रुपान्तरिक प्रशासन यन्त्र

बिबिधवाङ्गमयविचार
452 views

Share:

नमस्कार हाकिम् साब । सरकारी कार्यालयका प्रमुख मान्छेलाई भेट्दा यसैगरी अभिवादन् गर्ने हाम्रो चलन छ । छोरो वा छोरी हाकिम् भयो भनेर सुन्दा मात्रै जो कोही बावुआमाका खुट्टा भारमा चढ्छन् । नाता गोताकै चुरीफुरी बढ्छ । ससुराली तिरका कुरै नगरौं । राणाजीले पँजनी गरेर पठाउने बडाहाकिम जस्तै त होइन, तर पनि हाकिमप्रति अदव राख्ने हाम्रो परम्परा अहिले पनि अब्बल छ । सरकारी अधिकारीलाई सम्मान गर्नु, सहयोग पु¥याउनु सभ्य समाजको शिष्टता नै हो ।
तर हाकिम भनेको के हो ? यो लवज कहिले चल्यो ? अहिलेको हकमा यो कति सान्दर्भिक छ ? यी सवालहरुलाई जनताको तहबाट होइन, नीति निर्माणको तहमा पर्गेल्नु पर्ने भएको छ । दृष्यमा पद्धतिहरु बदलिए । राणा शासन ढल्यो । प्रजातन्त्रपछिको पञ्चायती प्रजातन्त्र गयो । लोकतन्त्र र गणतन्त्र समेत कागजमा वहाल भैसके । तर हामी सरकारी मान्छेलाई हाकिम मान्दैछौं र उसैगरी थर्कमान हुँदैछौं ।
हाकिमको खास अर्थ हो, –हुकुमलाई रैतीउपर तामेली गराउनका लागि हैकम चलाउन खटिएको सरकारी मान्छे । अहिलेका कार्यालय प्रमुखलाई यसै गर्न पठाएको हो त ? होइन, अहिलेको विधानले सरकारी कर्मचारी वा अधिकारीलाई ऋष्खष् िक्भचखबलत अर्थात जनसेवक भनेर परिभाषा गरेको छ । विधानले जनतालाई सार्वभौमसत्ता सम्पन्न भन्ने पगरी पनि दिएको छ । यसको अर्थ हो, संवैधानिक प्रावधान अनुसार निर्दिष्ट गरिएको सर्वोच्च शक्ति ।
शब्दकोषहरुमा हाकिम माने मालिक, ख्वामित भन्ने उल्लेख छ । साहब भनेको पनि त्यही हो । विधानका पुस्तक भित्र जे जे लेखिए पनि व्यवहारमा नेपाली जनताले हाकिममाथि साहब थपेर जुम्लाहात गर्ने परिपाटी रुपान्तरण हुन सकेन । अड्डा प्रमुखहरुसँग भेट हुँदा म आफै भन्दैछु –हाकिम साब् नमस्कार । कुनै दुष्टले त नमस्कारै नफर्काइदेला भन्ने जग्जगी पनि हुन्छ ।
अर्थ पहिल्याउँदै जाँदा प्रमुख शब्दको पनि टेढो अर्थ लाग्छ । मुख भन्ने शब्दमा ‘प्र’ उपसर्ग थपेर प्रमुख भएको हो भन्दा व्याकरणले त मान्दैन । तर व्यवहारमा हेर्दा चाहिं यही अर्थले ठ्याक्कै भेट खान्छ । जस्तो, बल शब्दमा ‘प्र’ उपसर्ग लगाउँदा प्रवल हुनजान्छ । यसको अर्थ हो, अझ बलियो, धेरै बलियो । यसैगरी चण्ड माने उग्र भनेको हो । यसमा ‘प्र’ उपसर्ग लगाउँदा प्रचण्ड हुन्छ । प्रचण्ड शब्दले ज्याँदै उग्र भन्ने अर्थ दिन्छ । यस्तै घोर भन्नाले घमण्डी भन्ने बुझिन्छ । यसमा ‘प्र’ थपेर प्रघोर बनाउँदा महाघमण्डी भन्ने अर्थ लाग्छ । अब मुखमा पनि ‘प्र’ थपेर हेरौं । प्रमुख भयो । प्रमुख भनेको चान्चुने मुख होइन, दह्रो मुख, दर्बिलो मुख भन्ने बुझ्नु पर्दो हो । मुखको काम केवल खाने र बोल्ने हो । मुखले बोल्छ अनि खान्छ, खान्छ अनि बोल्छ । मुखको कामै यही हो । प्रमुखले दह्रो गरी बोल्छ अर्थात आदेश गर्छ र दर्बिलो गरी खान्छ पनि । नपत्याए सरकारी कार्यालयमा गएर हेर्नोस्, प्रमुखसँग दराज हुँदैन, फाइल हुँदैन र तालाचाबी पनि हुँदैन । सरुवा भै जाँदा चार्ज बुझाउनै पर्दैन । सहायकले निमित्त भएर काम थाल्छ, सकियो । तर फाँटवालाको फजिति हेर्नोस् त, चार्ज् नबुझाई उ फार्से नै हुँदैन । त्यसै कारण प्रमुखले कदाचित तपाइलाई हका¥यो भने लुरुक्क हुनुहोस् । फुक्र्यायो भने फुरुक्क हुनुहोस् । यसैमा तपाईको भलाइ छ । जोरी खोज्नुभो भने तपाईको खैरियत छैन । लौ, तपाईलाई प्रमुखको इन्साफमा चित्त बुझेन अरे । उसको विरुद्धमा उजुरी दिन पाउने प्रावधान छ । तपाईको उजुरी कसले हेर्छ त ? कुनै न कुनै प्रमुखले नै हेर्छ । एउटा प्रमुखले अर्को प्रमुखकको विरुद्धमा तपाईको पैरवी गरिदेला र ? भो नचिताउनोस्, तपाईको जहाज डुब्ला ।
प्रमुखले खायो भनेर कसैले डाही गर्छ भने त्यो मूर्ख हो । प्रमुखले नखाए कसले खान्छ त ? बरु खाएन, खान सकेन भने चाहिं पानीमरुवा हो । प्रमुख हुँदा पनि आँत पुरिउञ्जेल खान नसक्ने हुतीहाराले आफ्ना प्रमुखको तिर्सना कसरी मेट्ला ! प्रमुखको पनि प्रमुखसँग कति पावरफुल मुख टाँसिएको हुँदोहो, तपाईको बुताले त्यसको अनुमान लाउन हम्मे पर्ला ।

यो पनि पढ्नुहोस्:

Read also: