दरिद्रहरुको भाँती

वाङ्गमयविचार
452 views

Share:

If people lie to me, they are poorer not I अर्थात कसैले मलाई ढाँट्छन भने ती ढाँट्नेहरु गरिव हुन्, म ढाँटिइने गरिव होइन । विश्व साहित्यकार वर्नाड शाको कुनै पुस्तकमा पढेको हरफ हो यो । पुस्तकको नाम बरु बिर्सें तर यो हरफले बेला बेलामा झस्काइरहन्छ । भाकामा बैंकको किस्ता बुझाउन नसक्ता वा साहूले मागेका बखत उधारो चुक्ता गर्न नसक्ताको क्षणमा बर्नाड शा बाजेलाई मेरो मनले तर्पण दिने गर्छ ।
वास्तवमा ढाँट्ने काम गरिवले नै गर्ने हो । साहुले माग्छ, उम्किनु त प¥यो नै । त्यस बखतका वहनावाजी सबै ढाँट कुरा हुन् । खल्तीमा भए ढाँट्नै पर्दैन । ढाँट्नु गरिवीको द्योतक हो । तर कोही कुनै लिच्चड यस्ता पनि हुन्छन्, जो भै भै पनि तिर्दैनन् । तिर्नै चाहँदैनन् । एकजना नेता छन् । चुनावमा जिते । मन्त्री पनि भए । तर छापाखानाको बाँकी तिरेनन् । धेरै पटक सम्झाएँ । मन्त्री क्वार्टरमै छिरेर पनि मागें । तर तिरेनन् । नभएरै नतिर्नु स्वाभाविक गरिवी हो । यस्तो अवस्था जो कोहीलाई जहिले पनि आइपर्न सक्छ । तर हुँदा हुँदै नतिर्ने पनि गरिव हो । अझ गरिव मात्र होइन, त्यो त दरिद्र नै हो । यस्ता दरिद्रसँग के हात फैलाउने । माग्नु पनि गरिवी कै संकेत हो । मलाई उनीभन्दा गरिव हुन मन लागेन । माग्नै छोडें ।
उधारो खातामा अंक फेर्ने र झुक्याएर असुल गर्ने पनि सम्पन्न मनका मान्छे होइनन् । मनका गरिवहरु देखावामा आफू धनी त दलिएलान्, तर अरुलाई गरिव तुल्याउने उद्योग भने चलाइरहन्छन् । निमुखा र असक्तलाई अक्करमा पारेर चुस्नेहरु पनि दरिद्र नै हुन् ।
दरिद्र मानसिकताको मान्छे सत्तामा पुग्यो भने त्यसले त झन् दुनिया सखाप गर्ने रहेछ । भूकम्प पीडितहरुको राहतका खातिर चीन सरकारले अन्य समाग्री सँगै १० टन खानेतेल पठायो । सामग्री कसरी वितरण गरियो, त्यसको लेखाजोखा त छैन नै । हुलमुलमा थोर बहुत गड्बडी हुन्छ पनि । तर त्इो तेल कसरी वितरण गर्ने भन्ने अक्कल नपलाए पछि खाद्य संस्थानले भन्सार तिरेर आफ्नो गोदाममा थन्क्यायो । ठूला ठूला ड्रममा भरिएको तेल पीडितलाई दामासाईले वितरण गर्ने मेसो नमिलेपछि खाद्य संस्थानलाई विक्रि गर्न भनियो । सित्तै आएको तेल विक्री गर्न पाउँदा खाद्य संस्थानलाई अपुताली त आइप¥यो तर उसले पनि समयमा ड्रम फुटाएर बिक्री गर्न भ्याएन । तेलका बडेबडे ड्रमहरु खाद्य संस्थानको गोदाममा छ सात महिनासम्म लडिरहे । प्रविधि तथा खाद्य अनुसन्धान विभागको कुनै प्राविधिकले सुइको पाएर जाँच गर्दा तेलको सेवन अवधि समाप्त भैसकेको पत्ता लाग्यो । खाद्य तेल अखाद्य भैसकेको थियो ।
हेर्नोस् न सत्तामा पुगेका मान्छेको मानसिक दिवालिया पन् । तपाई आफैं गम्नोस् त । पीडित जनताको राहतका लागि कसैले सित्तै दिएको समान माथिसरकारले भन्सार असूल गर्नु हुन्थ्यो होला त ? ल भै गो, भन्सारका मान्छेको विवेक पुगेनछ अरे, जसका नाममा सित्तै आयो उसैलाई बिक्री गर्ने निर्णय लिने सरकार कस्तो ? निश्चित छ, खाद्य अनुसन्धान विभागका कर्मचारीले तेल नजाँचेको भए खाद्य संस्थानले त्यो तेल जनतालाई खुल्लम् खुल्ला बेचिरहने थियो । कृतिम ढंगबाट तयार गरिएको खाद्यवस्तु निर्धारित डेट तुरिएपछि आफैं विषाक्त बन्छन् । त्यो तेल पनि विषाक्त भएको भनेर प्राविधिकले घोषणा गरिसकेका छन् । कहाँ छ त त्यो तेल ? त्यसलाई नष्ट गरेको खबर आएको छैन । कतै नयाँ लेबल जडेर लुकीछिपी खाद्य संस्थानले बिक्री त गर्दै छैन ? के भरोसा, दरिद्रहरुले आफू भरिने ताकमा अरुहरुको ज्यान लिन पनि सक्छन् । हविदालेको काम हसुर्ने हो । उसले जहाँपुगे पनि र जसरी पनि हसुरेरै छोड्छ । जसैतसै महादरिद्रका पञ्जाबाट कसै गरे फुत्किन नसकेका नेपाली जनता कङ्गाल नबने को बनिदेला ? कङ्गाल मात्रै होइन, हविदालेहरु त्यो तेल झुक्याएर बेच्न सफल भए भने धेरै जनता थलन्छन्, भक्रन्त हुन्छन् । वाफरे ! थोरै हो १० टन खानेतेल भनेको ? एक लट सबजनालाई पुग्छ ।
लाखे है ! यी तन्नम्हरुले जसरी पनि तेल बेच्छन् । बेची छाड्छन् । जोगिन नसक्ने सबै गोक्ते ।

यो पनि पढ्नुहोस्:

Read also: