साबिक एमाले खोटाङका उपाध्यक्ष राम दंगालले दलका नेताहरुको हबिगतका सम्बन्धमा साह्रै रसिलो किस्सा सुनाउनुभो एक दिन ।
सापातेलका बस्नेत काजीहरु गाईघाटमा गज्जिएर बसेका उ बेला । हरुवा चरुवा, नोकर चाकर, दौलत, रबाफ सबैथोकले सम्पन्न । त्यहाँका रैथानेले पनि अदव फर्माउनु पर्ने । मन्त्री बस्नेत, माननीय बस्नेत, प्रोफेसर बस्नेत, हाकिम बस्नेत, स्थानीय निकाय र संघ संस्थामा बस्नेत, बन्द व्यापारमा बस्नेत । सर्बत्र बस्नेत काजीहरुको हाइदुहाइ । उनीहरुसँग भिड्न कसको पिताम् ।
एक दिन बस्नेत मौजामा एकजना पिलीमासे बुढा मान्छे छिरेछन् । मैलो काती परेको लुगा, फाटेको जुत्ता लगाएका, घंगरुको लठ्ठी टेकेका, झुस्स दाह्रीले बेठन् गरेको अनुहार । नोकर चाकरले रोके र मालिककहाँ जाहेर गरे । उनीहरुले अड्कलेका थिए –अब यो बुढाले झँटाई खानेभो । तर उनीहरुको अनुमान बातेल भो । मालिकले त तेख्नासाथ बुढुवालाई लम्पसार परेर खुट्टामा ढोगी पो दिए । एउटाले मात्रै हो र, बस्नेत काजी जति खलिकप्पुर सबैले उसै गरे । लौ अचम्म भो ! नोकर चाकर बिलखबन्दमा परे । जुनतुन् मान्छे छिर्नै नपाउने बस्नेत किल्लामा एउटा खलपत्रे बुढोको यत्रो आदर सत्कार !
रहँदै बस्तै जाँदा पछि पो थाहा भो –यी त पहाडमा पुख्र्यौली बिंडो थामेर बसेका सबैका जेठा बा पो रहेछन् ।
जेठा बा अलिक दिन बसे । मीठो मसिनो खाए । सबै भन्दा धेरै त उनले नमस्ते नै खाए नि । आखिर जेठा बा एक दिन आफ्नो पोको पन्तुरो कसेर आफ्नै थात्थलो तिर फर्किए ।
यो किस्सा किन ल्याएको होला । सभाका सबै मान्छे अड्कल काट्तै थिए ।
बोल्दा बोल्दै टक्क अडिएका रामजीले हँसिलो पारामा मुख फोर्नु भो –हामी पार्टीका नेताहरु सबै जेठा बा ।
सभा हाँसोको फोहोराले गुञ्जायमान बन्यो ।
रामजीका कुरा तुरिएकै थिएनन् । हाँसो थामिए पछि उहाँले थप्नु भो –हामी कार्यकर्ताका अभिवादन, सलाम मात्रै गलगिद्द हुने गरी खाँदैनौं, हामीलाई जनताको नमस्ते पनि उत्तिकै प्राप्त हुने गर्छ । हाकिम, कारिन्दा, पत्रकार सबै झ्यामिन्छन् । अझ सत्तारुढ पार्टीको नेता हुन पाउँदाको मजै अर्को । आशन ग्रहणको ठाँट बेग्लै ।
बस्नेत काजीहरुको मूल थलोका जेठाबाले त बाटो खर्च र जेठी बज्यैका लागि थोरबहुत सौगात प्राप्त गरे होलान् । उस्ता बस्नेत काजीले जेठा बा’लाई निख्लाम पठाएनन् नै होला । उनीहरुको औकातमा धक्का पुग्न सक्थ्यो । तर चुनाव जितेर कार्यकारी पदमा पुगेकाहरुले आफ्ना पार्टीका जेठा’बाहरुलाई थेगभर गर्दैछन् कि गरेका छैनन्, त्यो भने खुलिसकेको छैन । कसै कसैले कुनै कुनै जेठा’बालाई गर्दै पनि होलान् । तर चुनावै जिताउन नसक्ने पार्टीका जेठा’बाहरुको भने आबरु जोगाउनै हम्मे देखिदैछ ।
ओ जेठा’बा ! तपाईको पार्टीले त धेरै मान्छे जिताएको छ । उनीहरु चढ्ने ल्याण्ड क्रुजर, प्राडो, पजेरो गाडीमा तपाईले कसो लिप्mट नपाउनु होला । उस्तै मनकारीले बाटो खर्चै हाल्देलान् । तर एक सिटै जिताउन नसक्ने पार्टीका जेठा’बाहरु बरा ! च्च्व, च्व, च्व ! अब त आशन ग्रहणमा पनि गोडा दुईतीनेक पार्टीको बाहेक नामै आउन छोड्यो ।
गाउँपालिकाहरुको तकझुक हेर्दा माननीय जी’हरुको पनि पेट अमीलो हुँदो हो । तै, सरकारले १० करोडको इन्तजाम गरिदिएको भए त उहाँहरुको पनि शाख बच्थ्यो । अन्यथा उहाँहरुको हविगत पनि तलबी जेठा’बा भन्दा अब्बल होओइन ।

