काक्ताली थियो वा प्रधान सम्पादक योगेश उपाध्याय र प्रमुख प्रोमोटर श्याम गोयन्काले इन्टेन्सनल्ली जुराएका हुन्, (त्यो बेला चर्चा भएन) कान्तिपुरको सम्पादकीय टिममा हामी तीन जना कृष्णहरु खटाइएका थियौं –श्रीकृष्ण अनिरुद्ध गौतम, श्रीकृष्ण भण्डारी र श्री बिनाको म कृष्ण आचार्य । दुईवटा डमी अंक छापेर पत्रिकाले दर्ता पाइसकेको थियो । रिपोर्टिङमा तारा दाहाल, नारायण वाग्ले, तीर्थ कोइराला, रघु मैनाली जस्ता आगो खाने युवाहरु थिए भने कला संयोजनको जिम्मा रमण घिमिरे जस्तो माहिर र शालीन पारखीले पाएका थिए । हामी सबै नियमित अंक बजारमा पठाउने अभ्यासमा तल्लिन थियौं । हरेक दिन नमूना अंक निस्कन्थ्यो । समीक्षा र सुझावका लागि देशी विदेशी जानिफकार कहाँ पठाइन्थ्यो । हामी पनि परिमार्जनमा जुट्थ्यौं र त्यही अनुरुप भोलिको अंकको तयारीमा लाग्थ्यौं ।
नभन्दै, पत्रिका नियमित बजारमा पठाउने दिन आइपुग्यो । पहिलो अंकमा कसले लेखेको सम्पादकीयले ठाउँ पाउला भनेर हामी तीनै जना कृष्णहरु व्यग्र थियौं । दिउँसो १२ बजेभित्र सम्पादकीय लेखेर प्रिन्ट कपी प्रधान सम्पादकको च्याम्बरमा पठाउनु पथ्र्यो । प्रधान सम्पादकलाई जुन ठीक जँच्थ्यो, त्यो प्रकाशित हुन्थ्यो, बाँकी डस्टबिन्मा आफलिन्थे । तीनै जनाले आ–आफ्नो बुताले भ्याएसम्मको सिर्जना पठायौं । सवाल थियो पहिलो अंकमा कसले उछिन्ने ? गोपनीयता यस्तो रहन्थ्यो कि प्रिन्टकपी जाने भएकाले कसको रचना स्वीकार भयो भनेर प्रधान सम्पादकले पनि भेउ पाउँदैनथे र छनौटमा नपरेका दुईजनाले पनि आफ्नो रचना नपरेको मात्रै थाहा पाउँथे । कसको छापिएको हो उनीहरुलाई पत्तो हुँदैनथ्यो । जसको छापिएको हो, उसले आफ्नो हस्तलिखित कपी शो गरेपछि बाँकी दुईजना दण्डित हुने चलन बसाएका थियौं । अस्वीकृतिमा पर्ने दुईजना मिलेर स्वीकृतिवालालाई मनचिन्ते खाजा ख्वाउनु पथ्र्यो । खाजा खर्चबाट जोगिनका लागि पनि सम्पादकीय सिर्जनामा हाम्रो चर्को प्रतिस्पर्धा हुने गथ्र्यो ।
त्यस दिन पनि सम्पादकीय पृष्ठका लागि गर्नुपर्ने लेखरचना, चिठीपत्रका सम्पादन लगायतका नित्यकर्म सकाएर अगिल्लो दिनको शर्तवन्दी खाजा खाईओरी हामी छुट्यौं ।
पहिलो अंकमा बाजी मार्न पाइएला नपाइएला, मनमा ढ्याङ्ग्रो बजिरह्यो । त्यो साँझ पिपलबोट तिर पनि गइएन । मसँग दुईजना भाञ्जा बस्थे । ती कलेजबाट आइसकेका थिएनन् । ग्याँसको चलन थिएन । स्टोभ जलाएर चिया उमालें । चुरोट सल्काएँ । मथिंगलमा बवम्डर चल्दै थियो –दुई श्रीवाला कृष्णहरुलाई पछारुँला त ? असम, वनारस र दिल्लीका युनिभर्सिटीतिर साहित्य र पत्रकारिताको लेखनमा थर्काएर काठमाडौं छिरेपछि किशोर नेपालको टिमले सञ्चालन गरेको देशान्तर साप्ताहिकको स्थापित स्तम्भकार श्रीकृष्ण अनिरुद्ध्र गौतम अनि राजधानीका चर्चित अखवारहरुमा विषयगत विष्लेषणका लागि कहलिएका श्रीकृष्ण भण्डारीसँग म बबुरो पौंठेजोरीमा उत्रिएको छु बरा । एक मनले भन्यो –छोड् चमारे, तेरो खैरियत छैन । टर्रो चियाको अन्तिम घुट्को र चुरोटको लाष्टपप पछि अर्को मनले हौसिदै भन्यो –नाथे, तँ चाँहि केमा कम छस् हँ ? तँ पनि मोफसलबाट सबैभन्दा बढी वितरण हुने झापाको विवेचना, सरकारको आशन डगमग तुल्याउन सक्ने काठमाडौको प्रतिध्वनि र युगसंवाद जस्तो साप्ताहिकहरुमा हालिमुहाली चलाएर आएको जौडे पत्रकार होस्, बुझिस् ? तैले हरेस खानै पर्दैन ।
दुईवटा मनहरुले तानातान गरेर मलाई रातभर पनि थिल्थिलो पारिरहे । बिहानखेर काँचै आँखालाई नलको चिसो पानीले सेकेर चोकतिर हाँनिए । पत्रिकाको थोक विक्रेताकहाँ हकरहरुको मल्टन चलिसकेको थियो । मैले कान्तिपुर किनेर चिया पसलतिर पसें । त्यो बेला स्टाफलाई कोठा कोठामा पत्रिका पु¥याईदिने चलन बसेकै थिएन ।
पत्रिका खोलेर हेर्दा त मेरीबास्सै ! मेरो हंशले ठाउँ छोडिहाल्यो । सम्पादकीय स्तम्भमा हुवहु काटछाँटै नगरी आफ्नै रचना पो छापिएको छ । ब्रोडसिटमा फुल फ्लेजेड अफसेट प्रिन्ट भएर प्रकाशित भएको नेपालको पहिलो अखबारमा सम्पादकीय लेख्ने हस्ति त्यहीं चिया पसलको कुइनेटोमा थुप्रिएर आफ्नै रचनामा गम खाँदैछ । तर कसैले उसलाई चिन्दैन । पाठकका के कुरा, प्रधान सम्पादकले नै रचनाकार चिनेका छैनन् । गुमनाम रचनाकार आफ्नै मनमा तिलचामल पकाउँदै मख्ख छ ।
मैले जितें । तर के जितें ? त्यस दिनको खाजा जितें । यसरी नै फोसामा जित्दैरहें निकै समय ।
एक दिन मेरो एउटा मनले सवाल ग¥यो –आखिर तँ को होस् ? तेरो परिचय के हो ? मेरो अनुत्तरित भङ्गिमालाई चिर्दै अर्को मनले सपाट् जवाफ दियो, –यो वुद्धि बेचेर पेट भर्ने हरितन्नम्, आफ्नो सम्पूर्ण जिन्दगानी ख्वामितका चरणमा अर्पेर इहलिला गुजार्ने राजामहाराजाका हुक्के, वैठके र छाते भन्दा अलिकति सुकिलो जस्तो मात्रै हो । यो लैठक अकुत सम्पति आर्जन गरेर ठालु पल्टेका साँइदुवाहरुको ब्ल्याक मनिलाई ह्वाइट मनिमा रुपान्तरण गर्न प्रयुक्त खाँटी उपकरण हो । यसले कुराको खेती लगाएर मालिकको ढुकुटी चुल्याउँछ ।
त्यो बेला, दर्जन बढी जिल्लामा सीडीओ हुँदै भन्सार विभागको डाइरेक्टर भएर जागीर निवृत्त भएका धनाड्य हेमराज ज्ञावली करोडौंको शेयर खरिद गरेर पब्लिकेसनमा छिर्ने तरखरमा थिए । यो बुझेपछि मेरो घैंटोमा घाम लाग्यो । मैले मुटु मिचेर गुमनामको जागीर हापिदिएँ र सडकमा ओर्लें । ज्ञावलीको कालो धनलाई जो सुकैले सेतो पारेस् । ज्यामन्तै होस् ।
आफूलाई कसरी जीवित राख्ने भन्ने भन्दा पनि पत्रकारिताको साधनालाई कसरी जीवन्त तुल्याउने भन्ने मेसो राम्ररी पहिल्याउन नभ्याउँदै म खोटाङ फर्कें । जिविस सभापति भैसकेका मेरा दाइसाथी पर्शुराम कार्कीले पत्रिका दर्ता गर्न हौस्याउनुभो । नारायण जोशीलाई पार्टनर थापेर मध्यान्तर दर्ता गरियो । तर त्यो कम्पनी फापेन । भाङ्राको टोपीमा गुँएलाको फूल स्युरे झैं भयो मध्यान्तर । त्यो त्यतिकै शीला लाग्यो । बाँदरले सगर उक्लिन सक्ला तर नरिवल फुटाएर खान सक्तैन ।
माओवादी मित्र मित्रीनीहरु (शत्रु भनियो भने बिताउलान्)का रापबाट छापाखाना र पछिल्लो पटक एकलौटी दर्ता गरेको नवसंवादले छहारी खोज्दै थियो । म आफूले आश्रय खोज्नु थियो । सिंगारी हराएको र चितुवा कराएको ठ्याक्कै मिल्यो । छातिमाथि ढुङ्गा राख्तै फेरि अर्को पटक स्पेसटाइम दैनिकको गुमनाम सम्पादकमा भर्ती भएँ । त्यो पछि बलबहादुर केसी र पुरुषोत्तम दाहालले राजधानी दैनिकमा पनि हुलेकै हुन् । सत्यवाद केशरी, सारथि, अनमी वुभुक्षु, बित्पाते, वन्दना राणा, गौथली जस्ता किर्ते नामबाट खुब खुलेर लेखियो । खै कति लेखियो, कहाँ कहाँ लेखियो । त्यसको लेखा छैन । अहिले गम्दैछु –त्यो सबै मेरो प्रयास डुंगा चलेजस्तो पो भएछ । हाम्रो तालुक अड्डा प्रेस काउन्सिल र सञ्चार मन्त्रालयका पदाधिकारीले चिन्छन्, आदर पनि गर्छन् । तर तिनका कितावखानामा मेरो फेहरिस्त दुरुस्त छैन । सरकारका आँखा छल्न प्रयोग गरेका मेरा माथिका किर्ते नामलाई सरकारले देखेन भनेर म दुखें भने मेरै खाँखा फुटेको ठहर्ला ।
पहिलो अंक भन्ने बित्तिकै म झस्किन्छु । डिएम चाम्लिङले हलेसी टाईम्सको कुरो झिक्यो । म झस्कें, –हँ भाई, अर्को केटोले मेरो गुमनामी सेवाको अपेक्षा ग¥यो । तर नाम किटेरै लेखे पनि हुने भएपछि मात्रै मैले यति पनि कथुरेको हो । मर्ने बेलामा हरियो काँक्रो भए पनि होस्, –अब उप्रान्त मरेकाट्टे गुमनामी रचना मबाट हुँदैन ।

