कृष्ण आचार्य
डाक्टर ठूलो कि डाक्टरका बाबु वा आमा ? अर्थात, निर्वाचित जनप्रतिनिधि ठूलो कि उसलाई टिकट दिने पार्टीका नेता ठूला ? कुनैपनि औपचारिक कार्यक्रमका आयोजकलाई आसन ग्रहणका क्रममा यो अकरिलो सवालले गाँज्ने गरेको छ । चतुर सञ्चालकले त विशेष, विशिष्ट, वा अतिविशिष्ट जस्ता विशेषण गाँसेर पनि उपस्थित अतिथिलाई फुल्याउने गर्छ । तर यस्तो पाल्सी खेल्न नजान्ने सञ्चालक प¥यो भने समारोहको साङ्गे गर्नै हम्मे पर्ने गरेको छ । अतिथि आसन ग्रहण नमिलेकै कारण कतिपय महत्वपूर्ण अनुष्ठान भाँडिएका उदाहरण निकै छन ।
साविकको दिक्तेल नगरपालिकालाई खुला दिशामुक्त क्षेत्र घोषण कार्यक्रम प्रमुख अतिथि को हुने भन्ने बखेडा निकालेर एक वर्ष पछि धकेलियो । आफु प्रमुख अतिथि हुन नपाएको झोंकमा कतिपय ‘माननिय’हरु उपस्थित हुन मानेनन् । जसै तसै घोषण भयो त्यो अभियानको बिट म¥यो । टुङ्गियो ।
हाम्रा धेरै जसो कार्यक्रममा काठमाडौं, बिराटनगर वा धनकुटा तिरबाट प्रमुख अतिथि पात्र झिकाउने चलन छ । आयोजकलाई आफ्नो कार्यक्रममा ठूला मान्छे ल्याउन सके ऊ बाट केहि प्राप्ति हुन सक्ला भन्ने आश पनि हुँदो हो । ठूला मान्छेले उद्घाटन गरेको कार्यक्रम बढी नै प्रचारित हुने त छँदैछ, आयोजकको नाताले तिनको चाकरी बजाउने अवसरको रुपमा पनि उपयोग गरिन्छ, सायद यस्ता कार्यक्रमलाई । अन्यथा, उपस्थित भएका मध्येबाट वरिष्ठताका आधारमा प्रमुख अतिथि मुकरर गर्दा के विझाँइ होला र ?
तर आयोजक मान्दैन । जसले जति ठूलो मान्छे लिएर आउन सक्यो, उसको हैसियत उति नै उच्च हो भन्ने मान्यता हाम्रो समाजमा जगजाहेर छ । यस मानेमा समुदायमा आफ्नो रोव प्रदर्शन गर्नकै लागी भए पनि संस्थाको कोष खर्च गरेर आयोजकले प्रमुख अतिथि खरिद गर्ने गर्छ ।
उत, प्रमुख अतिथि भनाउँदा समयमा आइदिए त ठिकै हो । आउँदैन । अनेक वहानामा ऊ ढिलाई गर्दै रहन्छ । निर्धारित समयमा भेला भएका सरोकारवालाले उसका लागी घण्टौँ कुर्नु पर्ने हुन्छ । निर्धारित समयमा आईपुग्न नभ्याउनेले आतिथ्य किन स्विकार गर्ने ? उसले नभ्याए अर्कोले भ्याउँछ । त्यसो नभएर कार्यक्रममा उसको उपस्थिति अपरिहार्य नै रहेछ भने पनि ढिलै आसन ग्रहण गर्दा केहि फरक पर्दैन । अतिथि भनेको पाहुना हो । पाहुनालाई जुनसुकै बखत आउन पाउने छुट हुन्छ । उसलाई पर्खेर मानिसहरुको समय किन वर्वाद गर्ने ? अहिले सम्म ज्यमन्तै भयो, अवका आयोजकहरुले यो कडि बुझ्न जरुरी छ । के प्रमुख अतिथिसंग मोवाईल फोन छैन र मानिसहरुलाई घण्टौँ कुराउँछ ? खबरदार आयोजकहरु । सम्भव हुन्छ । कार्यक्रमको निहुँमा ठूलो मान्छेलाई चाकरी बजाएर आफ्नो दुनो सोझ्याउने प्रथाको उन्मुलन गरौँ । सकिदैन भने पनि प्रमुख अतिथिलाई निर्धारित समयमा उपस्थित हुनै पर्ने गरी सम्झौत गरौँ ।
कुनै पनि कार्यक्रम समयमै थाल्नु पर्छ र समय नघट्कीकन तुर्नु पर्छ । यो उन्नत, सभ्य र प्रगतिशील समाजको अपरिहार्य शर्त हो । कुनै सामन्तको दर्शनका निम्ती मानिसहरु कुडुँलो लागेर ठिङ्ग्रिनु पर्ने जमाना हो र यो ? के ठान्छन हँ नेपालका कथित ठूला मान्छे आफुलााई ? जनताको समय बेकारमा बातेल गरिदने हक छ तिनलाई ?
स्थानिय स्तरमा टड्कारो रुपले खट्केको सन्दर्भ मैले शुरुमा उठाएको सवाल पनि हो । सार्वजनिक समारोहमा पार्टी संगठनका नेतालाई प्राथमिकता दिने कि जनप्रतिनिधिलाई ? सरकारले तय गरेको मर्यादाक्रमले यसलाइ पर्गेल्दैन । पालिका प्रमुख र जिल्ला पार्टी संगठनको कुनै नेताबीच कसलाई ठूलो मन्ने ? यो अन्यौल सर्वत्र छ । त्यसैले यसलाई ठम्याउनकै लागी मैले डाक्टर ठूलो कि उसका बाबु, आमा ? भन्ने प्रश्न उभ्याएको हुँ । उपचारको हकमा विरामीका निम्ती डाक्टरसँग सरोकार रहन्छ, उसका बाबु आमासंग होइन । डाक्टरका बाबु आमा डाक्टरका लागी बहुत ठूला हुन । तर तिनले विरामीको उपचार त गर्न सक्तैनन् त्यसकारण सार्वजनिक कार्यक्रमहरुमा आम जनताले मत दिएर जिताएका प्रतिनिधिलाई प्राथमिकता दिनु वाञ्छनीय हुन्छ । ती आम जनताका मान्छे हुन । भलै उसलाई कुनै पार्टीले टिकट दियो त्यो पार्टीको नेता उसको लागी ठूलो होला । तर अब ऊ त्यो पार्टीको मात्रै होइन । उसलाई जुन पार्टीले टिकट दियो त्यो पार्टीको नेता उसको लागि ठूलो होला । आमजनताले पनि उसैले झैँ उसलाई मान्नुपर्छ भन्ने छैन ।
भर्खरैको एउटा समारोहमा आसन ग्रहण गराउने क्रममा उद्घोषकले कुनै एउटा पार्टीको जिल्लास्तरको नेतालाई पहिला आसन दिएर त्यो पछि पालिका प्रमुखलाई आमन्त्रण गरे । काक्ताली के परेछ भने, त्यही पदमा चुनाव लड्दा यी दुई बीच हार जित भएको रहेछ । हार्नेलाई माथी जित्नेलाई तल कसरी भयो ? सवाल उठ्यो उठेन ? जित्ने त स्थानीय सरकार प्रमुख पनि हो । त्यसकारण टिकट पाउने वा नपाउने जो कोही कार्यकर्ताका लागी उसको नेता ठूलो होला आम जनताका लागी होइन ।
पार्टीका आन्तरिक कार्यक्रममा जसलाई जहाँ राखियोस, तर सार्वजनिक कार्यक्रमहरुमा आम जनताले चुनेका उनीहरुका प्रतिनिधिलाई जनताको नजरबाट ओझेल पार्न कदापि पाइँदैन ।

