फेरी पनि रुढी फाटेन

वाङ्गमयविचार
439 views

Share:

तपाई यतिबेला अखवारको मुखपृष्ठ छिचोलेर मेरो खितमा आइपुग्नु भएको छ । तपाई पढीदिनुहुन्छ र त मलाई पनि लेख्न जाँगर चल्छ । तपाई मलाई चिन्नु पनि हुन्छ होला, भलै म नचिनुला । तर म अनुमान गर्न सक्छु तपाई यस ठाउँको माथमरी मान्छे हो । म ठान्छु –तपाई सभ्य, संभ्रान्त र विद्धत व्यक्तित्व हुनुहुन्छ । किनभने तपाई दश रुपैया तिरेर यति सानो कलेभरको लिप्टो अखबार पढ्दै हुनुहुन्छ । पक्कै पनि तपाई जस्तो मान्छेलाई हेक्का छ, यसको मोलमा कान्तिपुर, राजधानी जस्ता ठूल्ठूला अखबार पाइन्छन् । यस निम्ति तपाईलाई धन्यवाद टक्र्याउनै पर्छ ।
म कल्पना गर्दैछु, तपाईको स्वरुपका सम्वन्धमा । गर्मी चढ्दैछ, यस कारण टम्म शरीरमा मिल्ने पेन्ट शर्टमा तपाई ठाँटिएको हुन सक्नुहुन्छ । अर्थात कुर्था सलवार, लवेदा सुरुवाल र कोट वा कुनै गम्किलो परिधानमा सजिनु भएको पनि हुनसक्नुहुन्छ । यदि तपाई महिला पाठक हो भने साडी चोलो, कुर्था सलवार वा पेन्टसर्ट कोटमै पनि हुनुहोला । महिला परिधानका बारेमा म उस्तो भेउ पाउँदिन । जे होस् शहरको समुदायमा निस्केर अखबार पढ्न सक्ने व्यक्ति तपाई सभ्य समाजको सदस्य हो । मेरो किटानी ठहर हो यो ।
तपाईलाई सभ्यताको यो टुङ्गोसम्म कसले ल्याइदियो होला, ठम्याउनु भएको छ ? तपाई, मेरो अनि सब कोहीको इज्जत र सभ्यताको एक मात्र कडी हो दमाई । दमाई बिनाको समाज कल्पना गर्नोस् त ! ऊ नभएको भए तपाई र मेरो स्वरुप कस्तो हुन्थ्यो होला ! ल भै गो, तपाईसँग कपडा छ अरे । त्यसलाई आफ्नो शरीरमा मिल्ने गरी सिलाएर लगाउन सक्ने शिप छ तपाईसँग ? म सँग चाहिं छैन, तपाई जान्नु हुन्छ भने बेग्लै कुरा हो । अहिले शिप भएकाले आफैं सिलाएर लगाउँदा पनि बात लाग्दैन । जात पनि जाँदैन । तर ऊ बखत जातै जान्थ्यो । सियो सम्म चलाएको देखेको छु । अमलतुनु छोयो भने जातबाट काढिन्थ्यो । जसले समाजका सबै मान्छेको आवरु जोगायो, सभ्य बनायो । ऊ चाहिं अछुत् ? जो सभ्यताको प्रवर्तक हो ऊ नै दलित भएपछि शिपै नभएका हामी बुङ्गाहरुले समाजलाई कसरी उचाल्ने ? परम्परा त्रृटिपूर्ण थियो र समाजले अग्रगति समाउन सकेको थिएन । तर रुपान्तरित राज्य व्यवस्थाले पनि दमाईलाई दलितको संज्ञा दियो । प्रधानमन्त्रीको कोट सिलाउने मान्छे कसरी दलित हुन्छ ? ऊ त शिल्पी हो । उसको शिल्पको सम्मान र प्रवद्र्धन गर्ने बितिकै इलम नजानेका अरु हामीहरु भन्दा उसको स्तर स्फूर्त रुपमा माथि उक्सिन्छ । एउटा भारी बोकेर निर्वाह गर्ने बाहुन क्षेत्री वा किराँती जो कोही गैरदलित अनि हातमा भरमार शिप भएको मान्छे चाहिं दलित हुन्छ कहिं ?
हो, अगिल्लो सामाजिक ढाँचामा यी शिल्पीहरुलाई दलित तुल्याइएको थियो । भर्खरै सम्म पनि कामी, दमाई, सार्कीलाई आवश्यकता अनुसार बालीमा काम लगाउने चलन थियो । चैतेती सौंनेती भनेर वर्षमा दुई पटक कत्रो परिवार हो यसका आधारमा दुईचार पाथी देखि मुरीसम्म बाली दिनु पथ्र्यो । मुख्य चाडबाडमा भागभुरो छुट्याएर दशैंमा पुछ्रे काँधो राखिदिएपछि उसले वर्षभरि आइपरेका सबै काम गरिदिनै पथ्र्यो । घरमै गएर काम गरेका दिन साँझ एक मानो सामल पुउन्की भनेर पाउँथ्यो बरा । बाली दिन नसक्ने र सानो परिवारका विष्टहरुले यदाकदा दर्माहा दिएर काम लगाउँथे । उसको परिवार धान्ने जम्मै श्रोत यति नै हो । यस बाहेक मागेर, आँखा छलेर जसरी पनि गुजारा चलाउनै पथ्र्यो । थप सम्पती आर्ज गर्ने त बाटै थिएन । उत्पादनका अन्य क्षेत्रमा लाग्ने पनि उसको गुञ्जायस थिएन । पानी नै नचले पछि उसको अन्य दिन कहां खपत हुने ? यसरी चौखु¥याएर समुदायले नै तल खँदारेपछि अरुहरुले फलाकेका भरमा सभ्यता र विकास कसरी सम्भव हुन्छ ?
कामीले फाली, करुवा, हँसिया, खुकुरी, बञ्चरो, कोदालो इत्यादि औजार नबनाइदिओस् त, फेरि पनि बाँकी मानव समुदाय ढुङ्गे युगमा फिर्ता हुन्छ । तपाईंको विद्धताले, मेरो लेखापढाले मात्रै समाजलाई अग्रगति दिलाउन सकिन्न । अबको राज्य व्यवस्थाले अगिल्लो समुदायद्धारा कामी तुल्याइएका शिल्पीहरुलाई विश्वकर्मामा रुपान्तरण गर्नुपर्छ । उनीहरुको शिप र श्रमले उचित सम्मान र मान्यता पाउने बितिक्कै कुनै अभियान अज्माउनै पर्दैन ।
द्रुततर विकास निम्ति यान्त्रीकरणको लहर आइरहेको छ । उचित सम्मान र राज्यको आडभरोसा पाउने हो भने हाम्रा यिनै शिल्पीहरु आफ्नो व्यवसायलाई आफैं यान्त्रीकरण गर्न सक्छन् । बरु शिप बिनाको मान्छे र फोहोरीहरु दलित हुन् । तिनलाई हटक् गरे फरक पर्दैन ।
हाम्रो प्रशासनिक ढाँचा पनि उस्तै छ । लाखौं रुपैया खर्चेर पढाइ पूरा गरेका डाक्टर, इन्जिनियर र विषयगत विशेषज्ञहरु सामान्य विषय छिचोलेका प्रशासकको मातहतमा अनि प्रशासक चाहिं चार पासे आठ पासको ठाडो निर्देशनमा चल्ने परिपाटी त बद्लिदै बद्लेन । अनि के को रुपान्तरण ? देश, शिप र प्रविधिको ज्ञान भएकाहरुले बनाउने हो । तिनलाई आफ्नो शिल्पको भरपुर उपयोग गर्ने बाटो दिनुपर्छ । तर खै, फेरि पनि बाग्डोर त डेढअक्कली कै हातमा छ । शिल्पीहरु हेपिएकै छन्, दलिएकै छन् । कपुरीकान्तहरुको ठूटे प्लानिङबाट देशले छलाङ् मार्ला त ? को…..नि !

यो पनि पढ्नुहोस्:

Read also: