बेसवली बकपत्र

बिबिधविचार
594 views

Share:

राजनीतिमा पनि वेश्यावृत्ति चल्छ भन्दा सब कोहीलाई पत्याउनै हम्मे पर्ला ।
यो शब्दको उच्चारणसँगै या त हाम्रो मथिंगलमा एउटी महिलाले आफ्नो लोग्नेलाई भुस्याएर परपुरुषसँग राशलीला रचेको तस्वीर नाच्न थाल्छ, या कुनै महिलाले पुरुषलाई यौन संसर्गमा संलग्न गराएर आर्थिक लाभ लिने उद्योग गरेको कल्पना आउँछ । पुरुषले पनि वेश्यावृत्ति गर्छ भन्ने मान्यता अहिले पनि हाम्रो समाजमा छैन । तब अन्यत्र यो वृत्ति व्याप्त छ भन्दा कसरी पत्याउने !
परापूर्व कालदेखि वहुपत्नी प्रथा चलेर आएको हो । यद्यपि यो अहिले भने कानूनद्धारा निषिद्ध छ । तर पनि अवशेष बाँकी भेटिन्छ, निमिट्यान्न भएको छैन । जंगबहादुरका दुई दर्जन भन्दा बढी रानी थिए । रानीको मान्यता नपाएका रखैल कति थिए, त्यसको लेखाजोखा छैन । इतिहासले त्यसै भन्छ । ती सबै वेश्या हुन् ? होइन, जंगबहादुर चाहिं वेश्या हो । जंगबहादुरले आफ्नो यौनतृप्तिका लागि वेश्यावृत्ति गरेको हो भनेर उल्लेख गर्न कुनै इतिहासकारको पिताम् थिएन। राजा वीरेन्द्र जस्तो वंशमै शालीन् र भद्र कहलिएका राजाका पचास भन्दा बढी नानी र सुसारे मेरो आँखाले देखेको हुँ । ती वेश्या थिए ? होइन, पूर्वजले धोखाबस तय गरेको महिलालाई हेर्ने दृष्टिकोण टेढो हो ।
वेश्यावृत्ति उद्योगमा चल्छ । कुनै एउटा कारखानाले उत्पादन गरेको सामग्री जस्तै दुरुस्त बनाएर अर्कोले बेच्छ र उपभोक्तालाई ठग्छ भने त्यो औद्योगिक वेश्यावृत्ति हो ।
कुनै व्यापारीले उपभोक्तालाई अक्करमा पारेर मनचिन्ते मोल अशुल्छ वा मिसावट गरेर परिमाण बढाउँछ भने त्यो व्यापारिक वेश्यावृत्ति हो ।
शिक्षकले विद्यार्थीलाई चुरोसम्म पाठ छिचोलाउँदैन र आफू ओभानो पल्टिनका लागि परीक्षामा आफैं चिट् गराउँछ भने त्यो शैक्षिक वेश्यावृत्ति हो ।
घुस लिने र दिने दुईटै वेश्या हुन् ।
वेश्यावृत्तिले न त कुनै परिवार सग्लन्छ, न समाज वा राष्टू उँभो लाग्छ । यो वृत्तिबाट कुनै व्यक्ति विशेष मालामाल बन्ला, तर समाजले गति पाउन सक्दैन ।
तपाईलाई वेश्यावृत्तिमा लिप्त कुनै युवतीको नखराले तान्यो र तपाई लहसिनुभो । तपाई आफ्नो परिवारबाट लुकेर यो क्रम बारम्बार दोहो¥याउनुहुन्छ । यसबाट तपाईको परिवारको हित र उन्नयनमा कति गिरावट आउला, तपाई ठम्याउन सक्नुहुन्न नि । नाकावन्दीको अवसर छोपेर आयल निगमका कर्मचारीले आयल निगमकै तेल चोरेर बेचे । यो तपाईले गरेजस्तो वेश्यावृत्ति भएन र ? तपाईले गरेको वेश्यावृत्तिका कारण तपाईको परिवार छिन्नभिन्न हुनसक्छ भने आफ्नै कर्मचारीले तेल चोरेर बेचेपछि निगम त धरासायी बन्छ नै । यस्ता वेश्याचित्त भएका मान्छेलाई आफ्नै धरातल भासिएको समेत हेक्का हुँदैन । आफ्नै घरको दैलो चिरेर ठिही भगाउन बेर लाउँदैन ।
अब म नेपालको उपल्लो तहमा चल्दै गरेको राजनीतिक वेश्यावृत्तिको एउटा सानो लहरो तान्छु है त !
चित्रबहादुर केसी । तपाई उहाँलाई चिन्नुहुन्छ । चिन्दिन भन्नै पाउनुहुन्न । किनभने, तपाई हाम्रो न सही, नेपाल सरकारको उपप्रधानमन्त्री हुनुहुन्छ । उहाँको सिद्धान्त पनि तपाईलाई थाहा छ । जान्दिन भन्न पाउनुहुन्न । किनभने नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र नामाकरण गरे लगत्तै उहाँ र उहाँको दल संघीयताको विरुद्धमा उभिदै आएको हो । हो कि होइन ? संविधान घोषणा हुँदै गर्दा उहाँ भन्दै हुनुहुन्थ्यो, नेपालको धरातलमा संघीयता फिट नै हुँदैन । यो प्रावधान बातेल गर्नुपर्छ ।
अलिकपछि एमालेको अगुवाईमा सरकार बन्यो । सरकार के का निम्ति बन्यो भने संविधान कार्यान्वयन गर्न र संविधान बमोजिम् संघीयतालाई स्थापित गर्नका लागि बन्यो । यो सरकारको पहिलो अनि अन्तिम काम नै यही हो ।
तपाईले देख्नुभयो होला । मैले पनि देखें, सुनें । उहाँले औपचारिक राष्ट्रिय पोशाकमा ठाँटिएर बकाइदा उपप्रधानमन्त्री ओहदाको सपथ खानु भो । सपथको लवजमा पदीय गोपनीयतालाई आत्मसातगर्दै सरकारले तय गरेका नीति तथा कार्यक्रमलाई निष्पक्षता पूर्वक कार्यान्वयन गर्छ भन्ने कवुलियत हुन्छ सायद । तर उहाँको दलले त आफ्नो नारा छोडेकै छैन । उहाँ पनि बेलाबेला तन्द्रामा बर्बराए झैं भन्दै हुनुहुन्छ
–नेपालमा संघीयता त फाप्तैन बाबै ! धतुङ्गाउनु भ’को हो ? ज्याला लिएर खेत जोत्न गएको हलीले गोरु नारेपछि यहाँ त जोत्नु हुँदैन, नाग रिसाउँछ भन्यो भने जग्गाधनी मान्ला ? माननीय केसीज्यूलाई जनताले संविधानको रचना गर्नका लागि संविधानसभामा पु¥याएको हो र घोषित संविधानलाई लागू गर्नका लागि सरकारले उपप्रधानमन्त्रीको सपथ खुवाएको हो । आन्दोलन गर्दा गर्दा थाक्नुभो बरा ! भनेर राहत उपलब्ध गराएको त होइन क्यारे । गरिवी निवारण मन्त्रालय पनि छ उहाँको मातहतमा । त्यो पनि उहाँको आफ्नै गरिवी निवारणका लागि सुम्पेको होइन क्यारे। तर जनताले भरोसा के आधारमा लिने ? सिलसिला यस्तै चल्दै जाने हो भने सवाल यो पनि उठ्न सक्छ ।
कमल थापा । उहाँलाई पनि तपाई उसैगरी चिन्नुहुन्छ । उहाँको हकमा पनि मिल्दोजुल्दो माथिको व्यहोरा तपाई आफै यहाँ कपी गर्नुहोस् ।
उहाँ पनि धार्मिक स्वतन्त्रता सहितको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रभावशाली उपप्रधानमन्त्री हुनुहुन्छ । तर उहाँको दल भन्दैछ (त्यसो होइन, संवैधानिक राजतन्त्र सहितको हिन्दू अधिराज्य नेपाल ।
विजयकुमार गच्छदार । उहाँलाई को नचिन्ला ? मौजुदा मन्त्री परिषदमा सबैभन्दा अनुभवी, भुक्तभोगी र पुरानो मन्त्री । उपप्रधानमन्त्री । उहाँ पनि घोषित संविधानलाई अक्षरशः लागू गराउने सपथ लिएर सरकारमा सम्मिलित हुनुभएको हो । तर अब उहाँको दललाई झापा, मोरङ, सुनसरी आफ्नै कब्जामा चाहिदैछ । गजब के भने, जनताको ढुकुटीबाट तलव भत्ता पनि पाइदैछ । हो, उहाँहरुबाटै संविधानको सफल कार्यान्वयन हुँदैछ ।
यो त केवल केही अब्बल प्रतिनिधि पात्रको वुँदागत वृतान्त मात्रै हो ।
तपाईले कुनै युवतीसँग मोजमस्ती गरेको भेद तपाईकी घरवालीले बुझिन् भने कसो होला ? पतिब्रता धर्मले अँचेट्ला ? कामना गरौं, छाली चप्काउन गएका नेता र दलबीच त्यस्तो भन्डेवल नउठोस् ।
दुर्भाग्य, कूटनैतिक क्षेत्रमा समेत नेपालले यसपाला वेश्यावृत्तिको अपसकुन् झेल्नु प¥यो, वैरागी काँइलाको आयामेली कविता जस्तो–
‘यी आगोका फूलहरु हुन्,
यी आगोका फूलहरु होइनन्
नाकावन्दी भएको हो, नाकावन्दी भएको होइन ।’ 

यो पनि पढ्नुहोस्:

Read also: