णयमा पुग्नु पर्दो हो । कसरी नजाने ? भत्तावाल कार्यक्रमको कुरा गरिरहेको छैन है म ।
माने लिनोस्, तपाईको निम्ता कार्डमा ११ बजेको समय दिइएको छ । इमान्दारीपूर्वक तोकेकै समयमा तपाई कार्यक्रम स्थलमा पुग्नुभो । आयोजक पनि तपाई जस्तै इमान्दार रहेछ भने उसलाई फेला पार्नु हुनेछ । अभिवादन, हस्तमिलान् पछि तपाईले सोध्नुहुनेछ –खै, कार्यक्रमको चाङ्फाङ् त क्यै देखिदैन ? उसले हैरान भएर जवाफ दिनेछ –यो हलको चाबी बोक्ने मान्छे नै आइदिएन यार । ऊ चाबीको चक्करमा जानेछ । तपाई त कार्यक्रमका लागि भनेर आइसक्नुभो । फर्किने कुरै भएन, पर्खिनै प¥यो ।
करिव आधा घण्टा पछि ढोका खुल्यो । एक दुईजना अरु पनि आइपुगे । आयोजक पड्किनुभो –तपाईहरु के खालको मान्छे ? फलानो खोइ त ? उनीहरुले एकसाथ भने –ब्यानर लिएर आउँछ । अनि फलानो चैं ? ऊ ब्याज लिन ग’को छ ।
१२ बज्यो । माइक चाइँचुँइ गर्न थाल्यो । सहभागी आउँदैछन् । भलाकुसारी हुँदैछ । पस्ने पस्तै छन् । निस्कने निस्कँदैछन् । तपाई त पहिलो र इमानदार सहभागी हो । चुतुर भुतुर गर्नु भएन क्यारे । धार्जे भएर बस्नु भएकै छ । तर खै कार्यक्रम शुरु हुने छाँटकाँटै छैन । घडी हेर्नुभो । पौने एक बज्दैछ । यो तपाइको चिया खाने समय हो । खप्न सक्नुभएन । तपाई निस्कनु भो । चिया खानु भो । चुरोट खानुभो र निस्कनुभो । अर्का सहभागी भेटिए । उनी हस्याङ फस्याङ् आउँदैथिए । उनले भने –के भो ? कार्यक्रम तुरियो ? तपाईले मलिन् स्वरमा भन्नुभो –थालेकै छैन । उसले ठाँट सँग भन्यो –त्यस्तो पानी मरुवाले किन कार्यक्रमको रहर गर्नु ? ऊ कतिखेर आउँदैछ । उसलाई त्यसको पर्वाह थिएन । तपाई हलमा छिर्नुभो । तर तपाईको कुर्सीमा अर्कै मान्छे बसिसकेको थियो । सबभन्दा पछाडि गएर लेपासिने भन्दा तपाईको कुनै चारा थिएन । हुन त तपाई पहिलो सहभागी हो नै । तर के गर्नुहुन्छ, कार्यक्रम अझै शुरु भएको छैन ।
उद्घोषकले माइक अँठ्याए । हल गुञ्जायमान भो –आदरणीय सहभागी मित्रहरु । अब हाम्रो कार्यक्रम छिटै नै शुरु हुनेवाला छ । तपाई आश्वस्त हुनुभो –अब भने कार्यक्रम पक्कै थालिन्छ ।
फेरि पनि कार्यक्रमको अत्तोपत्तो छैन । एकजना सहभागी चिच्याए –हन, कार्यक्रम नथाल्ने ?
आयोजकले भने –प्रमुख अतिथि आइपुग्नै लाग्नुभो । अब भैहाल्छ । नभन्दै प्रमुख अतिथि आइपुग्नुभो ।
तपाई ढुक्क हुनुभो –हँ भाई ? अब भने कार्यक्रम जम्छ ।
फेरी पनि उद्घोषक त तात्दैन । एक जना सहभागीले मुख फोरे –अब केले अड्कायो ? आयोजक महोदय मलिन् लवजमा प्रस्तुत हुनुभो –प्लिज एकै छिन्, मैले विशेष अतिथिलाई लिन पठा’को छु ।
प्रतीक्षाको अन्तिम घडी तपाई सामु ठिङ्ग उभियो । तपाईका आँखा घडीको सुईमा पुगे –ओहो २ बजिसकेछ । तपाईले हतारिने सवालै छैन । किनभने, तपाई कार्यक्रममा सहभागी हुन भनेरै आउनुभएको हो । सहभागी भएरै फर्किनु छ ।
नभन्दै विशेष अतिथि पनि आइपुग्नु भो । अबभने कार्यक्रम शुरु गर्नलाई छेक्ने कुरा तुरिए । उद्घोषकले यथोचित आशन र व्याजको व्यवस्था मिलाएपछि प्रमुख अतिथिले कार्यक्रमको उद्घाटन गर्नुभो । स्वागत भाषण सकियो । संघसंस्थाका नाइकेले शुभकामना मन्तव्य दिने कर्म चल्दैछ । उद्घोषकले विनम्र आग्रह गरे –कृपया दलहरुको तर्फबाट एकजनाले मन्तव्य दिनुहोला ।
नेताहरुको पङ्तिबाट आवाज आयो, –उसो भए एउटै मात्रै दललाई बोलाएको भए भै हाल्थ्यो । किन सबैलाई बोलाएको ?
कुरो मनासिव हो । एउटा दलका नेताले अर्को दलले बोल्ने खालको कुरो कसरी बोल्ने ? अग्रगामीले प्रतिगामीलाई कसरी समेट्ने ? प्रतिगामीले अग्रगामीको अगुवाई कसरी स्वीकार्ने ?
सबै दलका नेताले पालै पालो आफ्ना कुरा राख्तै गए । तपाई ध्यान पूर्वक सुन्दै जानुभो । ठूलो दलको नेता बोल्दै गर्दा एकजना नाम चलेका मान्छे धारिम हात र नमस्कार बर्साउँदै छिरे । उनको स्पष्टीकरण दिने शैलि यस्तो थियो कि तपाईले नेताको भाषण सुन्नै सक्नु भएन । उनी मञ्चमा उक्ले, घुमी घुमी सबैसँग हात मिलाए र सोफामा कोचारिएर बस्तै यसरी हाँसे कि सारा हल नै गुञ्जायमान् भयो । तपाईले लख् काट्नु भो –यो मान्छे यस कार्यक्रमको ठूलै खाने अतिथि हुनुपर्छ ।
अब बोल्ने पालो आयो विषयगत विद्धानहरुको तपाईलाई लाग्यो –अरुहरुका बकवास त सुनियो भने विद्धानका कुरा कसरी छुट्याउने ? हिस्ट्रीका विद्धानले हिस्टेरियाको बखान गरे । तपाईले ध्यान पूर्वक सुन्नुभो । तपाई उस्तो भेउ पाउनु हुन्थेन । सकेपछि अरुसँगै ताली बजाउनुभो । अर्का विद्धानले कार्यपत्र प्रस्तुत गर्ने पालो आयो । तपाईका आँखा बाहिर पुगे । चिमिक्क हुन लागेको थियो । तपाई उठ्नुभो र मन बाँधेर हिड्ने सुर कस्नुभो । उठेपछि तपाईले देख्नुभो –हल र मञ्च पातलो भैसकेको थियो ।
तपाई बाटो लागेपछि कार्यपत्र प्रस्तुत भयो होला । त्यस उपर कुनै विद्धानले समीक्षा पनि ग¥यो होला । ड्यासमा आसीन सबै अतिथिले मन्तब्य दिए होला । प्रमुख अतिथिले के भने ? फुर्सदिलाहरुले त सुने पनि होला । तपाईले भने सुन्न पाउनुभएन ।
तपाईले मनमनै विचार गर्नु भो –बाँकी रहेको सन्दर्भ अखबार तिर पढेर थाहा पाइएला । तर अखबारका मान्छे एउटा समाचारका लागि दिनभर र रातिसम्म कुरेर बसिदेलान् के ?
यसरी सम्पन्न हुने गर्छन् खोटाङका धेरैजसो गरिमामय कार्यक्रमहरु ।

