हरेक कार्यकर्तालाई नेता हुन पाए कस्तो न हुँदो हो लाग्छ सायद । तर नेता हुन सजिलो होला र ! हाम्रो देशमा पार्टीको नेतालाई तलब भत्ता दिने चलन छैन । यस्तो लाग्छ कि, नेता भैसकेपछि ऊ त्यत्तिकै बाँच्न सक्छ ।
नेता सुकिलो हुनुपर्छ । फस्र्याइलो पनि हुनुपर्छ । नेताले कार्यकर्ताको मर्म बुझ्नुपर्छ । नेता भएपछि छैन भन्न मिल्दैन । सबैथोक हुनुपर्छ । तर ल्याउने कहाँबाट ?
धेरै जसोनेताका नियमित श्रोत देखिंदैन । तर पनि चल्नु पर्छ । एकजना मेरा नेता साथी छन् । कहिले कहीं चिया खाउँ भनेर बोलाउन मन लाग्छ । उनी खुसी हुन्छन् र बाटामा भेटिएजति सबै मान्छेलाई बोलाउँछन् । सायद सबैलाई यसरी नै बटुलेर खुसी तुल्याउने उनको रहर हुन्छ तर पैसाले भ्याउँदैन ।
अर्का एकजना साथी छन्, साह्रै मितव्ययी । उनी आफू त खर्च गर्दै गर्दैनन्, अर्काको चाहिं खानुपर्छ भन्ने नियत पनि राख्तैनन् । तर उनलाई धौ धौ छ ।
केही यस्ता मित्र पनि छन्, तिनका लुगाफाटो, मोवाइल, जुत्ता सबै ब्रान्डेड छन् । खर्चबर्चमा पनि कुनै कमी छैन । ल्याउँछन् कहाँबाट ? त्यो देखिदैन ।
पार्टीको नेता भनेको जनताको काम गर्ने मान्छे हो । त्यसो हुँदा उसलाई गुजाराको निम्ति राज्यले व्यवस्था मिलाइदिंदा राम्रो हुन्छ । कतिपय मुलुकमा दलका नेतालाई राज्यले नै तलब भत्ताको व्यवस्था गरेको हुन्छ । त्यस्तो देशमा नेता आर्थिक अपचलनको मुद्दामा त्यति फस्तैनन् । नेताले कसैबाट केही लिनै हुँदैन भन्ने हाम्रो अवधारणा छ । यस कारण पनि हाम्रा देशका नेताले भेटेका बखत पुग्ने गरी खानु पर्छ भन्ने चलन बसेको हुनुपर्छ ।
वास्तवमा काम गर्ने मानिसका लागि उचित पारिश्रमिकको व्यवस्था हुन जरुरी छ । निख्लाम सेवा कहिल्यै सम्भव हुँदैन । अतः राजनीतिक क्षेत्रमा पनि राज्यले पारिश्रमिकको व्यवस्था मिलाउन सके स्वस्थ प्रतिस्पर्धा हुन सक्छ ।
कमसेकम आधारभूत आवश्यकता परिपूर्तिका लागि अनैतिक काम गर्नु पर्ने अवस्था नरहँदा पनि मानिसले भ्रष्टाचारको बाटो रोज्दैन । नेता नैतिकवान छ भने मात्र नीतिको पालना हुन्छ । नैतिकवान नेताले मात्र समाजलाई हाँक्न सक्छ । आफ्ना आवश्यकता परिपूर्ति गर्न नेता स्वयंले अनैतिक बाटो समाउनु प¥यो भने त्यस्तो समाजले कहिले गति पाउँने ?
वास्तवमा नेताले लुकेर खानु पर्ने अवस्था रहनु हुँदैन । यस्तो अवस्थालाई चिर्दै समाजको लागि काम गर्ने जो कोहीका लागि गुजाराको व्यवस्था हुन नितान्त आवश्यक छ ।

