राजनीतिमा बोकाहरुको भूमिका

बिबिधविचार
410 views

Share:

बुढो स्याल र स्याल बुढो । सुन्दा त उस्तै उस्तै लाग्ला । तर होइन ।बुढो स्याल भनेको उमेर पाकेको स्याल हो । अनि स्याल बुढो भनेको चाँहि स्यालको जस्तो स्वभाव भएको बुढो मान्छे भनेको हो । कहिलेकहीं ठम्याएर बुझ्न नजान्दा मेसो साङ्ली पर्न जान्छ ।
खोटाङ काँग्रेसका एकजना पुक्खली नेता झोक्राएको जस्तो लाग्यो । सोधें –तपाई हारेको कि नजितेको ? उनी उल्तलिए । सवालको भेउ नपाएको ठहर भयो । मैले भनें –तपाई हारेको होइन, नजितेको चाँहि हो । फेरि पनि बुझेजस्तो लागेन । अथ्र्याएँ –हार्नु भनेको अस्तित्वको सवाल हो । तर नजित्नु प्रक्रिया हो । बुझ्नु भो ? उनी यसरी फक्रिए कि मलाई अनुभूत भयो, उनको घैंटामा घाम लाग्यो । मैले महाधिवेशन प्रतिनिधिको ओहदा हत्याउन सफल उनका एक दुईजना अग्रज नेताको नामै किटेर भने, तिनले जितेका होइनन्, नहारेका मात्रै हुन् । त्यसपछि त उनी झन् यसरी खुले कि एक छिन अगाडि झोक्राइरहेको उनको मुहार फक्रेको फूल जस्तै देखियो । आफू नहार्नका लागि कसैलाई जित्न नदिने कुटील खेल राजनीतिमा चल्न सक्छ ।
स्वर्गीय पर्शुराम राई जिल्ला सभापतिको चुनावमा एक मत मात्र प्राप्त गर्ने भाग्यशाली र ऐतिहासिक पात्र हुन् । पछि उनी सभापति मात्र भएनन्, राष्ट्रिय पञ्चायतको सदस्य र उपाध्यक्ष जस्तो उच्च ओहदामा समेत आसीन् हुन सके । उनले आफ्नो मात्रै मत प्राप्त गर्दा बखत हारेको ठानेको भए कहीं कतै विलय हुने थिए । हार्नु र नजित्नु बीचको विभेद यही हो ।
एक पटक मलाई पनि चुनाव लड्ने भूत सवार भयो । नोमिनेसन फाइल गरें । प्रतिष्पर्धी थिए वद्री भिखारी लगायतका पात्र । मलाई हार्छु भन्ने नै थिए । त्यसैले प्रचारमा लाग्दै लागिन । उसले जित्ने चिताएकै थिएन । किन प्रचार गथ्र्यो । परिणाम आयो । मैले चुनाव जित्न सकिन । उसले हारेन । म केन्द्रीय महाधिवेशनमा सामेल हुन पाइन । उसले नीति निर्माण गरेर फक्र्यो । त्यो पछि मैले समीक्षा गरें –मतदाता महान हुँदा रहेछन् । वास्तवमा जित्दिन भन्नेलाई जिताउन सक्ने र हार्दिन भन्नेलाई सहजै हराउन सक्ने अद्भूत क्षमता हुन्छ मतदातामा । यहाँनेरको भिन्नता के हो भने, वद्री भिखारीले जितेको हो र मैले हारेकै हो । स्वीकार्नु पर्छ । उसको विजयले संगठनलाई के दियो, के दिएन, त्यो पृथक विषय हो । तर मतदाताले म माथि उसको विजय गराएकै हुन् । मैले त्यो पराजयलाई आत्मसात गर्ने पर्छ । मलाई संख्या नपु¥याएर हराउने मतदाता भन्दा उसलाई जिताउने मतदाता शक्तिशाली हुन् । तिनलाई जहिले पनि कदर गर्नु पर्छ । मैले सिकेको सबक यही हो ।
राजनीतिमा हार्न नमान्नेहरुले जे पनि गर्न सक्छन् भन्ने प्रशस्त उदाहरण छन् । माओत्सेतुङले आफूलाई उछिन्ने डरले हवाइ दुर्घटनाको तार्तम्य मिलाएर लीन् पियाओको ज्यान लिए । इन्दिरा गान्धीले मोहन कुमार मंगलम्लाई हवाइ दुर्घटनामै मारिन् । यी कूटनैतिक हिसावले पुष्टि भएका घटना हुन् । यस्तै पुष्टि हुन नसकेको घटना पनि बग्रेल्ती नै छन् । संजय गान्धी हवाइ दुर्घटनामा मारिए । मदन भण्डारीको दुर्घटना रहस्य खुल्नै सकेन । यी सबै हार्न नमान्नेहरुको कर्तुत हो । पाप कराउँछ भन्छन् । कहीं कतै करायो पनि होला । तर हामीले मिलाएर सुन्न नसकेको हो कि !
स्थानीय स्तरमा यस किसिमले ज्यानै लिने सम्मका प्रपञ्चहरुको रचना नहोला । तथापि आफ्नो स्थान सुरक्षित तुल्याउन कसैलाई उचालेर भड्खालोमा जकाउने काम चाहिं हुन्छन् नै । त्यो नबुझेर औताउने नाथे आफैं जाकिन्छ पनि । खोटाङको अगिल्लो चुनावमा यसरी को जाकियो ? तपाईले अड्कल काटिसकेको हुनुपर्छ । त्यो पनि मारेकै हो । भलै ज्यानमुद्दा लागेन । काइते कानुनी लवजमा यस्तालाई बोकाहा भन्छन् । हामी सहजै भन्ने गर्छौ –तोड्दे न म भएँ ।
मेरा एकजना मित्र थिए । अहिले खै कता छन् थाहा छैन । पुलिस, प्रशासनमा उनको जहिले पनि राम्रो सम्बन्ध रहने । जसरी पनि रिझाउन जान्दथे । उनको त्यो पारखलाई मान्नुपर्छ । उनी त्यो कौशललाई प्रायः आफ्नै सहकर्मीहरु उपर उपयोग गर्थे । कुनै सहकर्मी बाँउठियो अर्थात आफ्नो ईशारा बाहिर चल्न थाल्यो भन्ने लागेमा कुनै न कुनै निहुँमा त्यसलाई थुनाउँथे र आफैले उकासेर ल्याउँथे । अब चूँ सम्म गरोस् त भोलिदेखि ।
यो पनि हार्न नमान्नेहरु मध्येकै एउटा हर्कत हो । हार्न नमान्नेहरुले अरुलाई जित्न नदिन जस्तोसुकै हथकन्डा प्रयोग गर्न सक्छन् । तिनलाई घिन लाग्दैन । ती लजाउँदैनन्, डराउँदैनन् । परिणाम जे सुकै आओस् ।

यो पनि पढ्नुहोस्:

Read also: