कृष्ण आचार्य
प्रेस स्वतन्त्रता सेनानी
उस बखतका स्कुलमा विद्यार्थीको पहिरन अहिलेझैँ एकछत्तको हुन्नथ्यो । दिक्तेल बजारका धनीमानी व्यापारीका छोरा छोरी पोप्लिन्, नैनसुत र जिनका लुगामा ठाँटिएर आउँथे । खुट्टामा जुत्ता मोजा पनि हुन्थे । केटीहरु रङ्गी चङ्गी रिबनले केश बाट्थे । कोही कोही केटाहरुले पेन्ट शर्ट पनि लाउन थालेका थिए । हामी गाउँले र काँठेहरुको लवज भने प्रायः एकै खालको हुन्थ्यो, खाँडीका दौरा सुरुवाल, अस्कोट् । एक दुईजना खद्दरका कमेज सुरुवाल लाउँथे । सात आठ क्लासमा पुगुञ्जेल हामी कसैको खुट्टा जुत्ताको मुखमा पसेजस्तो लाग्दैन । हाम्रा लुगा एक दुई महिना वा तीन महिनातिर खरानीमा पकाएर मुङ्ग्राले पिट्दै धुने चलन थियो । फेरफारे लुगा कुनैबेला हुन्थे, कुनै बेला हुँदैनथे । नभएको बखत लुगा नसुकुञ्जेल कुक्लिङ परेर बसिन्थ्यो । बजारेहरु भने छुट्टीका दिनमा साबुन लगाएर धारामा आफैँले लुगा धुँदै गरेको भेटिन्थ्यो । यसो हुनाले नै होला, बजारेले गाउँलेलाई ठाडै हेप्थे । एकै ठाउँ बस्नै मान्दैनथे । उनीहरुको पाङ्ती नै बेगल हुन्थ्यो । त्यो बेलासम्म गाउँबाट केटी स्कुल जाने चलन थिएन । जति केटी थिए, ती सबै बजारे र सुकिला । उनीहरु गाउँले मैलधैला केटाहरुसँग बोल्नै खोज्दैनथे । बोलिहाल्नु परेमा नामको पछाडि एकार थपेर उपहासपूर्ण ढंगबाट बोल्थे । मेरो हकमा भने मैलो नै भए पनि अलिक फरक व्यवहार हुन्थ्यो । किनभने हरेक परीक्षामा मलाई कसैले जित्न भ्याएको थिएन र म क्लास मोनिटर पनि हुन्थेँ ।
२०२१ सालबाट खोटाङका अड्डाहरु एक एक गर्दै दिक्तेलमा सर्न थाले । अड्डासँगै आएका हाकिम र कर्मचारीका छोराछोरी भर्ना हुँदै जाँदा सुकिला विद्यार्थीको सँख्या बढ्दै गयो । प्रकारान्तरले हाम्रो लुगाधुने अवधि पनि छोटिँदै जानथाल्यो । हेपिनु पर्ने कारण अनुभूत हुन खोज्यो सायद ।
नयाँ विद्यार्थी भर्नाको सिलसिला चलिरहेकै बेला एक दिन क्लासमा भएका सुकिलाहरु भन्दा पनि अझ सुकिलो स्वरुपकी एउटी केटीलाई अर्दलीले हाम्रो क्लासमा बसाएर गए । त्यो बेला नौतुन विद्यार्थीसँग परिचय गर्ने चलन बसेकै थिएन । हामी बीच धेरैदिन सम्म खुल्दुली चलिरह्यो,–को होलिन् तिनी? अरु केटी छुद्र थिए, ती भने निकै भद्र । कसैसँग दोहोरो बेलेकै सुनिएन । निकै पछि थाहा भो,–ती त सरकारी वकीलकी छोरी रहिछन् । सरकारी वकील भनेको कत्रो मान्छे हो, त्यो बेला हामीलाई के थाहा ! मेरो मथिंगलमा चाहिं परेको थियो,–पक्कै पनि राणाको दौडाहा जत्तिको हुनुपर्छ । होमवर्क उठाउँदा पनि मेरी बास्सै ! अदवसाथ उठाइयो नै ।
ती आएको छ महिनाजति बितेको हुँदोहो, लौ तिनको त बिहा पो हुनेभो भनेर हल्ला आयो । नभन्दै तिनी स्कुल आउन छोडिन् । त्यो बेला सानैमा बिहा गरिदिने चलन थियो । कसैको रोकटोक थिएन ।
त्यसको बीस बाईस दिन पछि लौ बिहा त बातेल भो अरे भन्ने अर्को हल्ला आयो । गज्जव लाग्यो वा ! उस्ती सुशील, भद्र र सुन्दर केटी । उत्रा ठूला ठालु र हाकिम बीचको समझदारी कसरी खल्बलियो होला ? कारण पक्कै चान्चुने होओइन ।
गाँठी पहिल्याउँदै जाँदा पो थाहा भो–केटा पक्षमा अगिल्लो वर्षको परीक्षा भन्दा अगाडि केटीले ट्युसन पढेको कुरो पुगेछ । केटा पक्षका अभिभावकबीच छलफल हुँदा कडा विद्यार्थीले ट्युसन पढ्नै पर्दैन भन्ने निचोड निस्केछ । सबै समय पढ्नैका लागि छुट्याइएकी हाकिम जस्ताकी छोरी, फेरि पनि ट्युसन पढ्न जान्छे भने त्यसलाई लद्दु नभनेर के भन्ने ? उनीहरुको ठहरलाई फितलो कसरी मान्ने ! उनीहरुले उस्तो भुत्तो दिमाग भएकी बुहारी जानी जानी नभित्¥याउने निधो भएको व्यहोरा जाहेर गरे । भएन त फजिति !
हो त नि ! आफैँ आद्योपान्त जान्दछ भने ट्युसन किन पढ्ने ? ठम्याइ विल्कुल जायज थियो । तर हुँदा हुँदा आज आएर ट्युसन त फेसन जस्तो पो भैदियो वा ! अवलम्वन नगर्ने पाखे÷आर्थिक हैसियत नभएको भन्ने अर्थ लाग्न थाल्यो । १० देखि ४ बजे सम्म जुन शिक्षकसँग पढ्छ , साढे चार बजे फेरि उसैसँग ट्युसन पढ्नुको के तुक हुन्छ होला ! हामी हाम्रा बालबच्चा यसरी पढाएर उच्च तुल्याएको दम्भ पालेर मक्ख परिरहेका छौँ ।
त्यो बेलाको शिक्षानीति बरु अहिलेको भन्दा निक्खर थियो भन्ने अर्को एउटा उदाहरण पनि छ मसँग । त्यो बेला परीक्षामा चिट गर्न पूरै निःषेध थियो । चोर्ने त कसैले परिकल्पनै गर्न सक्दैनथ्यो । परीक्षामा विद्यार्थीले चोर्नु वा शिक्षकले चोर्न दिनुलाई वस्तु वा नगद चोरे भन्दा निकृष्ट हर्कत मानिन्थ्यो समुदायमा । एक दिन एउटा ज्ञाने भन्ने विद्यार्थीले परीक्षामा चिट ल्याएछ । पक्राउ पर्यो । परीक्षा दिन बन्देज लगाइयो । स्कुलबाटै रेस्टिकेट गर्ने तार्तम्य हुँदैथियो । बैठक बस्न बाँकी थियो । गाउँ बस्ती टोल टोलमा यसरी हल्ला फैलियो कि, जसले पनि उसलाई चोर भन्न थाले । स्कुल आउने, पढ्ने कुरो त परै जाओस्, समाजमा मात्र होइन, आफ्नो घरैमा टिक्न नसक्ने वातावरण बनेपछि कक्षा पाँचमा पढिरहेको अवोध विद्यार्थीले घर छोड्न बाध्य भएको घटना त्यो बेला व्याप्त थियो ।
परीक्षामा हुने चिटिङलाई यस्तो जघन्य अपराधमा रुपान्तरण गर्नु पर्छ भन्ने भन्दा पनि चोर्नु चाहिँ अपराध नै हो भन्ने धारणा विद्यार्थीको मथिंगलमा इम्पोज गर्नैपर्ने बेला आएको छ । ट्युसन र चोरी दुवै विसंगत हर्कत हुन् । यी दुवै फेसनको रुपमा स्थापित भइरहँदा शिक्षाको गुणस्तर कसरी उक्सेला खै ?

