नहार्नु पथ्र्यो । कसैले हार्छन भनेकै होइन । तर कपुरीकान्तले चुनाव जितेनन् बरा । केही मान्छे चुनावमा जित्नै भनेर उठ्छन र जित्छन् पनि । कोही कसैलाई जिताइदिन उठ्छन र आफू राजीखुसीसाथ हारिदिन्छन् । कसैलाई हराउनकै लागि उम्मेद्धवारी दिने मान्छे पनि फेला पर्छन् । हाइकमाण्डले आफूलाई टिकट नदिएको झोंकमा कसैलाई उचालेर चुनाव लडाउने मान्छे पनि देखेकै हो । लड्ने लड्यो, लडाउनेलाई ठाँगेले छोएन । लड्नु माने पछारिनु पनि हो । जो लड्यो, ऊ पछारियो ।
तर कपुरीकान्तले नै चुनाव किन हारे ? पेचिलो कुरा यो छ । हुन त यसपाला उनले मात्र हारेका होइनन् । अरुले पनि हारे । जित्ने भन्दा हार्नेहरुकै संख्या बढी छ । भन्न त लोकतन्त्रमा वहुमतले अल्पमत माथि शासन गर्छ भनिन्छ । त्यसो हुँदो हो त कपुरीकान्त वहुमतमा छन् नि !
हरुवाहरुको लिष्टमा कपुरीकान्तको नाम किटान भयो । नाम मात्रै उनको आयो । तर खासमा उनलाई भोट हाल्नेहरु मुष्टमा सबै हारेका हुन् । उनलाई भोट दिए बापत विचरा मतदाताले पनि पराजय खेप्नु प¥यो । आफ्नो अमूल्य मत फोंसामा दिनु, उल्टै हार्नु पनि । तिनलाई कति पीर प¥यो होला ?
जसले कपुरीकान्तलाई भोट हालेनन्, अरु कसैलाई दिए । तिनले उनलाई हराउन खेजेकै होइन । भोट हाले त कसैलाई जिताउनका लागि हाले । कसैलाई जिताउने उपक्रममा कोही हार्छ भने हरुवासँग उनीहरुको के सरोकार ?
तर कपुरीकान्त यसपाला जसरी पनि चुनाव जित्नै भनेर राजधानीबाट ओर्लेका थिए ? या कसैलाई जिताउने वा कसैलाई हराउने तार्तम्य थियो ? यद्यपि उनले यसरी चुनाव लड्नुको कडी खुलेको छैन । यति हो, उनले चुनाव जित्न सकेनन्, हारे ।
जितेको भए यत्तिको चर्चा चल्थ्यो । यसै भन्न सकिन्न । तर हारेकोमा निकै चर्चा भो । हुँदै पनि छ । कोही भन्दैछन्, –‘आफू त हा¥यो हा¥यो, अलच्छिनाले हामीलाई पो हराइदियो ।’ उनका खास मान्छेको आरोप छ, –‘एकछापेले डुबाए !’ जे भएर होस्, कपुरीकान्तलाई यसपालाको चुनाव फापेन । जग्गा दलाली नै लेख्या छ क्यारे ललादमा । राजनीतिले पोसाउला जस्तो छैन ।
उनी मात्र होइन, अरु पनि कपुरीकान्तहरु दर्जा हत्याउने हेतुले सामलखाजा बोकेर राजधानीबाट ओइरिएका छन् । कतिले त जिप्ट्याउलान् पनि । मतदाताले भेउ पाए भने धेरैको बातो बस्छ । पार्टीका शीर्ष जिम्दारका वैठकेहरुको हाइदुवाइ मात्रै मत्थर हुँदा पनि केही न केही तलका मान्छेले अवसर पाउन सक्छन् । चढुन् न ती पनि पार्टीको भ¥याङ् । आखिर चार पासे, आठ पासेहरुको मल्टन् चल्या बखत हो, बाना मिल्छ ।

