सुनकेशरी

वाङ्गमय
3K views

Share:

ओजोन बाबु

“सर्वप्रथम त मेरो नमस्कार ! म राजन खतिवडा । यहाँ बसिरहँदा पालन गर्नुपर्ने केहि नियमहरू हुन् ः– आपसमा गफ गर्न मनाहि छ । फोटो खिच्न पाइन्छ, भिडियो खिच्न पाइन्न, फोटो खिच्दा कृपया फ्ल्यास प्रयोग नगरिदिनुहोला । पछाडीबाट आवाज आयो –      ” हाँस्न पाइन्छ ………….?                “पाइन्छ पाइन्छ” ।

मण्डला थिएटरमा सुरु भएको नाटक ‘सुनकेशरी’ मञ्चन हुनुभन्दा अगाडी यसरी भुमिका बाँड्दै थिए उक्त नाटकका निर्देशक । संस्कृतिविद सत्यमोहन जोशीद्धारा लिखित ‘सुनकेशरी’ कर्णाली प्रदेशको प्रचलित लोककथामा आधारीत नाटक हो । एउटी सुन्दर यूवतीले आफ्नो सुन्दरताको कारण भोग्नुपरेको तीतामिठा संघर्ष तथा अनुभवहरुको कथालाई नाटकमा बुनिएको छ । “सत्यमोहन सरको यो नाटकलाई हामीले पहिले पनि मञ्चन गरिसकेका हौं । यो नाटकलाई म स्वयं (राजन खतिवडा) ले निर्देशन गरेको हु” ।

नाटक सुरु हुन्छ ।

मैले धेरै पटकको काठमाण्डौ यात्रामा थिएटर छिर्ने प्रयत्न नगरेको त होइन गर – नाटक हेर्ने मेरो कैयौ नाटक महोत्सवका अवसर आए पनि पूरा भएको थिएन । भाद्र १४ को साँझ ‘मध्य पहाडी यातायातको’ नाइट बस चढ्नु थियो काठमाडौबाट । १४ कै बिहान एउटा कल बोल्यो– आजदेखी मण्डलमा ‘सुनकेशरी’ सुरु हुँदैछ । मनलाई तराजुमा हालेर मैले मध्य पहाडीको यात्रा क्यान्सील गरें र ठिक बसपार्क पूग्नुपर्ने समयमा पूगें मण्डला थिएटर ।

सन् २००९ मा स्थापना भएको मण्डला थिएटरको विषयमा बेलाबेलामा सुनेको भएपनि मेरो साईत जुरेको थिएन यसबेलासम्म । झन रङ्गकर्मिहरू फिल्म बाट धमाधम हिट हुनथालेपछी त यी रङ्गकर्मिसंग थिएटरमा, मञ्चमै साक्षात्कार गर्ने हुटहुटी नै थियो – पूरा भयो ।

कलिला कलिला अनुहार बढी थिए मञ्चमा । अनुहार रातो पिरो थियो, लजाए क्यारे भन्ठानें । के के हुन्थ्यो – लाइटको कमाल रहेछ । मञ्चको ठिक माथी लाइटको सम्मेलन नै थियो । प्रसंग सँगै विभिन्न लाइटहरु बल्दै निभ्दै थिए । ‘सुनकेशरी’ को कथा बँहदै गर्दा अचानक हलमा छिरे बुढा मान्छे । दौरा, सुरुवाल, कोट, कालो नेपाली टोपी पहिरिएका बुढालाई मैले धेरै पटक देखेको हुँ – फोटोमा, टि.भी. मा सुनेको, पढेको त कत्ति हो कत्ति । यि बुढा नाटक खेल्न हलमा छिरेका होइनन् – यि त नाटकका जन्मदाता पो । ‘सुनकेशरीका’ जन्मदाता–संस्कृतिविद ‘सत्यमोहन जोशी’ लुसुक्क पसे, टुसुक्क बसे । नाटक मञ्चिरहेछ ।

एक घण्टा ४५ मिनेटका नाटक सकियो । नाटक सकिनसाथ लाइन गयो काठमाडैंमा । नेपथ्यमा कोही सुनियो “एकछिन है जेनेरेटर चलिहाल्छु ।” मैले सोचें नाटक कै अंग हो, तर उसबेलाको कर्णाली प्रदेशमा लाइन जाने प्रसंग कहाँबाट नाटकमा छिराउनु । सुनसान भयो, अन्धकार भयो । अघि चिच्याई–चिच्याई कराउने कलाकार पनि चुप थिए । हलमा सन्नटा छ मानौं कोहि छैन । खास खुस पनि छैन । थोडी न चलचित्र भवनका दर्शक हुन । सत्यमोहन जोशी पनि देखिनै छाडे, म अघिदेखी नै सत्यमोहन लाई नै हेरीरहेको थिएं ।

पात्रहरू भेला भए मञ्चमा, सुनकेशरी पनि थिइन बिचमा “साँच्चै सुन्दरी” राजन खतिवडाले सत्यमोहन जोशीलाई खादा ओढाएर सम्मान गरे । टिकट किनेर नाटक हेरीदिनु भयो – धन्यवाद । कृपया नाटक कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला, हामी आमने सामने छौँ । फेसबुक छ, प्रबिधि छ, बोल्दै थिए खतिवडा । बाठा रहेछन ।

बाहिर निस्कँदा खतिवडा, सत्यमोहन र दयाहांङ्ग राई गफिदैं थिए । नाटक चलिरहँदा लाइटिङमा समस्या भएछ, भनौं न लाइटमेनबाट मिस्टेक भएछ । यस्तै बुझेँ । यहि विषयमा छलफल हुँदै थियो उनिहरुबिच । दयाहाङलाई लुट बाट डेब्यू गरेको थिएँ मैले । देख्दै हाँसउठ्दो क्यारेक्टर थियो त्यो । दयाहाङ भन्दै थिए “ल ठिकै छ नि त, मै बस्छु लाइटिङमा ।” साथमा क्यामेरा थिएन त्यो क्याजुअल क्लिक हान्न नपाएर मनमनै दिक्क लाग्यो । सत्यमोहन लुसुक्क कारमा छिराइए । बुढा चुइँक्क बोलेको सुनिएन ।

त्यतिबेला आठ बजिसकेको थियो देब्रे हातमा । नाटकलाई मनमनै समिक्षा गर्दै अनामनगरको गल्लि गल्लि लम्किएँ । कर्णालीको कथा बोकेको नाटकका सबै पात्र आ–आफ्नै व्यक्तिगत लवजमा डाइलग बोलिरहेको थिए । आस गरेको थिएँ – गन्यो, हुन्या, खान्या जस्ता उनैका लवजमा डायलग पड्केलान । छुच्चो मुख । कर्णालीकै लवजमा डायलग भएको भए कम आनन्द हुने थिएन । तर सुनकेशरीको मागल (कर्णालीका साँस्कृतिक गतिविधिहरुमा गाइने गीत) बाट चाहीँ बिक्रम शाही र साइमल शाही भन्दा कम प्रभावित चाहिँ छैन है ।

यो पनि पढ्नुहोस्:

Read also: