भेडा र ब्वाँसोको मिलन

Share:

भेडाको छाला ओढेका ब्वाँसाहरु । यो तुक्का प्रयोग गरेर छयालीस सालको आन्दोलन शिखर तिर उक्लिदै गर्दा तत्कालीन गृहमन्त्री निरञ्जन थापाले आन्दोलनकारीहरुलाई संवोधन गरेका थिए । ब्वाँसोले आफ्नो शिकारलाई एकैचोटि आक्रमण गरेर ढाल्न सक्तैन । बिस्तारै कन्याउँदै कन्याउँदै गोब्रिस्थानबाट आफ्नो पञ्जा छिराएर आन्द्रा निकाल्छ अनि रन्थनिएर ढलेको शिकारलाई अर्धमृत अवस्थादेखि नै लुछ्न थाल्छ । सत्ता परिवर्तन निम्ति खुल्लम खुल्ला सडकमा उत्रेका आन्दोलनकारीलाई उनले किन यस्तो छदमभेषी उपमा दिएका थिए, कहीं कतै भेट्ने अवसर जुरेछ भने उनैलाई सोधौंला । तर प्रजातन्त्रको पुनर्वहाली निम्ति भएको भनिएको पहिलो जनआन्दोलनमा प्रमुख दमनकारी व्यक्तित्व लोकतन्त्र र गणतन्त्र समेत आइसकेको भनिएको नेपालमा राजदूत जस्तो गरिमामय ओहदामा छानिएका छन् । अर्थात् उनकै शब्दमा भेडाको छाला ओढेको ब्वाँसाहरुले नै उनलाई आफ्नो जत्थामा हुलेका छन् । के त्यो बेलाका निरञ्जन थापाहरु यतिबेला भेडाको छाला ओढेर ब्वाँसाको स्वरुपमा आइसके ? कि त्यो बखतका ब्वाँसाहरु भेडाको छाला ओढ्दा ओढ्दा भेडामै रुपान्तरित हुन पुगे ? यि दुईमा एक चाँहि भएकै हो तर खासमा भएको के हो ठम्याउन हम्मे पर्दैछ । आखिर भेडो ब्वाँसो भयो कि ब्वाँसो चाहिं भेडो बन्यो त ? मान्छेले बुझ्नै गाह्रो भैसक्यो ।
अचम्मकै कुरा त भएन नेपालका सन्दर्भमा । उ बखत पनि अनागरिकले नागरिक माथी शासन गर्थे । अर्थात दरवारकाहरुले नागरिकता प्राप्त गर्ने दरकार पर्दैन थियो, जसरी साँढे गोरुको बन्धन हुँदैन । कि धोइए हँ मस्को लाएर ०४६ साल यता सत्ताइस वर्ष सम्म निरञ्जन थापाहरु ?
यता सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता आयोगहरु द्धन्द पिडितका उजुरी थप्दै छन । उता निरञ्जन थापा, कमल थापाहरु कुटनीति र राजनीति कब्जा गर्दैछन् । यिनले लोकतन्त्र र गणतन्त्र प्राप्तिका लागि योगदान पु¥याए बापत नै केहि पाएका होलान् । त्यसरी पनि बुभ्नु पर्छ होला ।
यी आयोग मार्फतपरेका उजुरीउपर इन्साफ यिनै गर्छन् होला । नन्दप्रसाद अधिकारीको तहकिकात माओवादीले गर्दो हो । किनभने अरुको पुर्पक्षमा त ऊ भरोसा नगर्ला । साप्सु खोलामा माछा मार्दै गर्दा मारिएकाहरुको सुनुवाइ सेनाले गर्दो हो । झडपमा पर्ने र मर्नेहरुको सरकारी ढुकुटीबाट उपता गरिसला । भेडा र ब्वाँसाहरुको झुण्डले गर्ला त मान्छेको इन्साफ ?

यो पनि पढ्नुहोस्:

Read also: