कफी गड/ Coffee God

Share:

ओजोन बाबु उर्फ आलोक शर्मा ।

अनि त्यसपछि देवादीदेव महादेवले समुन्द्र मन्थन गर्नु भयो । त्यसकालमा ब्ल्याक कफी नभेटेर भौँतारिएका महादेवले कालकुट बिषको स्वादमा सिङ्गै समुन्द्र सिध्याउँदा भए ।

अचानक यता पृथ्वीलोकमा महाप्रलय भयो । सम्पुर्ण जीव जीवाशेष, भौतिक अभौतिक सबका सब नष्ट हुँदा भए । हिमाल पहाड सम्म , जल थल सबै एकाएक विलिन हुँदा भए ।

जसरी सत्ययुग, वा द्धापर वा त्रेता युग सकिए र हाम्रो यो युग आयो ।

त्यसबेलाका युगमा भएका देवाधिदेवले, जन थिए भने जन,  सबै सबैले म अर्को युगमा गएर के बन्ने भन्ने रोजे । जस्तै त्यसबेलाका शिवजीले रोजे कि “ म महादेव बन्ने ” एवं रितले रोज्दा भए । कोही राक्षस भए , कोही ऋषी भए , कोही अप्सरा भए , कोही देवी भए । आफ्ना आफ्ना रोजाइ, रोजाइका बाध्यता ।

हामी पृथ्वी लोकमा मान्छे भयौँ । सायद कैयौँ किरा, फट्याग्रां , जनावर आदीले मान्छे हुन पाउँ भनि रोजेका हुन सक्छन । वा कतिका बाचा ले बन्धनमा परेका हुन सक्छन । जस्तै सात जुनी वाला बाचा । एवं यस्तै रुपले जसले जे माग्यो तिनका माग अनुसारका भगवान, राक्षस, अप्सरा, देवी, मानीस, जीव, वनस्पती, खोला, माटो, ढुङ्गा भए हुनन् । र अन्ततः पृथ्वीको प्रलयको समय आयो । जुन आउनु नै थियो । र अहिलेका  मानीस, जीव, वनस्पती, खोला, माटो, ढुङ्गा लगायतले फेरी अर्को युगका लागी तयार हुनैपर्ने भयो।

अवश्य पनि पृथ्वीलोकमा आएको प्रलयले सबै सखाप भएपछी अर्को युग , अर्को लोकको सुरुवात भयो ।

यो युगमा धीत मरुन्जेल मनुवा जुनी बाँचेको र प्रलय आएर सखाप भएकोमा एकदम खुसी भएको मैले बताएँ । पृथ्वी लोक कै महापरिनिर्वाणको ठ्याक्कै काल भोग गर्न पाउनु अहोभाग्य भएको पनि बताएँ । र यही कालसँग मेरो सात जुनी समाप्त भएको अनुमान पनि बताएँ ।

अब यो युग सकियो र अर्को युग नै सुरु हुने हो भने त,  त्यस युगमा मेरो भगवान हुने इच्छा प्रकट भयो ।

र कफीको स्वादप्रती मेरो आत्मीक मोहले म “कफीगड” हुने पक्का पक्की नै भयो ।

गड

वाह ! अबको नयाँ युगमा कफीगड हुनेछु । कफीको रुखहरुको छाहारीमा मेरो आश्रयस्थल हुनेछ । श्रद्धालु भक्तजनहरु मरो मुर्तीमा कफीको पाउडरले पुज्नेछन । कफिका पातहरु पवित्र मानिनेछन । पुजा सामाग्रीको रुपमा कफीका पात, कफीको धुलो र कफी फ्लेवरका अगरवत्तीहरु प्रयोगमा आउनेछन । कफीधुलोमा अक्षता मुछेर टिका लगाइनेछ । विवाहता नारीले सिउँदोमा विशेष प्रकारको कफीधुलो लगाउनेछन ।

होमादी यज्ञमा कफीका दाउरा पोलिनेछन । कफीगडका नाममा भजनहरु तयार हुनेछन । भक्तजनहरुले कफीगडका नाममा मन्दिरहरु निर्माण गर्नेछन । गफीगडको मन्दिरको नाम क्याफे हुनेछ, कफी क्याफे । “कफी क्याफे”हरु पवित्र धार्मिक स्थल हुनेछन ।

कफीको रुख पवित्र रुख मानिनेछ । युगको सुरुवात भएको विशेष दिन सम्झेर हरेक साल मनाउने चाडमा चौतारीमा कफी रोपिनेछ ।एकादशीमा कफी र चियाको विवाह गराइने परम्परा बसाइनेछ ।

भजनगानपछी भक्तजनहरुलाइ पंचामृतको रुपमा डबल सट एस्प्रेसो बाँडिनेछ । अलिकती टाउकोमा छर्किएर त्यसलाई भक्तिपुर्वक पिउनेछन भक्तजनहरुले ।

भक्तजनहरुको माग पुरा गर्ने विश्वासिलो भगवानको रुपमा कफीगड प्रसिद्ध हुने कुरामा शंकै रहेन ।

भक्तजनहरु कफीगडको पवित्र मन्दिर क्याफेमा गएर कफीगडको मुर्तिमा कफीजल अर्पण गर्नेछन र प्रसादको रुपमा आफूले पनि ग्रहण गर्नेछन् ।

भक्तजनले  क्याजुअल्ली दर्शन गर्दा नर्मल कफी अर्पण गर्लान , केही स्पेसिफिक वरदान भए पक्कै अमेरिकानो डबल लिएर आउलान । अत्यन्त समस्यामा रहेका र कफीगडको कृपाले मात्र उनिहरुको समस्याको डुङ्गा पार लाग्छ भन्ने विस्वास गर्ने भक्तजनहरु पक्कै डबल सट एस्प्रेसो चढाउलान वा चढाउने भाकल गर्लान ।

क्यापचिनो टाइप्स कफीगडलाई खासै मन पर्दैन भन्ने थाहा पाउन कफीगडको महात्म्य पढेकाहरुले कफीपुराण पक्कै सुनाउलान । या खोजी खोजी पढ्लान ।

 

 

कफीगड महात्म्य –  कफी पुराण–    सर्ट हेण्ड शैलिमाः

कफीगड बच्चैदेखी कफी पिउनु हुन्थ्यो रे । उहाँ पाँच बर्ष पुग्दा नपुदै कफीस्वादको अम्मली भैसक्नु भाथ्यो रे ।

कफीको स्वाद चाख्‍न कफीगडले गरेको कफी यात्र निक्कै रोमाञ्चक हुन्थ्यो रे । सिर्फ कफी पिउन मात्रै कफीगड ३/४ दिनको यात्रा तय गर्नु हुन्थ्यो रे , र त्याहाँको कफी नसिध्याउन्जेल फर्किनु हुन्नथ्यो रे ।

कफीगडले कसैलाइ बाचा गर्नुपर्यो भने वा ढुक्क गराउनु पर्यो भने  “ब्ल्याक कफीको प्रमिस” दिनुहुन्थ्यो रे ।

कफीगड कफी पिउन थालेपछी यस्तो पिउने, यस्तो पिउने, यस्तो पिउने की नन् स्टप पिउने रे । कफीगडले कफी पिउन  प्रयोग गर्ने गिलासलाइ प्याला भनिन्थ्यो रे । रित्तो प्यालाले कफीगडलाइ बोर मात्र बनाउँथ्यो रे ।

कफीगड एकदम कम बोल्ने र धेरै मान्छेहरु सँग सँगतै नगर्ने स्वभावको हुनुहुन्थ्यो रे । कफी नपिउने मनुवाहरुसँग त गडको दोस्तीनै जम्दैन थियो रे । कफी पुराणको पूर्ण पाठ कफी दिवशको दिन हरेक क्याफेहरुमा पाठ गरिन्छ । कफी पुराण अध्यायन गर्न चाहाने कफीभक्तजनहरुले नजिकका क्याफेबाट लिन सक्नुहुनेछ ।

किस्साजः

युवा भक्तजनहरुमाझ त कफीगडका अनेका उटपट्याङ किस्साहरु समेत फैलिएका भेटिन्थे । यतिसम्म कि, गडका दाह्री जुङ्गाले उहाँलाइ कफी पिउनै छेक्थ्यो रे ।

एकताका कफीगडकी सुन्दर प्रेमिका थिइन रे । उनले गडलाइ असाध्यै माया गर्थिन रे । तर गडको बहुला पाराको कफी पियाइ देखेर आजित हुन्थिन रे । हुँदा हुँदा यही विषयमा दिनहुँ जस्तो हल्का हल्का भनाभन भनाभन भैराखेपछी उनले कफीगडलाइ नै छोडिदिइन रे । कफीगडका साथीहरुले गर्लफ्रेण्डले धोका दिएको जिनिस भनेर बहुत जिस्काएपछी , त्यसलाइ धोका भन्न मिल्दैन भनेर ब्ल्याक कफीको प्रमिस नै खानु परेको थियो रे ।

कफीगडसँग दोस्ती गर्न एउर्ट शर्त थियो रे – कफी पिउनु पर्ने । एकदिनको कुरा रहेछ,  एक महोतर्माले कती तितो कफी पिउनु हुन्छ , तितो कफी पिउँदा पिउँदा तपाइँको त मनै तितो भैसक्यो होला, बरु रक्सी पिउनुस भनेपछी गडलाइ झन तितो लागेछ , जुरुक्क उठेर हिडिदिनुभएछ ।

यस्तै यस्तै किस्साहरु ।

गडड्रिम्सः

कालान्तरमा आफ्ना कफी यात्रा , कफी जिन्दगी , कफी महात्म्य सुनाउन  तथा संसारभरका कफीका स्वाद ती लोकका मनुवाहरुलाइ चखाउन;  हिमालको फेदमा, कफीको ठूलो जंगलको बीचमा एउटा कफी भञ्ज्याङ बन्नेछ । कफीगडले आफू जिवित छँदै आफ्नो चिहान बनाएर त्यहीँ कफी सप खोलेको त माहाचर्चा छ ।

कफीको फेदमा आफैले बनाएको चिहानमा कफीको प्याला समाइराखेकै अवस्थामा गड समाधिस्थ भएपछि त्यो कफी भञ्ज्याङ , त्यो चिहान र त्याँहाको कफीसपमा कफीगडका भक्तजनहरु जिन्दगीमा एकपटक पुग्नै पर्ने विस्वास राख्‍नेछन । कफीगडका भक्तजनहरुका लागी गडको सबैभन्दा ठुलो धामै त्यै हुनेछ ।

 

नवयुगः

उता नवयुगमा कफीप्रती आश्था भएका शासकहरुले आफ्नो क्षेत्रको नामाकरणै कफी ग्राम, कफी सिटी वा कफीपालिका भनि घोषणा समेत गर्नेछन । साथै आफ्नो क्षेत्रका हरेक जनताको घरमा कमसेकम एउटा कफीको विरुवा रोप्न उर्दी नै जारी गर्नेछन ।

भक्तजनहरुले त घरघरमा कफीमठ नै बनाउनेछन । कफीगडलाइ बिहान पुजा गर्नु पर्दैन । मध्य दिउँसो , साँझ र मध्यरातमा कफीजल चढाए पुग्छ । अझ साँझमा गडको मुड खुसी हुने टाइम हो भनेर , साँझको समयमा भक्तजनहरुले विशेष पुजा आरधना गर्नेछन ।

कफीगडको पुजा आरधाना गर्ने , व्रत लिने वा कफी जल चढाउन मुख धुनुपर्ने वा शुद्ध हुनुपर्ने जस्तो त्यस्तो खास विधीविधान केही हुने छैन । वश कफीजल चाहीँ विशेष तरिकाले तयार गरिनु पर्छ भन्ने सबै भक्तजनहरुको साझा बुझाइ हुनेछ ।

शुक्रवार कफीगडको प्यारो बार भएकोले  भक्तजनहरु कफीबारको रुपमा मनाउँछन । आफ्ना आफन्त , नातागोताहरु भेला भएर विभिन्न स्वादका कफी पिउँदै रमाउँछन । कफी जाज, कफी रक, कफी पप वा कफी लोक भाकाका भजनहरु गाउँछन रमाउँछन । टाढा भएका श्रीमान , प्रेमी हरु वा श्रीमती , प्रेमिकाहरु फोनमा वा मेसेजमा कफी पियौ भनेर सम्झिन्छन ।

कफीगडलाइ युवायुवती ले त प्रेमका देवता भनेर पनि श्रद्धा गर्छन । प्रेमप्रती गडको उदारता , लगाव हरेक प्रेमी प्रेमिकाको मन्त्रनै हुनेछ । शुक्रवारका दिन कफीसप (कफीगडको मन्दिर) मा कफीजल अर्पण गरेर आफ्नी प्रेमिका वा प्रेमी खुसी बनाइदिने वरदान माग्नेछन । कफीगडलाइ सबभन्दा मन पर्ने माग हो यो । भक्तजनको आँखा खुल्नै नपाइ , आँखा चिम्लेर तथास्तु भन्नुहुनेछ गडले ।

क्याफे जानै नपाएपनि शुक्रवार प्रेमी प्रेमिकाको पवित्रबार , प्रेमबार भनेर सेलिब्रेशन गर्छन । मन पराएका युवा युवतीलाइ प्रेम प्रस्ताव राख्छन । शुक्रबार(कफीबार) प्रेम प्रस्ताव राखे स्विकार हुने र प्रेम अमर हुने कुरा युवा युवतीहरुको विस्वास रहने छ ।

नवयुगको कुनै प्रान्त , शहर देशमा एउटा नदी बग्छ । जुन “कफी नदी” को नामले प्रसिद्ध कहलिने छ । आफ्नो जिवनमा कफीगडको केही फेवरेट चिज थियो भने त्यो हो – ढुङ्गा । त्यस कफी नदीको गहीराइमा गडको फेवरेट ढुङ्गा भेटिनेछ ।

कैयौँ देशमा फैलिएका गडका भक्तजनहरु त्यस नदीमा घुम्न आउँनेछन । नदीमा डुबुल्की मारेर ढुङ्गा निकाल्नु भक्तजनका लागी पवित्र कर्म हुनेछ ।

कफीगडको सम्मानमा नवयुगको कुनै देश जहाँ कफीगडका भक्तजनको ठुलो वाहुल्यता छ । त्यहाँ फेब्रुअरी महिनाको कुनै दिन कफी डे घोषण गरिनेछ । त्यो दिन सार्वजनिक विदा हुनेछ ।

कफी गडका भक्तजनहरु कफीगड की देवी खै त भनेर अनेक अनुमान लगाउनेछन । के कफी गडकी देवी थिइनन् त , सम्झेर भक्तजनहरु च्वः च्वः च्वः गर्नेछन । वा नवयुगका विन्दाशीहरुले कफीगड कती विन्दाश वा कुल गाइ रहेछ भनेर झनै धुरुनधार भक्तीभाव देखाउलान ।

र नवयुगमा कतै भक्तजनहरुः कुनै कुराको पक्‍का पक्‍की गर्नुपर्यो वा बाचा कसम खानुपर्यो भने “ ब्ल्याक कफीको प्रमिस ” भन्नेछन ।

कफीगडको……………………..जय !  !!

Tags: कफी
यो पनि पढ्नुहोस्:

Read also: